New from Nepal

संशोधन प्रस्ताव संसद्बाटै अस्वीकृत हुने : नेता खनाल

इलाम, २ पुस । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधनको प्रस्ताव संसद्बाटै अस्वीकृत हुने बताउनुभएको छ ।

संविधान कार्यान्वयनका लागि नेकपा (एमाले)ले सञ्चालन गरेको जनपरिचालन अभियानअन्तर्गत जिल्लाको दानाबारीमा आज आयोजित क्षेत्रीय प्रशिक्षण कार्यक्रममा नेता खनालले सरकारले परम्परादेखि बसेको हिमाली, पहाडी र तराईका जनताबीच भिडन्त गराएर देशमा अस्थिरता, अशान्ति र द्वन्द्व सिर्जना गर्न खोजेको आरोप लगाउनुभयो ।

संविधान कार्यान्वयनका लागि आफ्नो पार्टीले तीनवटै तहको निर्वाचन घोषणा गर्नुपर्नेमा जोड दिए पनि सरकारले निर्वाचन घोषणा गर्न नसकेको उहाँको भनाइ थियो । निर्वाचन क्षेत्र विशेष कार्यक्रमअन्तर्गत आफ्नो निर्वाचन क्षेत्रमा समावेशी रूपमा विकास भएको बताउँदै उहाँले निर्वाचनताका गरिएका प्रतिबद्धता पूरा भएको समेत बताउनुभयो ।

प्रशिक्षण कार्यक्रममा सांसद प्रेम गिरी, नेकपा (एमाले) इलाम जिल्ला कमिटीका अध्यक्ष राम राना, जिल्ला सचिव महेश बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

Source : RSS