आध्यात्मिक ज्ञान चाहियो भन्यो गीता पढ्न दिए मैले ।
गीता ज्ञान नबुझेर बाइबल पो बोक्न थाल्यो अहिले ।।
बाइबलमा नि वैज्ञानिक दृष्टि छैन पो भन्दै छ रे ।
अब कुरआन आदि शास्त्रका अक्षर पो गन्दै छ रे ।।
नम्बरी सुनलाई नचिनेर पित्तलमा पो पल्किदै छ ।
जलप लगाकोलाई नम्बरी भनी त्यतै पो ढल्किदै छ ।।
शास्त्रार्थ उल्टो बुझ्छ आफ्नो अनुकूल व्याख्या गर्छ ।
जन्मदिएकी आमालाई घृणा गरी पराइ तिर सर्छ ।।
धर्मका अनेकौं बीउ रोपी आगो सल्किदैछ ।
गाइलाई दिएको पिण्डमा सुगुर पल्किदैछ ।।
सबै ॐ नै जप्छन् तर म नै राम्रो भन्छन् ।
अरुलाई नीच देखि आफू खुबै सभ्य बन्छन् ।।
एउटै ॐ मा लड्छन् यहाँ झगडा पो गर्छन् ।
अमृतमा विष हाल्यो पराइले अब कति मर्छन् ।।
ॐकार सबै मिले देखि नेपाल बाच्छ हेर ।
आफू आफू द्वन्द्व गरे नेपाल बिग्रिन के बेर ।।
नेपाली तारा बिग्रिए सारा बिकृति बढेर ।
हरायो आफ्नो भाषा रा भेष जान्छकी सडेर ।।
नेताले छाडे दान पुण्य गर्न बाहुनले छाडे बेद ।
अड्डाले छाड्यो न्याय निसाफ गर्जन छाड्यो मेघ ।।
नारीले छाडे चौबन्दि चोली पुरुषले टोपी कोट ।
धनिले छाड्यो सामाजिक धर्म नदीले छाड्यो डोब ।।
गुरुले थाले विद्यालाई बेच्न चेलालाई के को डर ।
नेताले छाडे नैतिक बन्धन हाकिमलाई कसको डर ।।
किसानले छाडे गाइभैंसी पाल्न धर्तीमा छैन मल ।
व्यापारी थाले दुई नम्बर गर्न कानुनको कसलाई डर ।।
-रघुनाथ आचार्य