काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदुषणका कारण सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको छ । वायु प्रदुषणको मात्रा ५ गुणाले बढेपछि जनजीवन निकै कष्टकर बन्दै गएको अध्ययनले देखाएको छ ।
विश्व स्वास्थ्य सगंठनले गत वर्ष (सन् २०१६) मा गरेको वायु प्रदुषण सम्बन्धि एक अध्ययनमा उपत्यकामा अघिल्ला वर्षका तुलनामा ५ गुणाले वायु प्रदुषण बढेको देखाएको छ । उपत्यकामा बढ्दो प्रदुषणका कारण बिभिन्न रोगका बिरामीहरू समेत बढ्दै गएको खबर आजको कारोबारमा छ ।
उपत्यकामा सडक विस्तार, खानेपानी तथा ढलको पाइप बिछ्याउने क्रम तथा बढ्दो सवारी चाप लगायतले धुलो, धुवाँ बढेर वायु प्रदुषण बढेको हो । यसतर्फ सम्बन्धित सरोकारवालाले समयमै ध्यान नपु¥याए यसले भविश्यमा ठूलो धनजनको क्षति पुर्याउनसक्ने विज्ञहरूले औंल्याएका छन् ।
सरकारको वातावरण संरक्षण नियमावली, ०५४ ले तयार पारेको वायुको गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्ड ०६९ ले पीएम् २.५ को मापदण्ड ४९ माइक्रोन प्रतिघनमिटर कायम गरेको छ । पीएम् २.५ भनेको सूक्ष्म कण हो । जसको व्यास २.५ माइक्रोनभन्दा कम हुन्छ । यस्ता धुलोका कण मानव स्वास्थ्यको दृष्टिकोणले सबैभन्दा हानिकारक मानिन्छन् ।
यी कणहरू श्वासप्रश्वास नली हुँदै फोक्सोसम्म पुग्नसक्छ । फोक्सोबाट रक्तसञ्चार प्रणालीको माध्यमबाट शरीरको विभिन्न भागमा फैलिएर मुटु फोक्सो, तथा अन्य स्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउनुका साथै अन्य संक्रमण पनि गराउने बिज्ञहरू बताउँछन् ।
विश्व स्वास्थ्य सगंठनले १०१६ मा गरेको पछिल्लो तथ्यांकअनुसार वायु प्रदुषणका कारण विभिन्न रोगबाट नेपालमा प्रत्येक बर्ष करिव १० हजार मानिसले ज्यान गुमाउने गरेका छन् । यस्तै, विश्व बैंक र रिसर्च इन्स्टिच्युट (आइएचएमई) ले सन् २०१६ मा गरेको अध्ययनअनुसार वायु प्रदुषणकै कारण नेपालमा वर्सेनि २२ हजारभन्दा बढीको मृत्यु हुने गरेको उल्लेख गरिएको छ ।
काठमाडौं उपत्यकामा नेपालमा झण्डै ७२ प्रतिशत मुटुको समस्या वायु प्रदुषणकै कारण हुने गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. खेम कार्की बताउछन् । डा. कार्कीका अनुसार, प्रदुषणका कारण मुटु रोगबाहेक १४ प्रतिशत दमका रोगी, फोक्सोको क्यान्सर १४ प्रतिशत बढेको पाइएको हो ।
काठमाडौमा वायु प्रदुषण बढ्नुमा बढ्दो सवारी चाप पनि प्रमुख समस्याको रूपमा रहेको वातावरणविद् डा. भुषण तुलाधर बताउँछन् । उनका अनुसार, काठमाडांैमा जनसंख्याको चाप चार प्रतिशतले वृद्धि भैरहेकोमा त्यसको अनुपातमा सवारीसाधनको वृद्धि ४० प्रतिशतले बढेको छ ।
“सरकारले उपत्यकाको ट्राफिक जाम बढ्यो भनेर सडक विस्तार गर्नतिर लागेको पाइन्छ, त्यसो गर्नु भनेको वायु प्रदुषणको क्षेत्रमा आगोमा घ्यू थप्नुसरह हो,” तुलाधर भन्छन्, “सहरमा २० प्रतिशत सवारीसाधनले ५० प्रतिशत प्रदुषण गराउँछ, यदि २० प्रतिशत सवारीसाधन घटाउने मात्र हो भने पनि ५० प्रतिशत वायु प्रदुषण आफंै घट्नेछ ।”