काठमाडौँ, १६ पुस । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मधेसको आवाज सम्बोधन गर्ने नेपाली काँग्रेसको पहललाई अराष्ट्रिय कदम भन्ने विपक्षीको तर्क गलत भएको बताउनुभएको छ ।
चालीसौँ एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली काँग्रेस क्षेत्र नं– ८ ले आयोजना आज गरेको कार्यक्रममा सर्वोच्च नेता गणेशमान सिंहको नेतृत्वमा २०४२ सालमा भएको सत्याग्रहमा भाग लिएका सत्याग्रहीलाई सम्मान गर्दै उहाँले भन्नुभयो– “संविधान संशोधन आफँैमा एउटा कार्यान्वयनको तह हो । संविधान मेरो पनि हो भन्ने भावना विकास गर्न तराई– मधेस, आदिवासी थारु आदिको सर्वस्वीकार्यता बढाउन आवश्यक छ ।”
नेपाली काँग्रेसका अग्रज नेता एवम् पूर्वमन्त्री मार्शलजुलुम शाक्यले २०४२ सालको सत्याग्रहलगायत विभिन्न आन्दोलनमा सक्रिय कार्यकर्ताले घर, खेतसहित करौँडौँ रुपैया लगानी गर्ने कार्यकर्ता तथा साथी साइडमा परेको देख्दा आफू दुखित भएको बताउनुभयो ।
नेपाली काँग्रेसका अर्का अग्रज नेता श्यामलाल श्रेष्ठले नेपाली काँग्रेससँग विचार मिल्ने सँगमात्र मेलमिलाप गर्नुपर्छ भन्ने दुईदशक अघि आफूले सर्वोच्च नेतासँग राखेको तर्क अहिले सत्यसावित भएको बताउनुभयो ।
उद्योग मन्त्री नवीन्द्रराज जोशीले बिपीको मृत्युपछि बिपीको चिन्तन निरन्तर अघि बढाउनसक्छ कि सक्दैन भन्ने, परीक्षा गणेशमान सिंहसामु आएको थियो, आज हामी सामु राजनीतिक उपलब्धि संरक्षण गरेर आर्थिक क्रान्ति गर्नुपर्छ भन्ने परीक्षा आएको बताउनुभयो ।
उहाँले संविधानलाई सबै राजनीतिक दल, असन्तुष्ट जाति, वर्गको भावना समेटेर संविधान कार्यान्वयन गर्ने हामी सबैको कर्तव्य हो भन्नुभयो ।
कार्यक्रममा पूर्व उपप्रधानमन्त्री सिँहले २०४२ सालको सत्याग्रहमा भागलिने कार्यकर्ता तथा अग्रज नेताहरु योगप्रसाद उपाध्याय,ओमकार श्रेष्ठ,मार्सल जुलुम शाक्य,श्यामलाल श्रेष्ठ,दामोदार गौतम,नीलकाजी शाक्य,बुध्दरत्न बज्राचार्य ,गोपालदास श्रेष्ठ,,शारदामान बैद्य,गोविन्द दाहाल,राजेन्द्र मानन्धर,कृष्णा अमात्य,दमननाथ ढुङ्गाना,माथवर सिँह बस्नेत,नरोत्तम बैद्य,हरिबोल भटराईसहित दुई सयभन्दा बढी प्रजातान्त्रिक योद्धालाई सम्मान गर्नुभएको थियो ।