प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव सदनमा आइतबार पेस गरेर छलफल शुरु गर्ने र पार्टीगत छलफल पनि जारी राख्ने सहमति भएको उनका सहयोगीहरुले बताएका छन्।
दुई प्रमुख सत्तारुढ दलका दुई शीर्षस्थ नेताहरु देउवा र प्रचण्डबीच बालुवाटारमा शनिबार बिहान एक्लाएक्लै कुराकानी भएको बताइएको छ।
बुधबार अकस्मात दर्ता गरिएको महाभियोग प्रस्तावबारे प्रमुख सत्तारुढ दल कांग्रेसले औपचारिक निर्णय गरेको छैन।
शनिबार लामो समय बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा कार्कीविरुद्ध महाभियोगको पक्षमा एकमत प्रदर्शन भएको प्रचण्ड निकट एक नेताले बताएका छन्।
अधिकार
प्रचण्ड र देउवाबीच आइतबार सदनमा उक्त प्रस्ताव पेस गर्ने र छलफल चलाउने सहमति बनेको माओवादी नेता हरिबोल गजुरेलले बताउँछन्।
उनी भन्छन्, “कांग्रेससँग कुराकानी भयो, समस्यालाई कसरी हल गर्ने कसरी जाने भन्ने विषयमा। निष्कर्षमा पुगिसकेको छैन। गम्भीर विषय हो गम्भीरतापूर्वक छलफल गर्नुपर्छ। तपाईँहरु पनि छलफल गर्नुहोस्, हामी पनि गर्छौं। यो समस्याको समाधान गर्नुपर्छ भन्ने कुरा भयो।” उक्त प्रस्तावबारे शनिबार माओवादीको कार्यालय बैठकमा पनि लामो छलफल चलेको थियो।
कार्कीलाई कारबाही गर्नेबारे आफूहरु दृढ रहेको उल्लेख गर्दै गजुरेलले अरु पक्षसँग कुराकानी गर्ने अख्तियारी अध्यक्ष प्रचण्डलाई दिइएको बताए।
गजुरेल भन्छन्, “कारबाही गर्नुपर्छ भन्नेबारे हाम्रो कार्यालय एकमत छ। अरु पक्ष पनि चाहिने भएकाले उनीहरुसँग कुराकानी गर्न अध्यक्षलाई अधिकार दिइएको छ।”
माओवादी केन्द्रका सभासद महेन्द्रबहादुर शाही प्रस्तावक र एमाले प्रमुख सचेतक भानुभक्त ढकाल समर्थक बनेर १५७ सभासदको हस्ताक्षरसहित बुधबार सदनमा महाभियोग प्रस्ताव दर्ता भएको थियो।
कार्यनीति
खासगरी सामाजिक सञ्जालमा चौतर्फी आलोचना खेपिरहेको नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले आफूहरु महाभियोग प्रस्तावको विपक्षमा नरहेको भन्दै आइतबार सदनमा प्रस्ताव पेस भएपछि संसदमा र कांग्रेस केन्द्रीय समितिमा सभासद र केन्द्रीय सदस्यहरुले छलफल चलाउँदै जाने कार्यनीति रहेको बताएका छन्।
आइतबार सदनमा प्रस्ताव अगाडि बढ्छ। यता हाम्रो केन्द्रीय समिति बैठक चल्दै गर्छ उता संसदमा हाम्रा सांसदहरु बोल्दै जानुहुन्छ। आवश्यक समयमा आवश्यक ढंगले रा्म्रो निर्णय हाम्रो पार्टीले पनि दिन्छ।
उनी भन्छन्, “आइतबार सदनमा प्रस्ताव अगाडि बढ्छ। यता हाम्रो केन्द्रीय समिति बैठक चल्दै गर्छ उता संसदमा हाम्रा सांसदहरु बोल्दै जानुहुन्छ। आवश्यक समयमा आवश्यक ढंगले राम्रो निर्णय हाम्रो पार्टीले पनि दिन्छ।”
अख्तियार प्रमुख कार्कीले अधिकार क्षेत्रबाहिर गएर गरिएका भनिएका कामको लामो सूचीसहित नागरिक समाजको एक हिस्साले त्यसको विरोधमा आवाज मुखरित गर्दै आएको थियो।
कार्कीका गतिविधिप्रति संसद् र सांसद् मौन बसेको आरोप लगाउँदै उनीमाथि महाभियोग लगाइनुपर्ने माग समेत राखेर वरिष्ठ डाक्टर गोविन्द केसी अनशन बसेका थिए।
सोलिड्यारीटी फर डा केसी अलायन्सको आह्वानमा शनिबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन उत्रिएकाहरुले कार्कीविरुद्धको महाभियोग पारित गर्न आग्रह गरेका थिए।