New from Nepal

प्रहरी दुरुपयोग गर्दै लोकमान ! यसरि भयो प्रहरीको दुरुपयोग लोकमानबाट…

तलब बराबर नै थप भत्ता पाइने भए पनि प्रहरीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोस्टिङ खासै रुचिकर स्थान होइन । तर, जब लोकमानसिंह कार्की आयोग प्रमुखमा नियुक्त भए, अवस्था अर्कै भयो । प्रहरीमाझ अख्तियार जाने होड नै चल्न थाल्यो । निजामती पन्छिन थाले ।

कार्की २०७० वैशाख २५ मा प्रमुख आयुक्तका रूपमा छिरे । निजामतीको कार्यशैलीबारे जानकार उनी ‘प्रक्रिया खोज्नेभन्दा आदेश पालकको खोजीमा थिए । जतिखेर आदेश आयो उत्ति नै बेला खटिने, अपराध अनुसन्धान, व्यक्तिगत विवरण संकलन, सुरक्षित जासुसी शैली अपनाउन सिपालु र चेन अफ कमान्डको अनुसरण गर्ने प्रहरी जनशक्ति उनका लागि मुख्य सहयोगी भए । यस्तै एक प्रिय पात्र हुन्, दानबहादुर थापा । कार्कीको व्यक्तिगत सुरक्षामा प्रहरी निरीक्षकको दर्जामा प्रहरी प्रधान कार्यालयबाट खटिएका उनी अहिले डीएसपी बनेका छन् ।

 प्रभावशाली सदस्य’ भए । उनको हैसियत संगठनका एआईजी तहका अधिकारीलाई तर्साउन सक्नेसम्म पुग्यो । निजी सचिवालयमा रहेका उनी संगठनभन्दा बढी कार्कीको बफादार भए । कसैलाई धम्क्याउन होस् या फकाउन, उनी सहजै परिचालित भए । उनको यही शैलीले छोटो समयमै उनी कार्कीको ‘भित्रिया समूह’ को सदस्य भएका थिए । प्रमुख आयुक्तको निजी सचिवालयमा कार्यरत उनको अख्तियारका हरेक शाखामा सहजै पहुँचका कारण अनुसन्धानका गोप्य जानकारीसमेत लुक्दैनथ्यो । अख्तियारमा आउने उजुरी र छानबिन अवस्थाको जानकारीका लागि प्रहरी संगठनको उपल्लो तहका अधिकारी उनको भरमा थिए । कार्कीसँगको निकटतालाई उनले आफ्नो वृत्ति विकासमा समेत राम्रै उपयोग गरे । प्रहरी निरीक्षकका रूपमा अख्तियार पुगेका उनी कार्कीकै आशीर्वादमा गत चैतमा भएको बढुवामा आफ्ना ब्याचका सबैलाई उछिन्दै एक नम्बरका डीएसपी भए । अख्तियारभित्र समेत थापाको पहँुंच कम थिएन । उनको इच्छाविपरीत सहसचिव स्तरका महाशाखा प्रमुखले समेत कार्कीलाई भेट्न सक्दैनथे ।

प्रमुख आयुक्तलाई भेट्न सचिवालय पुगेका कर्मचारी बाहिर २ घण्टासम्म कुराएर राखिन्थ्यो । डीएसपी थापाले अति गरेको गुनासो कार्कीसम्म पुगेपछि नाम टिपाएर भेट्ने पद्धति सुरु भएको अख्तियार स्रोतले जानकारी दियो ।

बढुवा पाएका डीएसपीको सरुवा गर्दा प्रधान कार्यालयले थापालाई छुन सकेन । प्रहरी निरीक्षक खटिने पदमा डीएसपी भएर पनि उनी नै खटिँदै आएका छन् । महाअभियोग प्रक्रिया सुरु भएलगत्तै विदेशबाट फर्किएका कार्कीलाई विमानस्थलमा रिसिभ गरेर टंगालको निजी निवाससम्म उनैले ल्याएका थिए ।

नेपाल प्रहरीका पूर्वएसएसपी गोवद्र्धन श्रेष्ठ, पूर्वएसपी भरत शर्मा, पूर्वडीएसपी माधव खत्री अनुसन्धान विज्ञका रूपमा अख्तियारमा सक्रिय थिए । स्रोतका अनुसार कार्कीमार्फत एसएसपी हुने प्रयास तत्कालीन प्रधानमन्त्री केपी ओलीका कारण असफल भएपछि शर्मा अख्तियार पुगेका थिए ।

पछिल्लो समय डीएसपी विश्वराज अधिकारीसमेत कार्कीनिकट छन् । स्रोतका अनुसार अख्तियारको नीति विभागका कार्यरत अधिकारीको दैनिकी अहिले कार्कीविरुद्ध सामाजिक सञ्जालमा आउने प्रतिक्रियाको विश्लेषणमा बित्छ । प्रमुख आयुक्त, आयुक्तको सुरक्षा र अनुसन्धानमा सहयोगीको भूमिकामा सीमित हुने प्रहरी कार्कीका पालामा शक्तिशाली बने ।
निजामती कर्मचारी अनुसन्धान सुरु गर्न निर्णय खोज्थे । प्रहरीका लागि कार्कीको आदेश नै निर्णय बराबर थियो । जसकारण प्रहरी महाशाखामा खुम्चिएको प्रहरीको प्रभाव अख्तियारको दसवटै महाशाखामा विस्तार भयो । पाँच विकास क्षेत्रमा क्षेत्रीय कार्यालय खोलेको अख्तियारले पाँचैवटाको प्रमुखमा प्रहरी कर्मचारी मात्र खटायो ।

‘चेन अफ कमान्डको अभ्यासका कारण निजामती कर्मचारीको तुलनामा प्रहरी जनशक्तिबाट काम गराउन सजिलो थियो,’ अख्तियारका एक सहसचिव भन्छन्, ‘आफूअनुकूलको अनुसन्धान गराउन र मुद्दा तयार गर्न प्रमुख आयुक्त कार्कीले आयोगमा प्रहरी जनशक्तिलाई हावी बनाउँदै गए ।’

दुई सय २७ जना प्रहरीलाई अह्रनखटन गर्ने जिम्मेवारीसहित अख्तियार जाने डीआईजीलाई कार्कीको आदेश पालकमा खुम्चाउने काम वीरेन्द्रबाबु श्रेष्ठको कार्यकालमा सुरु भएको जानकार बताउँछन् । श्रेष्ठअघिसम्म अख्तियारले संख्या तोकेर प्रहरी कर्मचारी माग्ने गरेको थियो । उनी प्रहरी महाशाखाको प्रमुखका रूपमा अख्तियार गएपछि प्रहरी कर्मचारीको नामै तोकेर अख्तियारमा पठाउन भन्दै प्रधान कार्यालयमा पत्र आउन थाल्यो ।

उनकै कार्यकालमा प्रहरी संगठनमा निक्कै विवादित तत्कालीन प्रहरी निरीक्षक कृष्णप्रसाद शर्मा अख्तियार पुगेका थिए । अपहरण गरी रकम असुलेको लगायतका गम्भीर अपराधमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको छानबिनमा दोषी देखिएका उनले अख्तियार पुगेलगत्तै आफ्नो अुनसन्धान गर्ने डीएसपी दिनेश अधिकारीलाई नक्कली भ्रष्टाचार केसमा डाम्ने प्रयास गरेका थिए ।

अख्तियार स्रोतका अनुसार श्रेष्ठको कार्यकालमा अनुसन्धानका नाममा व्यक्तिलाई पक्राउ गरी हिरासतमा राखेर असुली गर्ने, अनुसन्धानमा तानिएकासँग अभद्र व्यवहार गर्ने लगायतका प्रहरी शैली बढेको थियो । आदेश पालकका रूपमा काम गरेबापत श्रेष्ठले एआईजी बढुवामा कार्कीबाट राम्रै साथ पाए । ६ महिनासम्म विवाद बढदासमेत उनी बढुवामा छुटेनन् ।
श्रेष्ठपछि अख्तियार पुगेका डीआईजी पशुपति उपाध्यायले शैली फेर्ने प्रयास गरेनन् । उनी पनि प्रमुख आयुक्तकै आदेश पालकमा खुम्चिए । अख्तियारको कार्यकाल सकिएपछि उनी पूर्वक्षेत्रीय प्रहरी प्रमुखमा सरुवा पाए । त्यसपछि हेमन्त मल्ल अख्तियार पुगे । उनी आफ्नो कार्यकाल सकिनुअघि नै प्रहरी प्रधान कार्यालय फर्किए । स्रोतका अनुसार अख्तियारमा भइरहेको प्रहरीको खटाइप्रति असन्तुष्ट भएपछि उनी कार्यकाल रहँदै फर्किएका थिए ।

दक्ष जनशक्ति अख्तियार तानिए
अमेरिका, भारतलगायतका देश गएर अपराध अनुसन्धानमा आधुनिक उपकरणको प्रयोगमा पोख्त बनेको प्रहरी जनशक्ति अख्तियार तानियो । गम्भीर प्रकृतिको अपराध अनुसन्धान गर्ने केन्द्रीय अनुसन्धान ब्युरोका दक्ष अनुसन्धान अधिकारीहरूको सरुवा अख्तियारमा भएको थियो । ती अधिकृत नहुँदा प्रहरीको अनुसन्धान प्रभावित हुने भए पनि ‘अनाहकमा डामिने’ डरले कार्कीले सरुवा मागेको व्यक्ति पठाउन आनाकानी भएन ।

कार्की प्रमुख आयुक्त हुनु अगाडिसम्म निजामती कर्मचारी अनुसन्धान अधिकृतलाई तोकिन्थ्यो । अनुसन्धान अधिकृतले आवश्यक परे प्रहरीको सहयोग लिन्थे । कार्कीका पालामा भने गम्भीर प्रकृतिको उजुरीको अनुसन्धान सीधै प्रहरीबाट गराइयो । कसैले भ्रष्टाचार गरे छानबिन गर्ने जिम्मेवारी रहेको अख्तियारले कार्कीकै पालामा स्टिङ अप्रेसन, व्यक्तिगत कल विवरण संकलन र विश्लेषण, एसएमएस र दैनिकी निगरानीको शैली प्रारम्भ भयो ।

डीएसपीको कमान्डमा रहने टोलीले स्टिङ अप्रेसनदेखि टेलिफोन सेवा प्रदायक कम्पनीबाट व्यक्तिका व्यक्तिगत कल विवरण, एसएमएसलगायत जानकारी प्रहरीमार्फत संकलन गर्ने गरेको थियो । व्यक्तिगत कल विवरणको विश्लेषणमा अमेरिकाको फेडरल प्रहरीले प्रयोग गर्ने आइटु सफ्टवेयरसहित त्यसमा दक्ष प्रहरी जनशक्तिसमेत कार्कीले अख्तियार पुर्‍याएका थिए ।

स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको कार्यकालमा आफ्नो योग्यतासम्बन्धी मुद्दा अगाडि बढ्ने सूचना पाएपछि कार्कीको आदेशमा प्रहरीले श्रेष्ठको दैनिकी, कल विवरण र एसएमएस संकलन गरेको थियो । कार्कीले त्यसैलाई हतियार बनाएर आफ्नो मुद्दा अगाडि बढ्न दिएनन् । उनले भ्रष्टाचारको अनुसन्धानमा प्रहरीले प्रयोग गर्ने आधुनिक पद्धति भ्वाइस एनालाइजर, पोलिग्राफ परीक्षणको प्रयोग सुरु गरेका थिए ।

‘भ्रष्टाचारको अनुसन्धानमा आधुनिक सीप र शैलीको प्रयोग सकारात्मक हो, तर ती अनुसन्धान बलियो बनाउनका लागि प्रमाण संकलन गर्नभन्दा आफ्ना विरोधीलाई तह लगाउन दुरुपयोग गरियो,’ अख्तियार स्रोतले भन्यो ।

स्रोतका अनुसार अख्तियारमा खटिएका प्रहरी मात्रै हैन, अन्यत्र रहेका प्रहरीसम्बन्धी निर्णयमा समेत कार्कीले हस्तक्षेप गर्थे । सरुवा–बढुवा तथा आकर्षक स्थानमा पठाउनसमेत उनको सिफारिस सहजै कार्यान्वयन हुन्थ्यो । राम्रो काम गरेको भन्दै पुरस्कारका लागि सरकारमा जाने सिफारिसमा समेत उनी हावी थिए ।

श्रोत्: कान्तिपुर दैनिक

प्रकाशित: कार्तिक १०, २०७३