सुदूरका सरकारी स्वास्थ्य निकायमा सरकारले नि:शुल्क दिने औषधिमध्ये सिटामोल समेत अभाव देखिएको छ । सुगम र दुर्गम क्षेत्रका बिरामी सामान्य औषधि किन्न निजी औषधि पसल धाउन बाध्य छन् । स्वास्थ्य मन्त्रालयले बजेट निकासा गरे पनि सम्बन्धित जिल्लाले औषधि खरिद गर्न ढिलाइ गरेको पाइएको छ ।
बाजुरको टाँटे स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी दुई सातायता तनावमा छन् । दैनिक सय हाराहारी बिरामी आउने उक्त स्वास्थ्य चौकीमा नि:शुल्क घोषणा गरिएका ७० प्रकारका औषधि के सिटामोलसमेत पाइँदैन । ‘सिटामोलसमेत नभएर निजी मेडिकलमा किन्न पठाउँछांै,’ स्वास्थ्य चौकी इन्चार्ज दीपक शाहले भने ।
ग्रामीण क्षेत्रका सबैजसो स्वास्थ्यसंस्थामा औषधिको चर्काे अभाव छ । डोगडी स्वास्थ्य चौकीमा पनि सिटामोलसमेत छैन । गत महिना डोगडीमा पञ्जासमेत पखालेर पुन: प्रयोग गर्नुपर्ने बाध्यता रहेको खबर सार्वजनिक भएको थियो ।
बझाङका स्वास्थ्य संस्थामा पनि एक महिनायता औषधिको चरम अभाव छ । नि:शुल्क भनिएका औषधि नै किन्नुपर्ने बाध्यता आएको स्थानीय बताउँछन् । ‘स्वास्थ्यचौकीमा जाँच मात्र गर्छन्, औषधि मेडिकलबाट किनेर खानू भनेर लेखिदिन्छन्,’ मेलबिसौनाकी दुर्गा सिंहले भनिन्, ‘नि:शुल्क पाउने औषधि पनि महँगो तिरेर किन्नुपरेको छ ।’
जिल्लाका स्वास्थ्यसंस्थामा सिटामोलदेखि अत्यावश्यक एन्टिबायोटिक, मेट्रोनिडाजोल, डाइजिन पनि अभाव रहेको स्वास्थ्यकर्मी बताउँछन् । ठेकेदारहरूले समयमा आपूर्ति नगर्दा अभाव चर्किएको उनीहरूको भनाइ छ । स्वास्थ्यचौकीबाट वितरण गर्ने भनिएका ३५ प्रकारका औषधिमध्ये अधिकांश सकिएका छन् । ‘महिलाले प्रयोग गर्ने आइरन चक्की र परिवार नियोजनका अस्थायी साधनबाहेक सबै औषधि सकिएको छ,’ एक स्वास्थ्य चौकी इन्चार्जले भने ।
जिल्ला स्वास्थ्य कार्यालय बाजुराले कात्तिकयता ग्रामीण क्षेत्रका स्वास्थ्य केन्द्रमा औषधि पठाएको छैन । ‘कात्तिकदेखि औषधि गएको छैन,’ कार्यालयका स्टोरकिपर तेजबहादुर साउदले भने, ‘अब पठाउँछौं ।’ औषधि अभावबारे जिल्ला र चौकीका कर्मचारीबीच जुहारी चल्ने गरेको छ । जिल्लाले भने औषधि पर्याप्त रहेको दाबी गरिरहेको छ । ‘हामीले औषधि खरिद गरिसकेका छौं,’ स्टोर किपर साउदले भने । चौकी इन्चार्ज भने माग फारम भरेर पनि रित्तै फर्काएको गुनासो गर्छन् । शाह भन्छन्, ‘अघिल्लो साता औषधि छैन भनेर जिल्लाले रित्तै फर्कायो ।’
लुटिँदै विपन्न बिरामी
अधिकांश परिवार विपन्न रहेको बाजुराका बासिन्दा औषधि अभावका कारण उपचारमा समेत लुटिँदै छन् । जिल्ला अस्पताल र ग्रामीण क्षेत्रका स्वास्थ्यकर्मी संस्थामा औषधि नभएपछि बिरामीलाई निजी मेडिकल जान सिफारिस गर्छन् ।
ऋण–कर्जा गरी उपचार गर्नुपर्ने अवस्थाका बिरामीले निजी मेडिकलमा चर्को मूल्य तिर्नुपर्ने बाध्यता छ । सदरमुकाम मार्तडीदेखि ग्रामीण क्षेत्रका अधिकांश निजी मेडिकल सञ्चालकले मनपरी रकम असुल्ने गरेका छन् । उनीहरूले चिकित्सकको सिफारिसबाहेक चलाउन नपाइने औषधिसमेत जथाभावी बेचिरहेको पाइन्छ । यसले बिरामीको स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । पैसाकै लोभमा सामान्य अवस्थामा चलाउन नहुने सेफट्रयाकजोन लगायतका शक्तिशाली एन्टिबायोटिक औषधि निजी मेडिकलले जुनसुकै बिरामीलाई दिने गरेको स्वास्थ्यकर्मीले बताए । यो खबर आजको कान्तिपुरमा छ ।