नेपाल घुम्न आएक ३ इजरायली पर्यटकको व्हीलचेयर जिन्दगी….

२०७३ मंसिर १८ शनिवार
NewsDesk ShikharNews

सोसना ब्लिन्डर ५० वर्षदेखि लगातार व्हीलचेयरमा छिन् । पोलियोका कारण दुवै खुट्टा नचलेपछि उनले व्हीलचेयरको भर पर्नुपरेको हो । उनी अत्याधुनिक व्हीलचेयर र सहयोगीका साथमा घुमफिर गर्छिन् । अहिले नेपाल आइपुगेकी सोसना भन्छिन्, ‘मलाई आफू अपांग हुँ भन्ने नै लाग्दैन ।’

व्यवस्थापन तथा अक्कुपन्चरमा स्नातकोत्तर उनी पछिल्लो समय आफूजस्तै अपांगता भएकालाई व्हीलचेयर तथा अन्य उपकरण तथा सामग्री बिक्री तथा सहयोगमा सक्रिय छन् ।
व्हीलचेयरमा बसेर नै उनी गाडी चलाउँछिन् भने अन्य दैनिक कार्य पनि गर्छिन् । सोसनालाई १२ वर्षको उमेरमा पोलियोले समातेको थियो । उनका पतिको पनि २० वर्षअघि कार दुर्घटनामा परेर दुवै खुट्टा र हात राम्रोसँग चल्दैन । त्यसैले उनी पनि हिवलचिअरमै हुन्छन् । उनी अनलाइन व्यापार गर्छन् ।

सोसनका सहयोगी नेपाली छन् । आफन्त साथीभाइकोमा समेत नेपाली केअरगिभर छन् । ‘उनीहरूका कुरा सुनेर नेपालप्रति चासो बढेको हो,’ सोसनाले भनिन्, ‘नेपालबारे धेरै सुनेपछि नेपाल बुझ्ने इच्छा भयो ।’ उनी काठमाडौं, पोखरा र चितवन जाने निधो गरेर नेपाल आएकी हुन् । बुधबार इजरायली राजदूत यारोन मायेरको निवासमा उनले कान्तिपुरसँग भनिन्, ‘नेपालबारे धेरै सुनिएको थियो । बल्ल आउन पाइयो, ६ महिना त हामी जस्ता सजिलै पुग्न सक्ने ठाउँ पत्ता लगाउन नै लाग्यो ।’

मृत सागर भएको इजरायलबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको देश नेपाल आउन पाउँदा निकै खुसी लागेको सोसनाले बताइन् । ‘नेपालमा विश्वको शिर छ भने हाम्रो मुलुकमा पाउ,’ उनले भनिन्, ‘सगरमाथादेखि मृतसागरसम्मको यो सम्बन्ध सौभाग्यले जुरेको छ ।’
israeli3
सोसनासँग उनका पति यसुवा मायर र पुरानी मित्र खायम कोसोचिभित्ज पनि छन् । दुई नेपाली र एक फिलिपिनो सहयोगीसहित मुम्बई हुँदै उनीहरू नेपाल आएका हुन् । उनीहरूको घुमफिर निजी भए पनि पर्यटनबोर्डले उनीहरूलाई सहयोग गरिरहेको छ ।

नेपाल आएलगत्तै उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै केही असहजता महसुस गरे । त्यो असहजता थियो, अपांगमैत्री शौचालय नहुनु । त्यसपछिको अर्को समस्या थपियो, व्हीलचेयरसहितै चढ्न मिल्ने सवारीसाधन नहुनु । पछि गाडीको भित्री सिट झिकेर व्हीलचेयरसहित चढ्न मिल्ने बनाइयो । र, उनीहरू होटल पुगे ।

राजदूत निवासमा उनीहरूलाई साथ दिइरहेका थिए नेपाली सेनाका जर्नेल रमिन्द्र क्षत्रीले । क्षत्री सामान्य हिवलचिअरमा थिए भने उनीहरू सबै सुविधा सम्पन्न मोटर व्हीलचेयरमा । उनीहरूले क्षत्रीको साहसको प्रशंसासमेत गरे । उनीहरू काठमाडौं उत्रिएपछि चन्द्रागिरी केबुलकार पुगेका थिए । उनीहरूले चन्द्रागिरीको प्रशंसा गरे । तर, त्यहाँ पनि अपांगता भएकालाई सजिलो हुने शौचालय नभएको भन्दै सोसनाले भनिन्, ‘नेपालको सडक पनि सजिलै व्हीलचेयर गुड्न सक्ने अवस्थाका छैनन्, यसलाई पनि सुधार्नुपर्छ ।’

उनीहरूले गोंगबुमा रहेको अपांगता भएका व्यक्तिहरू बसिरहेको र उनीहरूले गरिरहेको काम हेरेका छन् । इम्पावरमेन्ट फर सस्टेनविलिटी नामक संस्थामा पुगेर केही सहयोगसमेत गरेको थियो । संस्थामा शारीरिक अपांगता भएका ६५ जना छन् । यहाँ हस्तकलाको काम हुन्छ । यो संस्थाकी सञ्चालिका संगीता पन्त आफैं पनि अपांगता भएकी व्यक्ति हुन् ।

हाल इजरायलमा करिब ५ हजार नेपाली केअरगिभरमा कार्यरत छन् । लामो समयदेखि बन्द भए पनि अहिले सरकारी माध्यमबाट केअरगिभर पठाउन थालिएको छ । यस वर्ष तीन सय जना जाने भनिएकामा ५९ जना गइसकेका छन् । अन्यको प्रक्रिया छिट्टै आरम्भ हुने राजदूतले बताए । यो पाइलट परियोजना सफल भए यही मोडलबाट केअरगिभर इजरायल जानेछन् । यस अलवा इजरायलमा कृषि अध्ययनका लागि पनि उल्लेख्य संख्यामा विद्यार्थी जाने गरेका छन् ।

साभार : कान्तिपुर दैनिक