New from Nepal

बिना अनुमति नेपालमा रामदेवको लगानी ! रास्त्रपति देखि प्रधानमन्त्री सम्मको साथ

अनुमति बिनै लगानी??? तर फेरि कार्यक्रममा देशको कार्यकारी प्रमुख राष्ट्रपति साथ अनि झनै प्रधानमन्त्री त आँखा चिम्लेर योगासनमा बसेको देखियो.. खासमा कुरा चाहिं हो रहेछ ???

योगगुरु रामदेवले अनुमति नै नलिई पतञ्जली आयुर्वेद प्रालिमार्फत नेपालमा लगानी गरिरहेको खुल्न आएको छ । लगानी गर्नुअगावै विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ वा लगानी बोर्ड ऐन २०६८ अनुसार स्वीकृति लिनुपर्ने भए पनि त्यो नलिई उनले आर्थिक कारोबार गरेका हुन् ।

baba-ramdev1
रामदेव नै सेयर सदस्य रहेको मुनाफा वितरण नगर्ने पतञ्जली योगपीठ तथा आयुर्वेदिक कम्पनीसमेत कानुनी प्रक्रिया मिचेर दर्ता गरिएको पाइएको छ । उक्त ‘नट–फर–प्रोफिट’ कम्पनीमार्फत व्यवसाय गर्ने गरी लगानी रकम ल्याउन नमिलेपछि उनले गैरकानुनी ढंगबाट काम गरिरहेको खुल्न आएको हो । रामदेवले गत साता काठमाडौंमा पत्रकार सम्मेलन गरी डेढ अर्ब रुपैयाँ लगानी गरिसकेको जानकारी दिएका थिए । ‘मुनाफा वितरण नगर्ने कम्पनीमार्फत उनले लगानी ल्याउनै मिल्दैन । अझ त्यो कम्पनीको त दर्ता नै गैरकानुनी ढंगबाट भएको हो,’ विदेशी लगानीबारे जानकार एक उच्च अधिकारीले भने, ‘अर्को कम्पनी पतञ्जली आयुर्वेद प्रालिसँग रामदेवको कानुनी रूपमा कुनै साइनो देखिँदैन ।’

उद्योग विभागका अनुसार रामदेवले कुनै पनि उद्योगमा लगानी गर्ने अनुमति नै लिएका छैनन् । गैरआवासीय नेपाली उपेन्द्र महतोको लगानी भनिएको पतञ्जली आयुर्वेद प्रालिमा उनकी श्रीमती समता प्रसादको मात्रै लगानी छ । २०७१ भदौ २४ गते समताको नाममा शतप्रतिशत स्वदेशी लगानी रहने गरी उक्त कम्पनी उद्योग विभागमा दर्ता भएको हो । रामदेवले भने उक्त कम्पनीमार्फत आफूले नेपालमा लगानी थालिसकेको दाबी गर्दै लगानी रकम ५ अर्ब पुर्‍याउने घोषणा गरेका छन् । ‘नेपालमा अहिलेसम्म डेढ सय करोड (डेढ अर्ब) लगानी गरिसकें । भविष्यमा ५ सय करोड (५ अर्ब) हुनेछ,’ उनले अघिल्लो साता पत्रकार सम्मेलनमा भनेका थिए ।

15241790_1820397881579336_4067687294861376947_n-1

‘विदेशी नागरिकले नेपालमा कुनै उद्योग खोल्नुपूर्व उद्योगमन्त्रीले अध्यक्षता गर्ने औद्योगिक प्रवद्र्धन बोर्ड वा प्रधानमन्त्रीले लगानी गर्ने लगानी बोर्डबाट लगानी रकम स्वीकृत गराउनुपर्छ,’ एक अधिकारीले भने, ‘तर रामदेवले अहिलेसम्म यी दुवै निकायबाट लगानी स्वीकृत गराएका छैनन् ।’ सरकारी अधिकारीका अनुसार उक्त उद्योगमा रामदेवले अनौपचारिक ‘च्यानल’बाट रकम भित्र्याएर लगानी गरेको हुन सक्ने अनुमान छ । ‘डेढ अर्ब रुपैयाँ लगानी गरिसकेको घोषणा रामदेवले गरिसकेपछि स्वीकृति लिए/नलिएको विषयमा अध्ययन गरियो,’ ती अधिकारीले भने, ‘तर स्वीकृति लिएको पाइएन । सायद हुन्डीमार्फत रकम ल्याएर लगानी गरिरहेको हुन सक्छ ।’

गैरआवासीय नेपाली संघका संस्थापक महतोले रामदेवको लगानी मुनाफा वितरण नगर्ने कम्पनीबाट नभई पतञ्जली आयुर्वेद प्रालिमार्फत रहेको बताए ।

‘मुनाफा वितरण नगर्ने कम्पनी कर नतिरेर सामाजिक काम गर्नका लागि दर्ता गरिएको हो । लगानी भने प्रालिमार्फत गरिनेछ,’ महतोले भने, ‘उहाँले लगानी गरिसकेको भन्नुभएको छैन, अब लगानी गर्नु हुनेछ ।’

रामदेवले लगानी स्वीकृतिको प्रक्रिया अब अघि बढाउने उनले बताए । ‘मुनाफा वितरण गर्ने कम्पनीमा रहनु भएकाले उहाँ अहिले प्रालिको सेयर सदस्य नहुनु भएको हो,’ महतोले भने ।
रामदेव सेयर सदस्य रहेको मुनाफा वितरण नगर्ने कम्पनी भने मन्त्री र सचिवको दबाबमा दर्ता गरिएको स्रोतको दाबी छ । मुनाफा वितरण नगर्ने कम्पनी विदेशीको नाममा दर्ता गर्न नपाउने कानुनी व्यवस्थाविपरीत तत्कालीन उद्योग तथा वाणिज्यमन्त्री राजेन्द्र महतो र सचिव जनकराज जोशीको दबाबमा रामदेवसहित चार भारतीय र एक नेपाली नागरिकको नाममा दर्ता भएको हो । मुनाफा वितरण नगर्ने कम्पनी दर्ता गर्न कानुनी प्रक्रिया नमिलेको भन्दै इन्कार गरेपछि मन्त्री महतो र सचिव जोशीले कम्पनी रजिस्ट्रार कार्यालयका अधिकारीहरूलाई मन्त्रालयमा झिकाई ‘तुरुन्त दर्ता गर्नु’ भन्ने आदेश दिएपछि २०६४ असोज २० गते पतञ्जली योगपीठ तथा आयुर्वेदिक कम्पनी नेपाल दर्ता गरिएको थियो ।
15220028_1820397898246001_2227721082409774065_n

मन्त्री महतोले ‘तुरुन्त दर्ता गर्नु’ भन्दै कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्राचारसमेत गरेका थिए । उक्त दबाबपछि भारतीय पासपोर्टको प्रतिलिपि राखी स्वामी रामदेव, आचार्य बालकृष्ण, राजेन्द्र दास, राजेन्द्र सिंह र नेपाली नागरिक शालिग्राम सिंहको नाममा कम्पनी दर्ता भएको हो ।

‘२०६९ सालमा सबै कम्पनीको दर्ता तथा अद्यावधिक गर्ने काम विद्युतीय प्रणालीमा लैजाने निर्णयपछि कागजी फाइलमा रहेका कम्पनीको पनि कम्प्युटरमा अभिलेख राख्दा कानुन मिच्दै दर्ता गरिएको कम्पनी फेला परेको हो,’ रजिस्ट्रारको कार्यालयबाट सरुवा भइसकेका एक अधिकारीले भने, ‘अहिले पनि यो कम्पनीलाई कसरी कानुनी मान्यता दिने वा कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’ तर रामदेवको हरेक कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीदेखि नेताहरू र सरकारका उच्च अधिकारीहरू सहभागी हुने गरेकाले उनको गतिविधिमा सरकारी कर्मचारीले प्रश्न गर्न सकेका छैनन् ।

तत्कालीन वाणिज्य तथा उद्योगमन्त्री महतोले आफ्नै कार्यकालमा उक्त कम्पनी दर्ता भएको बताए । ‘टुँडिखेलमा रामदेवले कम्पनी दर्ता गर्ने घोषणा गर्नुभएको थियो,’ उनले भने, ‘यसबारे मैले कर्मचारी साथीहरूसित छलफल गरेको हँ‘ । प्रक्रिया मिलाउने काम त कर्मचारीहरूको हो ।’

मुनाफा वितरण नगर्ने कम्पनीको सेयर सदस्यमा विदेशी नागरिकता वा पासपोर्टको आधारमा दर्ता गर्ने गरिएको छैन । ‘पाँचजना सेयर सदस्यहरूबाहेक मानार्थ सदस्यमा विदेशी नागरिक राख्न सकिन्छ,’ ती सरकारी अधिकारीले भने, ‘तर यो कम्पनीमा त जम्मा पाँचजना सेयर सदस्य छन् । त्यसमध्ये एकजना मात्रै नेपाली छन्, अरू भारतीय नागरिक ।’
ramdev-with-prachandadev
मुनाफा वितरण नगर्ने उक्त कम्पनीमा समेत रामदेवले विदेशबाट लगानी रकम ल्याउन पाउने छैनन् । ‘विदेशी नागरिकले नेपालमा कुनै उद्यम गर्नका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ अनुसार मात्रै अनुमति पाउँछ,’ विदेशी लगानी तथा कम्पनी ऐनबारे जानकार अधिवक्ता सज्जनबरसिंह थापाले भने, ‘उक्त ऐनअनुसार अनुमति नलिई कम्पनी रजिस्ट्रारको कार्यालयले सोझै दर्ता गर्नु गैरकानुनी कार्य हो ।’

कुनै विदेशीले कम्पनी वा उद्योग खोल्नका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ वा पछिल्लो समय लगानी बोर्ड ऐन २०६८ को व्यवस्थाअनुसार लगानीको अनुमति लिनुपर्ने कानुनी प्रावधान छ ।