New from Nepal

बेहाल छ क्रिकेट मुख्यालय

धनगढी प्रिमियर लिग अक्सनको पहल नेपाली क्रिकेटलाई व्यावसायिक बनाएर अघि बढाउने जमर्कोका रूपमा देखिएको छ । निजी क्षेत्रको अर्को प्रयासमा रुस्लान कप कीर्तिपुर मैदानमा हुँदा घरेलु क्रिकेटमा दर्शक फेरि आउनेक्रम सुरु भएको छ । तर नेपाल क्रिकेट संघ (क्यान) को मुख्यालयमा यसले कुनै रौनक ल्याउन सकेको छैन । यो खबर आजको कान्तिपुरमा छ ।

काठमाडौंको मूलपानीमा रहेको नेपाल क्रिकेट संघको कार्यालय निकै उराठलाग्दो छ । महसुल बुझाउन नसकेपछि टेलिफोनको लाइन काटिएको ८–९ महिना भइसक्यो । साताअघि बिजुलीको लाइन काटिनुको कारण पनि यही थियो । ट्यांकरको पानी उधारोमा हालिएकाले रकम तिर्न नसक्दा त्यो पनि अहिले बन्द छ । असोजयता क्यानका कर्मचारीले तलब पनि पाएका छैनन् ।

सरकारी हस्तक्षेप भएको र निष्पक्ष चुनाव नभएको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले वैशाख १२ मा क्यानलाई निलम्बन गरेको थियो । त्यसको प्रत्यक्ष असर नेपाली क्रिकेटमा देखियो, क्यानको मुख्यालय गतिविधिविहीन बन्न पुगेको छ । क्यानलाई निलम्बित गरिए पनि आईसीसीले नेपाली क्रिकेट टोलीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा भने खेल्न दिएको छ । र, अहिलेलाई नेपाली क्रिकेट भन्नु त्यत्तिमात्र भएको छ ।