भूकम्पमा भत्किएका विद्यालय पुनर्निर्माणमा शिक्षा मन्त्रालय र आयोजना कार्यान्वयन इकाइबीच समन्वय नहुँदा समस्या भएको छ । भवन निर्माणमा ढिलाइ हुँदा भूकम्पपीडित बालबालिकाको पढाइ पनि प्रभावित भएको खबर आजको नयाँ पत्रिकामा छ ।
विद्यालय भवन तीन वर्षभित्र बनाइसक्ने योजना छ । तर, अहिलेसम्म कति भवन बने भन्ने विवरण शिक्षा मन्त्रालय र विभागसँग छैन । शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले समन्वय अभावले विद्यालय पुनर्निर्माणमा ढिलाइ भएको स्विकारे । विवरण मागेर समस्या समाधान गरिने उनको भनाइ छ ।
विद्यालय पुनर्निर्माण गर्न केन्द्रीय आयोजना कार्यान्वयन इकाइ र जिल्ला आयोजना कार्यान्वयन इकाइ गठन भएका छन् । तर, केन्द्रको इकाइले समन्वय नगरेको शिक्षा विभाग र मन्त्रालयका अधिकारीहरूको गुनासो छ ।
भूकम्प प्रभावित जिल्लाका जिल्ला शिक्षा अधिकारी र जिल्ला आयोजना कार्यान्वयन इकाइबीच पनि समन्वय छैन । विद्यालय छनोटको काम शिक्षा कार्यालय र पुनर्निर्माणको काम इकाइले गर्ने भएकाले अधिकांश जिल्लामा विवाद छ । इकाइ गठनअघि शिक्षा कार्यालयले काम गरेको थियो । तर, अहिले इकाइले समन्वय नगरेको र पुनर्निर्माण पनि हुन नसकेको शिक्षा अधिकारीहरू बताउँछन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शिक्षा मन्त्रालय, केन्द्रीय परियोजना कार्यान्वयन इकाइ, जिल्ला परियोजना कार्यान्वयन इकाइ तथा जिल्ला शिक्षा कार्यालयबीच समन्वय अभाव छ । पुनर्निर्माण प्राधिकरणले रकम केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई रकम पठाउने र जिल्ला आयोजनामा जाने गरेको शिक्षा मन्त्रालय, विभाग तथा क्षेत्रीय कार्यालय कामबारे बेखबर छन् ।
३१ जिल्लामा काम हुँदै
भूकम्प प्रभावित ३१ जिल्लामा प्राधिकरणमार्फत रकम पुनर्निर्माणको काम हुँदै छ भने बाँकी जिल्लाको विद्यालय भवन बनाउन शिक्षा विभागले रकम अनुदानस्वरूप पठाउने गरेको छ । ३१ जिल्लामा प्राधिकरणबाहेक एसियाली विकास बैंक, चीन, भारत, एनजिओ–आइएनजिओले समेत भवन बनाइदिँदै छन् ।
भूकम्पबाट १९ हजार विद्यालयमा क्षति
शिक्षा मन्त्रालयका अनुसार भूकम्पबाट झन्डै १९ हजार विद्यालय प्रभावित भएका छन् । भूकम्प प्रभावित जिल्लाका १२ हजार कक्षाकोठा ध्वस्त भएका छन् भने साढे १७ हजार कक्षाकोठामा क्षति पुगेको छ । भूकम्पबाट अति प्रभावित चार जिल्लामा मात्र सात हजार ६ सय ४२ कक्षाकोठा पूर्ण क्षति भएको छ भने ११ हजार २६ कक्षाकोठामा क्षति पुगेको छ ।