New from Nepal

आज पनि बाँके बन्द

प्रहरीले तरुण दल बाँके क्षेत्र नम्बर १ का अध्यक्ष दिग्वीजय जंग राणालाई पक्राउ गरेको विरोधमा तरुण दलले सोमबार पनि बाँके जिल्ला बन्दको आहृवान गरेको छ । युवा संघ केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि भएको आक्रमणको योजनाकारकाे आरोपमा प्रहरीले राणालाई पक्राउ गरेपछि तरुण दल बाँकेले आइतबार पनि बाँके बन्द गराएको थियो ।

बन्दका कारण बाँकेका नागरिकको दैनिकी प्रभावित भएको छ । शिक्षण संस्था, प्रेस, कुटनीतिक नियोग, एम्बुलेन्स, दमकल, मानवअधिकारकर्मी लगायतलाई बन्दमा छुट दिइएको छ ।

बुढाथोकीलाई खुकुरी प्रहार गर्ने युवासंघकै कार्यकर्ता मल्ललाई प्रहरीले यसअघि नै काठमाडौंबाट पक्राउ गरिसकेको छ । आरोपी मल्लकै बयानका आधारमा तरुण दल क्षेत्रीय अध्यक्ष राणा र युवासंघका समशेरगञ्ज गाउँ कमिटी उपाध्यक्ष ज्ञानबहादुर थापालाई पनि पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । बुढाथोकीको बाँकेमा उपचार हुन नसकेपछि भारतको लखनउ लगिएको छ । मल्ललाई काठमाडौंमा लुकेर बसेको अवस्थामा सीआईबीको टोलीले पक्राउ गरेको थियो ।