काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध एमाले र माओवादीले ब्यवस्थापिका संसदमा बुधबार दर्ता गरेको महाभियोग प्रस्तावले सबै पार्टीमा तीव्र बहस सृजना गरेको छ । माओवादी केन्द्रका सांसद रुपा महर्जनले आफ्नो हस्ताक्षर दुरुपयोग गरिएको धारणा सार्वजनिक गरिसकेकी छिन् । एमालेको बिहीबारको संसदीय दलको बैठकमा प्रेम आले लगायतका सांसदले अर्कै प्रयोजनका लागि हस्ताक्षर संकलन गरिएको भन्दै आपत्ति जनाएका थिए । तर आलेले सार्वजनिक रुपमा यो कुरा भनेका छैनन् । तर माओवादी सांसद महर्जनले सार्वजनिक रुपमै ऊर्जामन्त्री जनार्दन शर्माले हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाएकी छिन् । । क्यानडा हुँदै दुवई हुँदै माओवादीका मन्त्री जनार्दन शर्मासहित केही र एमालेका समेत नेतालाई बिहीबारै लोकमानले पत्र काट्ने सूचनाका आधारमा छापामार शैलीमा महाभियोग दर्ता गरिएको उनीहरुको दाबी छ । माओवादीबाट हस्ताक्षर संकलन र महाभियोग दर्तामा सबैभन्दा सक्रियता मन्त्री शर्माले नै देखाएका थिए । उनका अति निकट सांसद महेन्द्रबहादुर शाही नै महाभियोग प्रस्तावका प्रस्तावक छन् ।
महाभियोग प्रस्ताव दर्तापछि सबैभन्दा धर्मसंकटमा सत्तााको नेतृत्व गरेको माओवादी परेको छ । कांग्रेसले महाभियोग प्रस्तावमा समर्थन नगरे पारित हुँदैन । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार दर्ता गर्न सहमति दिए पनि बिहीबार आफू एक्लैले केही गर्न नसक्ने बताएपछि माओवादी झस्किएको छ । बिहीबारको मन्त्रिपरिषद बैठक नै महाभियोगकै कारण बस्न सकेन । प्रमुख आयुक्त कार्कीले अख्तियारलाई प्रतिशोध साँध्ने माध्यम बनाएकाले कांग्रेस पनि असन्तुष्ट छ । तर एमालेले अहंकार देखाएर कांग्रेससँग परामर्श नै नगरी महाभियोग ल्याएको गुनासो कांग्रेसको छ । एमालेले अहंकार देखाए पनि महाभियोग प्रस्ताव पारित गर्नुपर्छ भन्ने पक्षमा कांग्रेसभित्र पनि धेरै नेताहरु छन् । लोकमानलाई महाभियोग लगाउनुहुँदैन भन्ने डा. रामशरण महतहरु पनि कांग्रेसमा छन् । सरकारकै उपप्रधानमन्त्री विमलेन्द्र निधिले पनि लोकमानको बचाउ गर्दैआएका छन् ।
कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, महाभियोग प्रस्ताव तीन पार्टीकै सहमतिमा दर्ता हुनुपथ्र्यो । नेपाली कांग्रेसलाई छुटाएर एमालेले अहंकार देखाउने काम गरेको छ । यस्ता मुद्दाहरुमा सही र गलतलाई हेर्नुपर्छ । कसैले अहंकार देखाउँदैमा गलतलाई सही भन्न सकिन्न । मुलुकमा राष्ट्रिय सहमतिको बातावरण निर्माण गर्न, संवैधानिक अंगबीचको झगडालाई अन्त्य गर्न र लोकतन्त्रको सुरुवाती चरणमा संवैधानिक अंगहरुलाई मर्यादित बनाउन महाभियोगको पक्षमा उभिन आवश्यक छ ।
महाभियोग प्रस्तावका प्रस्तावक नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले महाभियोग दुईतिहाई भन्दा बढी मतले पारित हुने ठोकुवा गरे । कांग्रेससँग छलफल नगरी ल्याएको प्रस्ताव कसरी पारित हुन्छ भन्ने प्रश्नमा उनले अब सल्लाह हुने प्रतिक्रिया दिएका छन् । उनले भने, नेपाली कांग्रेससँग सल्लाह भइरहेको छ । उसले महाभियोग प्रस्तावमा समर्थन गर्छ । लोकमानसिंह कार्कीले राज्यका अख्तियारको दुरुपयोग गरी राज्यका निकायहरुलाई त्रसित र भयभित पारेको र प्रतिशोध साँध्ने हिसाबले अगाडि बढेकाले पनि उनीविरुद्ध महाभियोग लगाउनुपरेको हो, सांसद शाहीले भने ।
महाभियोग प्रस्तावबारे कांग्रेस–माओवादीका आ–आफ्नै दाबी
