फेरि फुट्यो लिम्बुवान

२०७३ माघ १० सोमवार
NewsDesk ShikharNews

अरुणपूर्वका नौ जिल्लालाई ऐतिहासिक पृष्ठभूमिका आधारमा लिम्बुवान राज्य माग गर्दै आएको संघीय लिम्बुवान पार्टी नेपाल फुटाएर कमल छाराहाङले शनिबार नयाँ लिम्बुवान पार्टी घोषणा गरेका छन् । झापाको दमकमा कार्यक्रमको आयोजना गरी छाराहाङले आफ्नै नेतृत्वमा मुक्तिमोर्चा (संघीयवादी) पार्टी घोषणा गरेका हुन् । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

लिम्बुवान राज्यप्राप्तिका लागि शान्तिपूर्ण आन्दोलन गर्ने घोषणासँगै पूर्वमा लिम्बुवान राज्यको माग गर्ने पार्टी तीनवटा भएका छन् । छाराहाङले संघीय लिम्बुवान पार्टी नेपालको असोज ४ देखि ८ गतेसम्म दमकमा भएको पहिलो एकताको महाधिवेशनबाट असन्तुष्टि जनाउँदै पार्टी परित्यागको घोषणा गरेका थिए ।

संघीय लिम्बुवान पार्टी नेपाल आफ्नो ऐजेन्डा बिर्सिएर मधेसीसँग साँठगाँठमा लागेको र विधानविपरीत चलेको भन्दै उनले पार्टी परित्याग गरेका थिए । आफ्नो नयाँ पार्टीमा अन्य पार्टी तथा संघीय लिम्बुवान पार्टीमा असन्तुष्ट पक्षलाई समेत समावेश गर्ने उनको भनाइ छ । २०७१ साल असोज १९ गते धनकुटाको भेडेटारमा पाँच लिम्बुवानवादी दलबीच भएको एकतापछि लिम्बुवान तीनपटक फुटिसकेको छ ।