New from Nepal

कलिउड सिनेमा अवार्ड सातौं संस्करण लण्डनमा हुने घोषणा

बर्ष २०१६ भरी प्रदर्शनमा आएका फिल्महरु बीच प्रतिस्पर्धा गराउँदै उत्कृष्टता खोज्नको लागी संगिक्षा फिल्मस् ईन्टरटेन्मेन्टको आयोजनामा सातौं कलिउड सिनेमा अवार्ड लण्डनमा हुने भएको छ । छैटौं संस्करण सफलताका साथ सम्पन्न भई केहि बर्ष रोकिएको कलिउड सिनेमा अवार्डको सातौं संस्करण लण्डनमा हुने पक्का भएको हो ।


शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच अवार्डको घोषणा गरियो । जहाँ नेपालबाट संगिक्षा फिल्मस् का निर्देशक मनोज केसी र लण्डनको लागी सहकार्य गर्न लागेको थर्ड आइ इन्टरटेन्मेन्टको तर्फबाट अजय राईले फिल्म अवार्ड आयोजना गर्नुको उद्देश्य तथा लण्डन नै खोज्नुको कारणबारे जानकारी गराए । थर्ड आईको तर्फबाट धेरै बर्षदेखि लण्डनमा बस्दै आएका विकास देवकोटाको पहलमा अवार्ड लण्डनमा हुन लागेको हो ।


२०५७ सालबाट सुरु भएको अवार्डलाई निर्देशक केसीले आफु चलचित्र प्राविधिक संघको नेतृत्वमा पुगेसँगै रोकेर नेफ्टा अवार्डलाई सुरु गरेका थिए । अब भने नेफ्टाको नेतृत्वबाट बाहिर आएका केसीले पुनः कलिउड अवार्डलाई सुरु गर्न लागेका हुन् ।

केसीलाई नेपाली फिल्म अवार्डलाई विदेशसम्म पुर्याउने श्रेय जान्छ । यस अगाडि चलचित्र प्राविधिक संघको नेतृत्वमा रहेर उनले मलेसिया, हङकङ र कतारमा नेफ्टा अवार्ड आयोजना गरेका थिए भने यहि बर्ष नै संगिक्षा फिल्मस् को तर्फबाट उनले ‘नेपाली म्यूजिक भिडियो अवार्ड’ युएईमा आयोजना गर्दै सफलता पुर्वक सम्पन्न गरेका छन् ।

‘थर्ड आइ’ तर्फबाट अजय राइले अवार्डलाई भव्य बनाउन आफूहरुले कुनै कसर बाँकी नराख्ने बताए । उनले अवार्ड ‘स्क्यान्डल’ मुक्त होस् भन्ने कामना पनि गरे । नेपाल आयोजकसँग उनले आग्रह गरे, ‘यो अवार्ड भैसकेपछि लण्डनमा नेपाली चलचित्रको वृद्धि र विकास अझ होस् भन्ने हामी चाहन्छौ । कुनै जाती, धर्म र राजनीतिलाई बोकेर लण्डन नआउन म आयोजक र चलचित्रकर्मीलाई आग्रह गर्दछु ।’

करिब १५ विधामा अवार्ड वितरण गर्ने तयारी गरेको आयोजक पक्षले बताएको छ । अवार्ड हुनु पुर्व तयारी तथा अन्य माहोल बुझ्नको लागी नेपाली आयोजक टिम लण्डन पुग्ने छ । त्यस पश्चात आयोजना हुने प्रेसमिटमा प्रतिस्पर्धा हुने विधा, जुरी लगायत सम्पुर्ण विषयको बारेमा जानकारी गराईने बताईएको छ । मे महिनामा अवार्ड गर्ने तयारी नेपाल र लण्डन पक्षका आयोजकले गरेका छन्