पहिलोपटक नेपालमा फोरजी सुरु, कुनकुन सेटमा चल्छ ?

२०७३ पुस १८ सोमवार
Abishkhar Khanal
Spread the love

काठमाडौं, १८ पुस । नेपाल टेलिकमले आइतबारदेखि चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) सुरु गरेको छ । टेलिकम नेपालमा फोरजी सेवा सुरु गर्ने पहिलो दूरसञ्चार कम्पनी बनेको छ । टेलिकमले अंग्रेजी नयाँ वर्षको अवसर पारी जीएसएम पोस्टपेड मोबाइलमा यो सेवा सुरु गरेको छ ।

आइतबार राजधानीमा आयोजित कार्याक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले टेलिकमको फोरजी लोगो अनावरण गरी सेवाको औपचारिक सुरुवात गरेका हुन् । टेलिकमले हाल काठमाडौं उपत्यका र पोखराबाट यो सेवा सुरु गरेको हो । फोरजी सुरुवातका अवसरमा कम्पनीले जनवरी महिनाभित्र चार दिनका लागि चार गिगाबाइट (जीबी) डाटा सित्तैमा दिएको छ । यस महिनाभित्र फोरजी चल्ने मोबाइल सेट र सिमकार्ड भएका ग्राहकले जुनसुकै बेला सित्तैको सेवा डाटा लिन सक्नेछन् । 

फोरजी सेवा कुनै पनि प्याकेज नलिईकन ग्राहकले प्रतिमेगाबाइट्स करबाहेक १ रुपैयाँका दरले चलाउन सक्नेछन् । प्याकेजमा चलाउँदा भने यसको दर सस्तो पर्नेछ । नेपाल टेलिकमले हाल राजधानीको चक्रपथभित्र र ललितपुर एवं भक्तपुरमा यो सेवा सुरु गरेको हो । पोखराको लेकसाइड र न्युरोडसहित बजार क्षेत्रमा पनि फोरजी सेवा सुरु भएको छ । थापाका अनुसार कम्पनीले हाल काठमाडौंका ३ सय ८ र पोखराका ७९ वटा मोबाइल टावरलाई स्तरोन्ति गरी सेवा सुरु गरेको हो । फोरजी सेवा सुरु गर्न टेलिकमले करिब ३९ करोड रुपैयाँ खर्च गरेको थापाले जानकारी दिए । 

सरकारले गत कात्तिक ५ गते टेलिकमलाई फोरजी सेवा सञ्चालनको अनुमति दिएको थियो । उसले पुरानै फ्रिक्वेन्सीमा फोरजी चलाउने अनुमति दिएको हो । टेलिकमले पाएको १ हजार ८ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सीमा फोरजी सेवा सुरु गरेको हो । त्यसका लागि टेलिकमले यो ब्यान्डमा पाएको १५ मध्ये ५ मेगाहर्ज फ्रिक्वेन्सीलाई प्रयोग गरेको छ । 

नेपाल दूरसञ्चार प्राधिकरणले हाल दिएको ५ मेगाहर्ज फ्रिक्वेन्सी फोरजी चलाउन अपुग भएकाले थप दिनुपर्ने टेलिकमको माग छ । टेलिकमले हाल ३२ दशमलव ४ एमबीपीएस गतिको फोरजी सुरु गरेको हो । फोरजीमा उपभोक्ताले उच्च गतिको इन्टरनेट चलाउन पाउनेछन् । उच्च गतिको इन्टरनेट हुने भएकाले फोरजीका उपभोक्ताले अहिलेभन्दा सजिलो गरी भिडियो कल र च्याट गर्न सक्छन् । फोरजीमा इन्टरनेटमा आधारित टेलिफोनमा पाइने सेवाहरू पाइनेछ । उच्च गुणस्तरीय भिडियोसहितको मोबाइल टेलिभिजनसमेत हेर्न मिल्छ । यसबाट भिडियो कन्फेरेन्स गर्न सजिलो हुन्छ । फोरजी प्रविधिले मोबाइलमै थ्रीडी भिडियोसमेत हेर्ने सुविधा दिन्छ । 

कुनकुन सेटमा चल्छ ? 
नेपाल टेलिकमका अनुसार पछिल्लो समय बजारमा आएका धेरै एन्ड्रोइडमा आधारित मोबाइल सेटमा फोरजी चल्छ । मोबाइल सेटको नेटवर्क सेटिङमा गई कुन प्रविधिमा चल्छ भन्ने हेर्न सकिने टेलिकमले जनाएको छ । सेटिङमा फोरजी वा एलटीई भन्ने ‘अप्सन’ भएमा मात्र यो सेवा चल्छ । 

आइफोन सिक्स, सिक्स एस, सेभेन र सेभेन प्लसमा भने हाललाई यो सेवा चल्दैन । ‘एप्पलले १ हजार ८ सय मेगाहर्जको फ्रिक्वेन्सीमा चल्ने नबनाइदिएकाले यस्तो भएको हो,’ थापाले भने, ‘त्यसका लागि हामीले पत्राचार गरिसकेका छौं, उनीहरूले चाँडै चल्ने बनाइदिने प्रतिबद्धता जनाएका छन् ।’

नयाँ सिमकार्ड लिनुपर्ने 
टेलिकमको फोरजी चलाउन धेरै ग्राहकले नयाँ सिमकार्ड लिनुपर्ने देखिएको छ । फोरजी सेवाका लागि युनिर्भसल सिमकार्ड (युसिम) चाहिने भएकाले धेरैले नयाँ सिमकार्ड लिनुपर्ने भएको हो । ग्राहकले टेलिकमका काउन्टरमा गई ५० रुपैयाँ तिरेर पुरानै नम्बरको सिमकार्ड पाउन सक्नेछन् । उपत्यकामा चाबहिल, हात्तीगौंडा, गोंगबु, सुन्धारा, छाउनी, बबरमहल, जावलाखेल, साझा भवन, ठिमी, भक्तपुर र पोखरा महेन्द्रपुलमा रहेका टेलिकमका कार्यालयबाट फोरजी सिमकार्ड पाइने कम्पनीले जनाएको छ । 

‘विकाससँग जोड्नुपर्छ’
फोरजी सेवाको सुरुवात गर्दै सञ्चारमन्त्री कार्कीसहित सरकारी अधिकारीहरूले सूचना प्रविधिलाई विकाससँग जोड्नुपर्ने बताए । उनीहरूले नयाँ प्रविधि भित्र्याउनुका साथै त्यसलाई विकासका लागि उपयोग गर्नुपर्नेमा जोड दिए । 

मन्त्री कार्कीले सहरमा सुरु भएको सेवा गाँउसम्म पुर्‍याउनुपर्ने बताए । सञ्चार सचिव महेन्द्र गुरुङ, दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा र टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले फोरजीको सुरुवातले नेपालको सूचना प्रविधि विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । 

१५ सहरमा चाँडै विस्तार 
कार्यक्रमपछि आयोजित पत्रकार सम्मेलनमा टेलिकमका अधिकारीहरूले थप १५ सहरमा चाँडै सेवा विस्तार गर्ने जानकारी दिए । उनीहरूले दोस्रो चरणमा थप उपमहानगरपालिकाहरूमा सेवा विस्तार गर्ने जानकारी दिएका हुन् । १५ वटा सहरमा सेवा विस्तार गरेपछि मात्र अन्य क्षेत्रमा फोरजी चलाउने टेलिकमको तयारी छ ।