New from Nepal

कलेजो प्रत्यारोपण अब नेपाल मै सम्भब : १५ लाख भए पुग्ने

बोलाछें, १२ भक्तपुरका ३६ वर्षीय बलराम नागाको ५ तले घर २०७२ वैशाख १२ को भूकम्पले भत्कायो । घरमा उनका ३ दाजुभाइ संयुक्त बस्दै आएका थिए । भत्किएको घरमा पुरिएर बजार गएकी दिदीको मृत्यु भयो । त्यसपछि विरक्तिएका बलरामले नियमित मदिरा पिउन थाले ।

त्यही मदिराकै कारण कलेजो खराब भएको उनी बताउँछन् । गत जेठमा एक्कासि खाना खान मन नलाग्ने, पेट सुन्निने समस्या आएपछि उनले स्वास्थ्य जाँच गराए । स्वास्थ्य जाँचका क्रममा बलरामको कलेजो ८० प्रतिशत बिग्रिसकेको चिकित्सकले बताएपछि उनी आत्तिए । ‘कलेजोको २० प्रतिशत भागले मात्र काम गरेको छ, तत्काल प्रत्यारोपण नगरे ज्यान जान सक्ने चिकित्सकको भनाइ थियो,’ उनले भने, ‘तर, नेपालमा उपचारै छैन भन्नुभयो । विदेशमा ८० लाखदेखि १ करोड रुपैयाँ खर्च लाग्ने भनेपछि अर्को विपत्ति आइलागेजस्तै भयो । घरमा रुवाबासी भयो ।’

 

उनी परिवार र आफन्तको सल्लाहमै एकपटक भारतको आईएलबीएस अस्पताल पुगे । अस्पताल पुगेकै दिन भर्ना लियो । एक साताको बसाइपछि अस्पतालले डिस्चार्ज गर्‍यो । आईएलबीएसका चिकित्सकले कलेजो प्रत्यारोपणका लागि डोनर खोजेर ल्याउन सल्लाहसहित घर पठायो ।

कलेजो प्रत्यारोपणका लागि दान दिन ३ जना दिदी तयार भए । तर, प्रत्यारोपणका लागि लाग्ने खर्चले भने आत्तिएको उनी बताउँछन् । ‘स्वास्थ्य परीक्षणमा पनि तीनै दिदीको कलेजो मेल खायो,’ उनले भने, ‘बाँकी रहयो, प्रत्यारोपण खर्चकै । १ रोपनी १४ आना जग्गा बेच्ने तरखरमा पुगे पनि जग्गा बिक्री भएन, केही नलागेर सूर्यविनायककै एक सहकारीबाट ५० लाख ऋण लिएर अस्पताल गएँ,’ उनले भने ।

भारतमा कलेजो प्रत्यारोण गर्ने अभिलाषा बोकेर त पुगियो, तर, भारतीय दूतावासको सिफारिसपत्रबिना प्रत्यारोपण नहुने भयो । ‘नेपालमा उपचार सम्भव नभएर त्यहाँ उपचार गरे फरक पर्दैन भन्ने पत्र चाहिने रहेछ,’ उनले भने । ऋण लिएर कलेजो प्रत्यारोपणको तयारी गरी सिफारिसपत्र मिलाउन नेपाल आएकै बेला गत भदौ १६ गते बुबाको मुख हेर्ने दिन हृदयाघात भई बाबुको मृत्यु भएको उनी बताउँछन् ।

बाबुको मृत्युपछि थप बलराम कलेजो प्रत्यारोपण नगर्ने निर्णयमा पुगे । तर, उनका साथी अर्थात्, मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत डा. गौरव पन्तले भने प्रत्यारोपणमै जोड दिए । डा. पन्तकै सहयोगमा पेट र कलेजो विशेषज्ञ डा. दीपेश गुरुवाचार्यसँग भेट भयो ।

भारतको आईएलबीएस अस्पतालमा परीक्षण गरेको सम्पूर्ण रिपोर्ट मानव अंग प्रत्यारोपण केन्द्रमा देखाएपछि नेपालमा कलेजो प्रत्यारोपण सुरु भएको छैन तर, प्रत्यारोपण गरी नयाँ जीवन जीउने कुरामा पछि नहट्न केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले सल्लाह दिए ।

यत्तिनैखेर स्वास्थ्य मन्त्रालयले ल्याएको मानव अंग प्रत्यारोपण नियमावली २०७३ ले कलेजो प्रत्यारोपणसँगै मस्तिष्क मृत्यु भएकाहरूको ८ अंग लिई प्रत्यारोपण गर्न सकिने व्यवस्था गरेपछि केन्द्रले बलरामको कलेजो प्रत्यारोपण गर्ने निष्कर्षमा पुगे हो । गत मंसिर २२ गते मुलुकमै पहिलोपटक दक्षिण कोरियाको सियोलस्थित सामसुङ मेडिकल सेन्टरबाट आएका विश्व प्रसिद्ध विशेषज्ञहरूको टोलीको सहभागितामा बलरामको कलेजो प्रत्यारोपण भयो । ‘मैले जीवनबाट हार मानिसकेको थिएँ,’ उनले भने, ‘कलेजो प्रत्यारोपण हुन्छ र बाँच्छु भन्ने सोचेको पनि थिइनँ । भाग्यले पुनर्जन्म पाएँ ।’

प्रत्यारोपणपछि आईसीयू कक्षबाट आइतबार उनलाई क्याबिनमा सारिएको छ । अबको २/३ दिनभित्र डिस्चार्ज हुने केन्द्रले जनाएको छ । बलरामलाई उनकै ४१ वर्षीया कान्छी दिदी सानुमाया लागेजूले कलेजो दान गरेकी हुन् । बाह्र दाजुभाइ/दिदीबहिनीमध्येको कान्छो भाइ बचाउन कलेजो दान गरेको उनी बताउँछिन् । भाइलाई कलेजो दान गरेकी सानुमायाको भने गत साता नै डिस्चार्ज भएको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए । मुलुकमै पहिलोपटक कलेजो प्रत्यारोपण भएको हुँदा बलरामको सम्पूर्ण खर्च अस्पतालले व्यहोरेको छ । प्रत्यारोपणमा करिब १५ लाख खर्च भएको डा. श्रेष्ठले बताए ।

बलरामको ५० प्रतिशत खराब कलेजो फालेर सानुमायाको ५० प्रतिशत भाग प्रत्यारोपण गरेको श्रेष्ठ बताउँछन् । ‘प्रत्यारोपण गरेको कलेजो ३ वर्षभित्र पूर्ण भइसक्छ,’ कार्यकारी निर्देशक डा. श्रेष्ठले भने, ‘कुनै पनि अंग प्रत्यारोपण भएका व्यक्तिले साधारण जीवन जीउन सक्छन् ।’

कलेजो प्रत्यारोपणपछिको जीवन कलेजो बचाउने अभियानमा खर्चिने बलरामले अठोट लिएका छन् । ‘रक्सीले स्वास्थ्यमा पार्ने नकारात्मक असरबारे प्रचारप्रसारमा लाग्छु,’ उनले भने