New from Nepal

छोराको आशमा लिंग पहिचान गरी भ्रूण हत्या गर्ने बढे…

 

भ्रूणको लिंग पहिचान गरी गर्भपतन गराउने प्रवृत्ति बढेपछि मुलुकमा पछिल्लो समय बालिकाको जन्मदर घटदै गएको पाइएको छ । मुलुकी ऐनले गर्भपतन गराउने उद्देश्यले गर्भमा रहेको लिंग पहिचान गरेको पाइए ६ महिनादेखि २ वर्ष कैद सजाय हुने व्यवस्था गरेको छ । कारबाहीको व्यवस्था भए पनि लिंग पहिचान गरी भ्रूण हत्या गर्ने क्रम बढदै गएको केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले बताए ।

‘गर्भपतन गर्ने र गराउनेको मिलेमतोमा गोप्य ढंगले यस्तो गैरकानुनी कार्य बढदै गएको छ । उजुरी नपर्ने भएकाले अपराधी कानुनको दायरामा विरलै आएका छन्,’ धितालले भन् । केन्द्रीय बालकल्याण समितिले गरेको सर्वेक्षणअनुसार गर्भधारणपछि भ्रूणको पहिचान गरी गर्भपतन गराउनेमा पढे–लेखेकादेखि निरक्षर, आर्थिक रूपमा सम्पन्नदेखि विपन्नसम्म र समाजमा प्रतिष्ठितदेखि सर्वसाधारणसम्म छन् ।

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा चार वर्षसम्मका बालकको संख्या १३ लाख १४ हजार ९ सय ५७ छ भने बालिकाको संख्या १२ लाख २५ हजार ३ सय ६ छ । यसबाट बालिकाको जन्मदर घट्ने क्रम सुरु भइसकेको प्रस्ट हुने धितालले बताए । आर्थिक वर्ष २०७२/७३ मा उपत्यकाका अस्पतालहरूमा जन्मिएका शिशुको तथ्यांक अध्ययन गर्दा प्रसूति गृह थापाथलीमा ८ हजार ७ सय ७२ बालकको जन्म भएको थियो भने बालिका ७ हजार ५ सय ५३ जना मात्र जन्मिएका थिए । 

पाटन अस्पताल ललितपुरमा जन्मिएका शिशुमध्ये बालक ३ हजार २ सय ७७ र बालिका २ हजार ९ सय ३ जना छन् । भक्तपुर अस्पतालमा जन्मिएका शिशुमध्ये ६ हजार ४० बालक र ५ हजार २५ बालिका थिए । ओम अस्पताल, चाबहिलमा जन्मिएका शिशुमा बालक ६ सय ३७ र बालिका ५ सय २७ जना छन् ।

संसदको महिला तथा बालबालिका समितिकी सभापति रन्जुकुमारी झाले संविधान र कानुनले बाल अधिकारलाई बलियो बनाउन खोजे पनि सरकारको अनुगमन खुकुलो भएकैले भ्रूण हत्या जस्तो अपराधले प्रश्रय पाइरहेको बताइन् । उनले सरकारले लिंग पहिचान गरी गर्भपतन गर्ने व्यक्ति र गराउने कार्यमा संलग्न चिकित्सकलाई खोजी–खोजी कारबाही गर्नुपर्ने बताइन् । 

भ्रूण हत्या गर्ने व्यक्तिलाई कडा सजाय दिन सके घटना नियन्त्रण हुँदै जाने उनले बताइन् । ‘भ्रूण हत्यालाई कतिपय निजी अस्पताल र स्वास्थ्यकर्मीले कमाउने पेसा बनाइरहेका छन् । त्यस्ता स्वास्थ्य संस्था र चिकित्सकलाई जतिसक्दो चाँडो कानुनको दायरामा ल्याएर कारबाही गर्नुपर्छ,’ उनले भनिन् । उनले संसद् यस विषयमा संवेदनशील भएको र भ्रूण हत्याबारे छुट्टै कानुन बनाउने विषयमा छलफल भइरहेको दाबी गरिन् ।
 
स्वास्थ्य मन्त्रालयकी वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. किरण रेग्मीले लिंग पहिचानपछि गरिने गर्भपतनले प्रजनन स्वास्थ्यका साथै मनोसामाजिक समस्यासमेत निम्त्याउने बताइन् । कतिपय महिलाले त यसैका कारण लागू पदार्थको कुलततर्फ लाग्ने, आत्महत्याको प्रयास गर्ने, यौनजीवन बिग्रने, सम्बन्धविच्छेद हुनेलगायत थुप्रै समस्या भोगिरहेको उनले सुनाइन् । छोराको आसमा बारम्बार लिंग पहिचान गरी गर्भपतन गराउनेहरूले भयावह मानसिक समस्या भोगिरहेको उनले बताइन् ।

समाजमा छोरीलाई भन्दा छोरालाई मात्रै प्राथमिकता दिने रुढिवादी सोचका कारण यस्तो भ्रूण हत्याको अपराध बढिरहेको समाजशास्त्रीहरू बताउँछन् । लिंग पहिचानपछिको गर्भपतनको असर व्यक्ति र परिवारमा मात्रै सीमित नभई यसले सिंगो समाज र राष्ट्रमै गम्भीर असर गर्ने उनीहरूको तर्क छ ।

बालकल्याण समितिका कार्यकारी निर्देशक धितालका अनुसार लिंग पहिचानपछिको गर्भपतनले पुरुषका तुलनामा महिलाको संख्या घटदै गई महिला जनसांख्यिक रूपमा समेत सीमान्तकृत हुँदै जाने खतरा हुन्छ । 

‘यसले बहुविवाहको प्रचलन आउने, महिलामाथि हुने हिंसा, यौन शोषण र बेचबिखनजस्ता अपराध वृद्धि भई सामाजिक शान्ति भंग हुने स्थिति आउन सक्छ,’ उनले भने, ‘यसले दीर्घकालमा जनसंख्या वृद्धिदर ऋणात्मक हुन सक्ने, यौनजन्य रोग र अपराध बढ्ने, समलिंगी क्रियाकलापमा वृद्धि हुनेजस्ता खतरा आउन सक्छ ।’

धितालले लिंग पहिचानपछिको भ्रूण हत्यालाई नियन्त्रण गर्न गर्भपतनमा प्रयोग हुने औषधिको आयात, वितरण र बिक्रीलाई नियमन र नियन्त्रणसम्बन्धी व्यवस्थित कानुन बनाउनुपर्ने औंल्याए । ‘जोखिमपूर्ण औषधिको सहज बिक्री वितरण हुनु पनि यसको प्रमुख कारण हो,’ उनले भने । भ्रूण हत्या नियन्त्रण गर्न निजी स्वास्थ्य संस्था तथा क्लिनिकहरूको नियमन, नियमित अनुगमन गर्न कडा कानुन बन्नुपर्ने उनको सुझाव छ ।

 

निजी अस्पताल र नर्सिङ होममा ठूलो संख्यमा भ्रूण हत्या हुने गरेको खुलासा :

दिल्लीका निजी अस्पताल र नर्सिङ होममा ठूलो संख्यमा भ्रूण हत्या हुने गरेको खुलासा भएको छ । लिंग पहिचानपछि भ्रूण हत्या गर्ने क्रमले महामारी लिन थालेपछि दिल्ली सरकारले भ्रूण हत्या गर्ने ८९ ओटा निजी अस्पताल र नर्सिङ होममा सूचना जारी गर्दै कडा कारबाही गर्ने चेतावनी दिएको छ । ‘विभिन्न निजी अस्पताल र नर्सिङ होममा नवजात शिशुको जन्मदरमा डरलाग्दो दरमा घटेको पाएका छौं,’ दिल्लीका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले भने ।
‘यी अस्पतालहरुले भू्रण हत्या गरेको आशंकमा सूचना जारी गरेका हौैं’, उनले भने । ‘महिलाहरुको भू्रण हत्यामा संलग्न अस्पतालहरुमाथि प्रहरीमा उजुरी गर्नेछांै,’ उनले थपे । सरकारले हालै गरेको एउटा सर्वेक्षणमा महिला अस्पतालमा जन्मिने छोरा र छोरीको अनुपात दर डरलाग्दो देखिएको पाइएको थियो । अधिकांश अस्तपाल र नर्सिङ होममा निश्चित समयमा १ हजार छोरा र ३ सय छोरी जन्माइएका थिए । ‘अस्पतालका नाममा जारी गरिएको सूचनामा जन्मिने समयमा भएका डरलाग्दो लैंगिक अनुपातको कारणबारे ती अस्पतालसँग माग गरेका छौं,’ उनले थपे ।