बिकृति फैलाउदै सर्ट मूभी धन्दा…

२०७३ कात्तिक २३ मंगलवार
NewsDesk ShikharNews
Spread the love

यूट्यूबको माध्यमबाट पैसा कमाउने उद्देश्यले केही समूह र केहि फिल्म प्रोडक्सन हाउस  खुलेआम अश्लील फिल्म बनाइरहेका छन् तर पुलिस प्रशासन गृह मन्त्रालय र सन्चार मन्त्रालय बेखबर रहदै आएका छन ।
अपवाद छाड्ने हो भने, यूट्यूबमा नेपाली श्रव्य–दृश्य सामग्रीको ‘भ्यूअर्स’ लाखको हाराहारीमा पुग्न हम्मे पर्छ। तर, ‘सर्ट मूभी’ को हकमा यो ठ्याक्कै उल्टो छ। यस्ता कथित सर्ट मूभीका दर्शक करोड नाघेका छन्। उदाहरण हो, कलेज बंक।
इन्जोय नेपाल नामबाट अपलोड भएको यो भिडियो अहिलेसम्म करीब दुई करोड ९३ लाख भन्दा बढी हेरिएको छ। कुलन टिभीले अपलोड गरेको गेस्ट हाउस हेर्नेको संख्या पनि करोड नाघेको छ। यस्ता थुप्रै ‘सर्ट मूभी’ छन्, जसका दर्शक करोडौं छन्।
तर, यी सर्ट मूभीहरु न सार्वजनिक रुपमा हेर्न मिल्छ, न बनाउन नै। अधिकांश भिडियोमा द्विअर्थी संवाद, कामोत्तेजक दृश्य छन्। कथावस्तु र प्रस्तुतिमा कुनै कलात्मकता छैन। चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईको ठम्याइमा यस्ता भिडियो कलाको श्रेणीमा पर्दैनन्।
सर्ट मूभी निर्माणमा चल्तीका कलाकारदेखि नवप्रवेशीहरुको ठूलो झुन्ड सक्रिय छ। यसको मुख्य ध्येय भनेकै पैसा कमाउनु हो। यूट्यूबमा कामोत्तेजक ‘सर्ट मूभी’ अपलोड गर्छन् र त्यसैको भ्यूअर्सको आधारमा गुगल एडबाट पैसा आर्जन गर्छन्।
यूट्यूब अकाउन्टमा कुनै सामग्री अपलोड गरेपछि उक्त सामग्री कहाँबाट, कति समय, कति पटक हेरियो? त्यसैको आधारमा गुगल एडमार्फत पैसा ब्यांक खातामा जम्मा हुन्छ। “तर, कति भ्यूअर्सको पैसा कति हुन्छ भन्ने ठ्याक्कै हिसाब हुन्न।
त्यो भ्यूअर्स रहेको मुलुक र उक्त सामग्री हेरेको समयावधिको आधारमा पैसा पाइन्छ”, टेलिचलचित्रमा ‘दर्शने’ नामबाट चिनिएका र केही सर्ट मूभी बनाइसकेका सुरेश थापा भन्छन्, “आम्दानी भने राम्रै हुन्छ।”
अश्लीलता बेच्दै
‘सिम्पल सिम्पल कान्छीको’ गीतका गीतकार शंकर अधिकारी ‘घायल’ पनि सर्ट मूभीको निर्देशनमा लागेका छन्। हास्यकलाकार सुरवीर पण्डित पनि ‘सर्ट मूभी’ मै व्यस्त छन्।
एकाध यस्ता पात्र पनि छन्, जसले सर्ट मूभीबाटै चर्चा पाएका छन्। सपना लामिछाने सर्ट मूभीमा छाएकी छिन्। उनले थुप्रै सर्ट मूभीमा अभिनय गरेकी छिन्।
म्यूजिक कम्पनीहरु आम्दानीका लागि सर्ट मूभीको कारोबारतिर आकर्षित छन्। म्यूजिक नेपालले फिप्टी रुपिज र रुम नम्बर १०३ नामका कामोत्तेजक ‘सर्ट मूभी’ अपलोड गरेको छ।
हाइलाइट नेपालले लोग्ने मान्छे त, बूढा सुब्बा डिजिटल प्रालिले नानीको महीनावारी जस्ता भिडियो राखेको छ। त्यसबाहेक कुलन टिभी, एनपीलाइट टिभी, सर्ट मूभी नेपाल, एन्जोए नेपाल, एनएचएस मिडिया जस्ता थुप्रै यूट्यूब च्यानल छन्, जसको धन्दा सर्ट मूभी हो।
यूट्यूब च्यानल सञ्चालन गर्नेहरुले एउटा सर्ट मूभी निर्माणका लागि रु.५ हजारदेखि रु.१५ हजारसम्म लगानी गर्छन्। कलाकार सुरेश थापा भन्छन्, “केही बिचौलिया पनि छन्। उनीहरुले च्यानलवालाबाट एकमुष्ट पैसा लिन्छन् र त्यसको केही अंश मूभी बनाउनेलाई दिन्छन्।”
सर्ट मूभी निर्माणका लागि एउटा डीएसएलआर क्यामेरा, रिफ्लेक्टर भए पुग्छ। अधिकांश एकै कोठा वा स्थानमा छायांकन गरिन्छ। धेरैजसोले काठमाडौं आसपासका सुनसान क्षेत्रहरुलाई सुटिङ स्पट बनाएका छन्। थापाका अनुसार कतिपयले सर्ट मूभी खिच्नकै लागि कोठा भाडामा लिएका छन्।
एक टीमले एकै दिनमा तीन वटासम्म सर्ट मूभीको सुटिङ भ्याउने गरेका छन्। शंकर अधिकारी ‘घायल’ भन्छन्, “दिमागमा अवधारणा भएपछि सुटिङ गर्न समय लाग्दैन।” सञ्चारमाध्यममा कुनै अपराध–घटना आउनासाथ उनी त्यसै घटनामा आधारित सर्ट मूभी बनाउन तम्सिहाल्छन्।
आफूले ‘छाडा’ सर्ट मूभी नबनाएको उनको दाबी छ। सर्ट मूभी खेल्ने धेरै युवायुवतीलाई पारिश्रमिक दिनु पर्दैन। कपडा, मेकअप सबै व्यवस्था उनीहरुले नै गर्छन्।
चर्चित हुने भोक
सपना लामिछाने पनि ‘नेम र फेम’ कै लागि यसतर्फ आकर्षित भएको बताउँछिन्। उनी भन्छिन्, “आफूमा भएको कला निखार्ने ठाउँ हो यो।”
‘रेडियो तमोर’ मा कार्यक्रम चलाउँदा चलाउँदै सर्ट मूभीमा अभिनय गर्न आइपुगेकी शान्ति लिम्बू इजम रत्नपार्क, सेक्सी अफिसर जस्ता थुप्रै सर्ट मूभीमा देखिएकी छन्।
शान्तिको बुझाइमा सर्ट मूभी अभिनय क्षमता पस्कने एउटा ‘प्लेटफर्म’ हो। उनी दामका लागि होइन, नामको भोकले यसतर्फ आकर्षित भएको स्वीकार्छिन्।
कामोत्तेजक सर्ट मूभीमा अभिनय गर्न आउनेहरु धेरैजसो कलाकारितामा रुचि भएकाहरु छन्। गाउँबाट शहर पसेको एउटा जमात अहिले सर्ट मूभीबाट अभिनय कला विकास गर्ने भुलभुलैयामा छ। “यो पैसा कमाउने राम्रो स्रोत हो। तर, कमाउन सजिलो छैन”, सिक्सटीन इयर्स एज, सौतेनी आमा, बाबुलाई अंश जस्ता सर्ट मूभी बनाएका युवराज खत्री स्वीकार्छन्। यूट्यूबमा एक्सन फिल्म प्रालिमार्फत फिल्म अपलोड गरेका उनी यूट्यूबमार्फत मूभी चोर्ने प्रवृत्ति बढेका कारण एउटाको मिहिनेतमा अर्कैले रजाइँ गरिरहेको तर्क गर्छन्। तर, आफ्ना सामग्री चोरिएमा तुरुन्तै यूट्यूबमा उजुरी गर्न सकिने प्रावधान छ।
सर्ट मूभीकै लागि यूट्यूब च्यानल खोल्नेमध्ये केहीले वेबसाइट पनि खोलेका छन्। वेबसाइटमार्फत समाचार, अन्तर्वार्ता, गसिपमा अपलोड गरिरहेका छन्।
छैन सेन्सर
सेक्सी अफिसर, हन्टर ब्वाई, जवानीको रन्को जस्ता शीर्षकका सर्ट मूभी छन्, जो सि ग्रेडका हिन्दी सिनेमा जस्तै लाग्छ। सुरेश थापाका अनुसार कति त ‘पोर्न मूभी’ भन्दा कम छैनन्।
सार्वजनिक सरोकारको विषयमा तयार हुने श्रव्यदृश्य सामग्री ‘प्रसारण ऐन’ अन्तर्गत दर्ता हुनुपर्ने प्रावधान छ। यसका लागि नेपाल चलचित्र विकास बोर्डमा श्रव्यदृश्य सामग्रीको पटकथासहित आवेदन दिनुपर्छ।
यस्ता सामग्री सार्वजनिक प्रसारण हुनुअघि सेन्सर हुनुपर्छ। “यो प्रक्रियामा नभएकाहरु अनधिकृत हुन्। उनीहरु कारबाहीको भागीदार हुनुपर्छ”, चलचित्र विकास बोर्डका अध्यक्ष राई भन्छन्।
चलचित्र निर्माण, प्रदर्शन तथा वितरण नियमावलीले यस्ता सामग्रीलाई नियमन गर्ने व्यवस्था गरेको छ। तर, २०२६ सालमा बनेको चलचित्र ऐनमा कारबाहीको प्रावधान भने कमजोर छ।
ऐनमा अनधिकृत रुपमा निर्माण हुने कुनै पनि श्रव्यदृश्य सामग्री (सार्वजनिक सरोकारको) सामान जफत हुने र रु.५ हजारसम्म जरिवाना तिर्नुपर्ने प्रावधान छ। प्रसारण ऐनको यही कमजोरीमाथि टेकेर जथाभावी सर्ट मूभी बनिरहेको बोर्डका एक सदस्यको जिकिर छ।
अध्यक्ष राई कारबाहीको दायरा बढाउन बोर्डले नयाँ नियमावली तयार गरिरहेको र यसले यस्ता विसंगति रोक्ने दाबी गर्छन्। “चाँडै नै यस्ता गतिविधिलाई नियमन गर्नेछौं”, उनी भन्छन्।