New from Nepal

भक्तपुरको जुजु धाै, जोगाउन धाैधाै

दहीहरूको राजा जुजु धौ । भक्तपुरको मौलिक एवं परम्परागत उत्पादन । दहीका पारखीहरू स्वादैबाट जुजु धौ हो कि होइन पत्ता लगाउँछन् । तर भैंसीपालनमा कमी आएसँगै जुजु धौ बचाउन दही उत्पादकहरूलाई धौधौ भएको छ । भक्तपुरको मौलिक ‘ट्रेडमार्क’ जुजु धौ संकटमा परेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

सर्वसाधारणमा भक्तपुरमा बन्ने सबै दही जुजु धौ हो भन्ने भ्रम छ तर सबै दही जुजु धौ हुँदैनन् । जुजु धौ विशेष प्रविधि एवं सीपबाट अति मेहनतसाथ बनाउनुपर्छ । जुजु धौ सितिमिति दूधले बन्दैन । यसका लागि भैंसीको बाक्लो एवं ताजा दूध आवश्यक पर्छ ।

दूध जति बाक्लो एवं गुणस्तरको हुन्छ जुजु धौ पनि त्यति नै स्वादिलो हुन्छ । तर दूधले मात्रै पनि जुजु धौ बन्दैन । यसका लागि जुजु धौकै विशेष बिउ चाहिन्छ । बिउबिना दही बन्दैन । त्यसैले दहीका पारखीले त्यसको स्वादबाटै जुजु धौ हो कि होइन खुट्ट्याइहाल्छन् ।

जुजु धौ व्यवसायीहरूका अनुसार यसको पहिचान गर्न त्यति गाह्रो छैन । दही लिँदा माथि तर बसेको छ र त्यसलाई छुँदा कडा भए त्यो जुजु धौ हो । त्यस्तै खाँदा काजु, बदामलगायतको बेग्लै स्वाद आयो भने त्यो निश्चित रूपमा जुजु धौ हो ।

स्पेसल जुजु धौ खान चक्कुले काट्नुपर्छ । चम्चाले सजिलै उबाउन मिल्ने दही जुजु धौ होइन । जुजु धौ बन्न गुणस्तरीय दूध, अब्बल व्यवसायीको विशेष प्रकारको सीप, लगन, मेहनत र उन्नत बिउमात्रै भएर हुँदैन, माटोले बनेको असल कतरा पनि चाहिन्छ ।

अझ जुजु धौ बन्न पर्याप्त समय दिनुपर्छ । भुसको न्यानोमा प्राकृतिक अनुकूलता मिलाएर बनाएको दही मात्रै जुजु धौ बन्ने व्यवसायीहरूको भनाइ छ । त्यस्तै दाउरा बालेर कडा आगोमा दूध राम्ररी पकाउनुपर्छ । आजभोलि सजिलोको नाउँमा ग्यास बालेर पकाउने दूधबाट उच्च कोटीको जुजु धौ नबन्ने व्यवसायी बताउँछन् ।