सुन तस्करी र विदेशी मुद्रा अपचलन अभियोगमा नेपाल प्रहरीले राजनीतिक दलका नेता तथा विभिन्न व्यापारीमाथि अनुसन्धान अघि बढाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी), महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौं प्रहरीले अवैध सुन र विदेशी मुद्रासहित पक्राउ परेका भरियाको बयानपछि व्यापारी र विभिन्न राजनीतिक दलसम्वद्ध नेता तथा कार्यकर्तामाथि अनुसन्धान थालेको खबर आजको कारोबारमा छ ।
आर्थिक प्रलोभनमा सामान्य आयआर्जन भएका सर्वसाधारण भरियाका रूपमा प्रयोग भए पनि त्यसको पछाडि राजनीतिक तथा व्यापारिक शक्तिको आडमा सुन तस्करी हुने गरेको प्रहरीको निष्कर्ष छ । राजनीतिमा आवद्ध केही व्यक्तिले पछिल्लो पटक बरामद डलर र सुनबारे चासो दिएपछि प्रहरीको अनुसन्धान पाटो त्यसैतर्फ मोडिएको हो ।
ब्युरो स्रोतका अनुसार अनुसन्धानका क्रममा विगतमा पक्राउ परेका तस्कर, भरिया, सरकारी कर्मचारी, प्रहरी तथा त्यसलाई संरक्षण दिँदै आएका शंकास्पद नेतामाथि पनि छानबिन भइरहेको छ ।