नोटबन्दी लागेका भारु ५ सय र १ हजारको नोट सटहीबारे छलफल गर्न नेपाली टोली भोलि भारत जाने भएको छ । डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीको संयोजकत्वमा बनेको टोली भोलि यस बिषयमा छलफल गर्न भारत जाने भएको हो ।
‘हामीले भारु सटहीको मोडालिटी पठाइसकेका छौं, छलफल पछि कस्तो निश्कर्ष आउँछ त्यसैमा भर पर्छ,’ शिवाकोटीले भने । राष्ट्र बैंकले एक जनाबाट अधिकतम २५ हजार भारु साट्ने मोडालिटी भारत पठाएको हो ।
वार्ता सकारात्मक भएमा १ महिनाभित्रमा भारु सटही हुने सम्भावना रहेको छ । भारत सकारात्मक देखिएमा सर्वसाधारणलाई भारु बैंकमा जम्मा गर्न केही साताको अवधि दिइने सम्भावना छ ।
त्यस्तै, बैंकहरुले यसरी जम्मा भएको रकम १ देखि २ सातामा राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकले भारतीय रिर्जभ बैंकमा यस्तो रकम बुझाएर त्यहाबाट स्वीकृत हुने नोटको मात्र सटही सुविधा दिइने सम्भावना छ ।
‘सर्वसाधारणलाई रकम जम्मा गर्न एक पटकभन्दा बढी समय दिइँदैन, तोकिएको अवधिभित्र २५ हजारको सीमासम्ममा जम्मा गर्न सक्छन्,’ शिवाकोटीले बताए । बैंकहरुले सर्वसाधारणबाट भारु लिँदा नोटमा उल्लेख नम्बर पनि साथै टिप्नुपर्ने हुन्छ ।
भारतीय केन्द्रीय बैंकले जम्मा भएको नोट जाँच बुझ गर्ने र नक्कली भएमा, च्यातिएको भएमा त्यस्तो नोट नसाट्ने सम्भावना छ । यसो भएमा यस्ता रकम जम्मा गर्ने सर्वसाधारणले उसले जम्मा गरेको नोट मध्ये सटही सुविधा पाएकाको मात्र भुक्तानी पाउने छ ।