संविधान कार्यान्वयन हुन नसके देशमा जे पनि हुन सक्छ : सभापति देउवा

Vianet

चितवन, २९ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन हुन नसके देशमा जे पनि हुनसक्ने भएकाले पुरानै संरचनामा निर्वाचन गर्ने तयारी थालिएको बताउनुभएको छ ।

Vianet

नेपाल महिला सङ्घ केन्द्रीय समितिले आज यहाँ आयोजना गरेको निर्वाचन तथा महिला अधिकारसम्बन्धी नेतृत्व विकास तालिमको उद्घाटन गर्दै उहाँले यसबारेमा आफूले नेकपा (एमाले)का अध्यक्ष केपी ओली र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेको बताउनुभयो ।

विसं. २०७४ माघभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने भएकाले दलहरुबीचमा सहमति गरेर अगाडि जानुपर्ने उहाँले बताउनुभयो । सभापति देउवाले भन्नुभयो “संविधानले पूर्णता नपाए देश दुर्घटनातर्फ जानसक्छ । गणतन्त्र कसैले खोस्न सक्छ ।” ठूलो पार्टी भएकाले संविधान निर्माणको नेतृत्व गरेको काँग्रेसले अहिलेको निकास फुकाउने काम गर्नुपर्ने बताउनुभयो ।

राणा, पञ्चायत र राजा फ्याँकेर लोकतन्त्र र गणतन्त्र स्थापनामा काँग्रेसको नेतृत्वदायी भूमिका भएको भन्दै उहाँले भन्नुभयो “संविधानको निर्माणमा काँग्रेसले नेतृत्वदायी भूमिका मात्रै होइन, कार्यान्वयनमा पनि गराएरै छाड्छ ।”

सभापति देउवाले भन्नुभयो “स्थानीय निकायको चुनाव हुन्छ, हुन्छ, हुन्छ ।”संविधान संशोधन प्रस्तावमार्फत् चित्त नबुझेकाको माग पूरा गरेर संविधान कार्यान्वयन गर्ने उद्देश्यका साथ प्रस्ताव लगिएको उहाँले बताउनुभयो । संसद्मा प्रस्ताव लगे पास हुने डरले एमालेले संसद् चल्न नदिएको उहाँको आरोप छ ।

उहाँले संसद्मा प्रस्ताव असफल बनाएर देखाउन एमालेलाई चुनौती दिनुभयो । उहाँले भन्नुभयो “कुनै पनि हालतमा संसद् खोल्नुपर्छ, नखोले यसको सबै जिम्मेवारी एमालेको टाउकोमा आउँछ । यसको पूर्ण जिम्मेवार एमाले हुनुपर्छ ।”

सीमा जोगाउने काममा मधेसी जनताको ठूलो भूमिका रहेको भन्दै उहाँले नेपाली भूमिका माया उनीहरुलाई झन् बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो “सुस्तामा अधिकांश मधेसी छन्, त्यहाँका सीमा रक्षा गर्न उनीहरु लडिरहेका छन् ।”

विश्वमा नै महिलाले नपाएको अधिकार नेपालमा पाएको भन्दै देउवाले नेतृत्व गर्नसक्ने गरी नेतृत्व विकास गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “स्थानीय तहदेखि माथिल्लो तहसम्म महिलाले नेतृत्व गर्नुपर्छ, तपाईहरु तयार हुनुहोस् ।” आउँदो निर्वाचनमा काँग्रेसले जित्नुपर्ने भन्दै उहाँले ४० प्रतिशत आरक्ष कोटासमेत रहेकाले नेतृत्वका लागि तयार रहन महिला कार्यकर्तालाई आग्रह गर्नुभयो ।

तिनै तहको निर्वाचनमा काँग्रेसले जिते मात्रै नेपालको प्रजातन्त्र कसैले खोस्न नसक्ने भन्दै उहाँले भन्नुभयो “काँग्रेसले जित्नुपर्छ, पर्छ, पर्छ ।”

सो अवसरमा काँग्रेसका केन्द्रीय सदस्य एवम् परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले देशलाई निकास दिनका लागि संविधान संशोधनको प्रस्ताव पेस भएको बताउनुभयो ।

पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा संशोधन प्रस्ताव पेस भएको भन्दै उहाँले जसका लागि ल्याइएको हो, उसैलाई आवश्यक नभए आफूहरुले केही गर्न नसक्ने बताउनुभयो ।

यस विषयलाई अतिरञ्जिन गरिएको भन्दै उहाँले आक्रोशसमेत पोख्नुभयो । आउँदो निर्वाचनमा काँग्रेसको जितका लागि गाउँ तहदेखि महिला सशक्त रुपमा लाग्नुपर्ने उहाँको सुझाव छ ।

नेपालमा ४० प्रतिशत महिला आरक्षण कोटा रहेको भन्दै उहाँले ९५ प्रतिशत नेतृत्व महिलाले गर्ने अवस्थामा पु¥याउन काँग्रेस तयार रहेको बताउनुभयो ।

सोही अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अम्बिका बस्नेत, डिना उपाध्याय, सचेतक ईश्वरी न्यौपाने, केन्द्रीय सदस्य देवेन्द्र कँडेल, जिल्ला सभापति जीतनारायण श्रेष्ठलगायत नेपाली काँग्रेसका सांसदले महिला अधिकारका विषयमा बोल्नुभएको थियो ।

तीन दिनसम्म चल्ने सो तालिममा महिलालाई कसरी नेतृत्व तहसम्म ल्याउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिइने सङ्घकी केन्द्रीय अध्यक्ष उमा रेग्मीले बताउनुभयो ।

तालिममा प्रदेश नं ३ का १३ जिल्लाका महिला नेतृहरुको सहभागिता रहेको छ ।

रासस

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री