New from Nepal

नेपाल प्रहरीको विकल्प अन्य कुनै निकाय छैन्ः महानिरीक्षक अर्याल

नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले शान्ति सुरक्षा कायमका लागि नेपाल प्रहरीको कुनै विकल्प नरहेको बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनको नवनिर्मित नागरिक सहायता भवन र सिसिटिभी कक्षको आज (शुक्रबार) चितवनमा उद्घाटन गर्दै महानिरीक्षक अर्यालले प्रहरीले प्रदान गर्ने सेवाको कुनै विकल्प नरहेको बताउनुभयो । नागरिकले प्रभावकारी सेवा खोज्ने भन्दै नेपाल प्रहरीको विकल्प एउटा राम्रो नेपाल प्रहरी मात्र हुने उहाँको भनाई थियो ।
उहाँले राम्रो, प्रभावकारी र सेवा प्रविधिले युक्त नेपाल प्रहरी बनाउने तर्फ आफ्नो प्रयास रहेको बताउनुभयो । “प्रविधियुक्त नेपाल प्रहरी बनाउने हाम्रो प्रयास जारी छ, यसमा चितवनका नागरिक समाजबाट प्राप्त भएको सहयोग प्रति कृतज्ञ छु ।”–महानिरीक्षक अर्यालले भन्नुभयो ।
उहाँले एकै पटक, एकै समय र एकै स्थानमा यति धेरै सहयोग नेपाल प्रहरी अहिलेसम्म कहि कतै नपाएको भन्दै यसका लागि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक बसन्तबहादुर कुवँरलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो–“चितवनबासीले देखाएको उदारता र प्रभावकारि प्रहरी सेवाको अपेक्षाको उपज अहिलेको संरचना हो ।”
महानिरीक्षक अर्यालले नागरिक समाजले शान्ति सुरक्षाको बारेमा चर्चा र सरोकार मात्रै राखेर नहुने भन्दै शान्ति सुरक्षा कायम गर्ने सम्बन्धमा नागरिक समाजको सहभागिता आवश्यक रहेको औल्याउनुभयो । नागरिक समाजको सक्रिय सहभागिता विना प्रहरी शान्ति सुरक्षा कायम गर्न ज्यादै गाह्रो पर्न उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले छोटो समयमै जिल्ला प्रहरी कार्यालयको मुहारमा परिवर्तन गर्न सफल भएकोमा एसपी कुवँरलाई बधाई दिनुभयो । उहाँले हरेक परिवर्तन गर्न व्यक्तिमा इच्छा शक्ति चाहिने भन्दै प्रहरी कार्यालयलाई सुविधा र प्रविधियुक्त बनाउनमा एसपी कुवँरले देखाएको इच्छाशक्तिको प्रशंसा गर्नुभयो । प्रजिअ सिंहले जिल्लालाई शान्ति सुरक्षा कायम गर्न जडान भएका सिसि क्यामेराबाट धेरै सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक कुवँरले जिल्लामा शान्ति सुरक्षा कायम गर्न र प्रहरीको मनोबल बढाउन सुविधा र प्रविधिको खाँचो महसुस भएकाले नागरिक समाजको सहयोगमा भवन निर्माण र सिसिटिभी जडान गरिएको जानकारी दिनुभयो । उहाँले आफ्नो प्रयासलाई चितवनबासीले सहयोग गरेकोमा खुशी समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने विभिन्न संघसंस्था र व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

एक करोडमा बन्यो सुविधासम्पन्न भवन
जिल्ला प्रहरी कार्यालय चितवनमा सुविधा सम्पन्न नागरिक सहायता भवन निर्माण भएको छ । करिव एक करोडको लागतमा निर्माण भएको भवनको शुक्रबार प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले समुद्घाटन गर्नुभयो । जिल्ला प्रहरी कार्यालय चितवनमा आएको एक वर्षको अवधिमै प्रहरी उपरीक्षक बसन्तबहादुर कुवँरले सो भवनको निर्माण गरेका हुन् । एसपी कुवँरको अग्रसरतामा नागरिक समाजको सहयोगमा सुविधा सम्पन्न भवन निर्माण भएको हो । सो भवन निर्माण गर्न ११ सदस्यीय समिति गठन भएको थियो । चमेना गृह र भवन निर्माण सम्पन्न गर्न कुल एक करोड चार लाख चार हजार २ सय ९ रुपैयाँ खर्च भएको भवन निर्माण समितिका अध्यक्ष एवंम् जग्गा व्यवसायी बाबुराम अधिकारीले जानकारी दिनुभयो । उहाँले भवन निर्माण सम्पन्न गर्न २७ लाख २७ हजार रुपैयाँ बराबरको जिन्सि सामाग्री सहयोग भएको समेत जानकारी दिनुभयो ।
२२ स्थानमा ३७ सिसि क्यामेरा जडान
चितवनमा यसअघि जडान भएका सिसि क्यामेराहरु बिग्रिएपछि अहिले पुनः नयाँ सिसि क्यामेराहरु जडान भएको छ । जिल्ला प्रहरी कार्यालयमा मुख्य कट्रोल रहनेगरि प्रहरी उपरीक्षक बसन्तबहादुर कुवँरको अग्रता सो सिसिटिभी जडान गरिएको हो । सो सिसिटिभी कक्षको पनि प्रहरी महानिरीक्षक अर्यालले उद्घाटन गर्नुभयो ।
कुल ६० लाख खर्चमा सो सिसिटिभी जडान गरिएको थर्ड भिजनका कोषाध्यक्ष दिनेशकुमार चुकेले जानकारी दिनुभयो । सिसिटिभी जडानका लागि चितवन महोत्सवबाट ११ लाख, जिल्ला विकास समितिबाट ९ लाख, भरतपुर उपमहानगरपालिकाबाट ८ लाख र अन्य संघसंस्था, व्यवसायीहरुको सहयोगमा प्राप्त भएको चुकेले जानकारी दिनुभयो । यस सिसिटिभी जडानबाट जिल्लालाई अपराधमुक्त बनाउन केही सहज हुने विश्वास गरिएको छ ।