कुनै पनि देशका राष्ट्रप्रमुख वा सरकार प्रमुख अर्को देशको राजकीय भ्रमणमा जाँदा त्यस देशका नायक वा शहीद स्मारकमा गएर सम्मान गर्ने प्रचलन छ । तर बुधबार नेपालको तीन दिने राजकीय भ्रमणमा आएका भारतका राष्ट्रपति प्रणव मुखर्जीले शहीद स्मारकमा माल्यार्पण गरेनन् । विदेशी राष्ट्रप्रमुख वा सरकार प्रमुखले जुन देशको भ्रमण गर्दछन्, त्यो देशले सम्मान गरेका नायक वा शहीदलाई सम्मान गर्नु भनेको त्यो देशको सार्वभौमसत्तालाई स्वीकार गर्नु हो । तर भारतका राष्ट्रपति मुखर्जीले नेपाल भ्रमणमा शहीद स्मारकमा माल्यार्पण गरेनन् । भारतका राष्ट्रपति मुखर्जी भारतको कुनै प्रान्तमा गएका होइनन्, सार्वभौम मुलुक नेपालको राजकीय भ्रमणमा आएका हुन् । नेपालमा युगिन परिवर्तन गर्ने शहीदहरुप्रति सम्मान गर्न उनलाई लगिनुपथ्र्यो तर लगिएन । जबकि भारतको राजकीय भ्रमणमा जाने नेपालका राष्ट्रपति वा प्रधानमन्त्रीले नयाँदिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधीमा गएर माल्यार्पण गरी उनको योगदानप्रति सम्मान प्रकट गर्दछन् । तर भारतीय राष्ट्रपति मुखर्जीलाई नेपाल भ्रमणका क्रममा शहीद स्मारकमा लगिएन । उनलाई किन शहीद स्मारकमा लगिएन ? यो परराष्ट्र मन्त्रालयको कमजोरीका रुपमा पनि कतिपयले लिएका छन् । यसबारेमा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालको प्रतिक्रिया छ– ‘कुनै देशको राष्ट्रप्रमुख वा सरकार प्रमुख आउँदा शहीद स्मारकमा माल्यार्पण गर्ने कार्यक्रम राख्न पनि सकिन्छ, नराख्न पनि सकिन्छ । भारतका राष्ट्रपतिज्यूको भ्रमणमा शहीद स्मारकमा माल्यार्पण गर्ने कार्यक्रम नपरेको हुनसक्छ । आआफ्नो देशका आफ्नै प्रचलन हुन्छन् । यसलाई कमजोरी वा सफलता वा असफलताका रुपमा लिन मिल्दैन ।’ शुक्रबारको अन्नपूर्ण पोष्टको सम्पादकीयमा लेखिएको छ–‘शहीद सत्ता परिवर्तनको हैन, ब्यवस्था र युग परिवर्तनको बाहक हो, उसलाई ‘मार्ने’ राज्य तथा ब्यवस्था र त्यो ‘शहीद’को अस्तित्व सँगसँगै अगाडि बढ्दैन । तर विगत १० बर्षको अभ्यासमा ‘शहीद’ लेनदेनको पात्र बनेको छ । उसको संख्या बढेको छ, तर ऊ अपमानित छ । यसको नमिठो झल्को राष्ट्रपति मुखर्जीको ‘राजकीय’ यात्रामा देखियो । विदेशमा हुने यस्ता यात्रामा त्यो राष्ट्रले सम्मान गरेका ‘हिरो’ वा ‘शहीद’ स्मारकमा निर्वाध रुपमा लगिन्छ, आगन्तुक राष्ट्राध्यक्ष या राजकीय यात्रामा आएका अतिथिहरुलाई । नेपालबाट जाने हरेक प्रधानमन्त्री या राष्ट्राध्यक्षलाई महात्मा गान्धीको समाधि रहेको राजघाटमा लगिनुको कारण त्यही हो । तर हरेक बर्ष हजारौैंको संख्यामा शहीद उत्पादन हुँदै गएको नेपालमा किन राष्ट्रपति मुखर्जीलाई शहीदहरुमा माल्यार्पण गर्न कहीँ लगिएन ? के क्रान्तिकारी र अग्रगामी सरकारले दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त र गंगालालको ‘शहीद’ हैसियत खोसेको हो ? मुखर्जीको यात्रामा शहीदगेटमा माल्यार्पण किन सम्पन्न गरिएन ? यो सरकारबाट भएको आपराधिक त्रुटि हो र ऊ त्यसको लागि जवाफदेही हुनैपर्छ ।’
श्रोत: