चलचित्र छक्का पञ्जाका निर्माता एवं कलाकार दीपकराज गिरीलाई कडा कारवाहीको माग गर्दै आईतबार विभिन्न कलेजका विद्यार्थीहरुले -याली निकालेका छन् । कलाकार गिरी कृष्ण सुवेदीको हत्यारा भएको समेत उनीहरुले आरोप लगाएका छन् ।
नोबेल कलेज, सिस्ट कलेज र कर्णाली कलेजका विद्यार्थीहरुले कलाकार गिरीले मानसिक यातना दिएकै कारण कृष्ण सुवेदी (रुपेश) ले आत्महत्या गरेको बताएका छन् ।
चलचित्र छक्का पञ्जाको पाईरेसीको आरोपमा गत पुस २८ गते आत्महत्या गर्न बाध्य भएका नोबेल कलेजका विद्यार्थी कृष्ण सुवेदीको स्मृतिमा विद्यार्थीहरुले आईतबार -याली समेत निकालेका थिए । उक्त -याली सिनामंगलबाट सुरु भई पुरानो बानेश्वर, नयाँ बानेश्वर र बिजुलीबजार हुँदै माईतीघर मण्डलामा पुगी टुंगिएको थियो । नोबेल विद्यार्थी परिषद्का अध्यक्ष प्रशान्तजंग कुँवरको नेतृत्वमा -याली निकालिएको हो ।
विद्यार्थीहरुले कलाकार गिरीलाई हदैसम्मको कारवाही गर्नुपर्ने र छक्का पञ्जा पाईरेसी भएको विषयमा छानविन गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । विद्यार्थीहरुले यस घटनाको सम्बन्धमा निष्पक्ष छानविन गर्न समेत जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन पेश गरेका छन् ।
यसैबीच नेपाल विद्यार्थी संघ कुमारवर्ती बहुमुखी क्याम्पस कावासोती र नेविसंघ मध्यविन्दु बहुमुखी क्यामपस ईकाईले समेत कलाकार गिरीलाई कारवाही गर्नुपर्ने माग राखेको छ । दुवै इकाईले कृष्ण सुवेदीको मृत्यु भएको विषयलाई लिएर कारवाहीको माग गरेको हो । कलाकार गिरीलाई कानुनी कारवाही नगरेसम्म नवलपरासीको कावासोतीमा गिरीको कुनैपनि कार्यक्रम हुन नदिने दुवै नेविसंघ कावासोती ईकाईले जनाएको आनलाइन टीभी अन्नपूर्ण ले उल्लेख गरेको छ भने उता ई-कान्तिपुर का अनुसार :
चलचित्र ‘छक्का–पञ्जा’ पाइरेसीको आरोप लागेका जिल्लाको कावासोतीका २३ वर्षीय कृष्ण सुवेदीका परिवारले घटनाको निष्पक्ष छानविन गर्न माग गरेका छन् । घटनाको प्रकृति हेर्दा आत्महत्या नभई हत्या भएको मृतकका परिवारको दाबी रहेको छ ।
मृतकका दाजु हरि सुवेदीकाअनुसार घटना शंकास्पद देखिएकोले आत्महत्या नभै हत्या भएको छ । ‘भाइले घाँटीमा लगाएको सुनको सिक्री समेत छैन, अनि कोठाको ढोका समेत खुल्ला र सुसाईट नोटमा स्पगष्ट लेखिएको छ’ सुवेदीले भने । सुसाईट नोटमा समेत भाइको नै अक्षर भएकाले बारम्बार मानसिक तनाव, धम्कीको कारण यस्तो दुखद घटना घटेको उनको भनाइ छ ।
अध्ययनमा सधै अब्बल मृतक सुवेदी आइतबारबाट धुलिखेल अस्पतालमा आबद्ध हुनका लागि नियुक्ति पत्र लिने भन्दै बिहीबार काठमाडौं गएका थिए । काठमाडौंको सिनामंगलमा जिल्लाको गैंडाकोटका एक साथीसँगै बस्दै आएका सुवेदी सोमबार कावासोती आएर परिवारसँग सल्लाह गरेरै बिहीबार काठमाडौं गएकै दिन यस्तो घटना घटेको हो । दिउँसो २ बजे दाजुसँग फोन सम्पर्क भएको थियो । घटनाबारे थाहा पाएपछि भाइको नम्बरमा पटक पटक फोन गर्दा प्रहरीले फोन उठाएर घटनाबारे जानकारी गराएको पारिवारीक स्रोतले बताएको छ ।