पूर्वराजा ज्ञानेन्द्र शाहले आज राष्ट्रपति भवन शीतल निवास पुग्दा आफ्नो ४७ वर्ष पुरानो विहेको सम्झना गरेका छन् । उनको विसं २०२७ मा शीतल निवासबाटै कोमल राज्यलक्ष्मीसँग विवाह भएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको छोरी निशाकुशुमको विवाहकाे निम्ता मान्न शीतल निवास पुगेका ज्ञानेन्द्रले राप्रपा नेताहरुसँगको भेटमा आफ्नो विवाहको सम्झना गरेका हुन् ।
सोमबार मध्यान्ह १२ बजेर ३४ मिनेट जाँदा शीतल निवास प्रवेश गरेका उनी बरबधुलाई आशिर्वाद दिएपछि राप्रपा नेताहरु बसेको टेबुलमा पुगेका थिए । जाँदा जाँदै उनलाई कालोचिया टक्र्याइएको थियो । लगत्तै सुरु भयो राप्रपा नेताहरुसँगको भलाकुृसारी ।
सो भलाकुसारीमा राप्रपाका अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणा, लोकेन्द्र बहादुर चन्दलगायत सहभागि रहेका थिए ।
विवाहको कार्यक्रममा सहभागि पूर्वराजाले राप्रपा नेताहरुको अगाडि आफ्नो विवाहको प्रसंग कोट्याए । भलाकुसारीका क्रममा शाहले आफ्नो शीतलनिवासबाटै ४७ वर्षअघि बिहे भएको स्मरण गरेका थिए । भेटमा सहभागि राप्रपाका एक नेताले पूर्वराजाको भनाई उदृत गर्दै भने, ‘आज भन्दा ५० वर्ष अघि मेरो पनि यहीँबाट विहे भएको हो । आज ति दिन याद आए ।’
यसबाहेक पूर्वराजा र नेताहरुबीच थोरै देशको समसामयिक अवस्थाका र धेरै समय पारिवारिक विषयमा कुराकानी केन्द्रीत भएको राप्रपा निकट स्रोतले रातोपाटीलाई जानकारी दियो ।
पूर्वराजाले शीतल निवासमा राष्ट्रकवि माधव घिमिरेसँग समेत भलाकुसारी गरेका थिए तर अहिलेका मुलधारमा रहेका नेताहरुसँग भने खासै भेटघाट नभएको स्रोतको दाबी छ ।
शीतल निवासमा करीब २० मिनेट रहेर उनी बाहिरिएका थिए ।
स्मरण रहोस् पूर्वराजाको विवाह भएको शीतल निवासमा गणतन्त्र पछि राष्ट्रपतिको वासस्थानको व्यवस्था मिलाइएको थियो ।
शीतल निवास भने राणा प्रधानमत्री चन्द्र शमशेरले बनाएका थिए भने सन् १९४८ सालमा चन्द्रको कान्छा छोरा कृष्ण शमशेरले सरकारलाई हस्तान्तरण गरेका थिए ।
हस्तान्तरण पछि त्यहाँ ‘शाही समारोह’का साथै नेपाल सरकारले राजकीय भ्रमणको रुपमा आउने पाहुनालाई वासस्थानको व्यवस्था मिलाइने गरिन्थ्यो । पछि शीतल निवासमा परराष्ट्र मन्त्रालय पनि रह्यो ।