New from Nepal

अनुमानभन्दा बढी निस्किए भूकम्प प्रभावित

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १७ जिल्लामा भूकम्प प्रभावितको लगत संकलन थालेसँगै अनुमान भन्दा बढी प्रभावित पाइएका छन् ।

गृह मन्त्रालयको आँकडाका आधारमा शुरुमा १७ जिल्लामा ८५ हजार घरमा क्षति पुगेको अनुमान गरिएको थियो । पछि प्राधिकरणले १ लाख २५ हजार अनुमान गरेकोमा हाल सर्वेक्षण गर्ने क्रममा १ लाख ९४ हजार पुग्ने देखिएको छ ।
अहिले भूकम्प प्रभावित जिल्ला धनकुटा, भोजपुर, खोटाङ, संखुवासभा, सोलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पाल्पा, बाग्लुङ, गुल्मी, पर्वत, म्याग्दी, अर्घाखाँची र नवलपरासीमा भूकम्प प्रभावितको अवस्था पत्ता लगाउन टोली खटिएको छ ।
पुसको पहिलो साताबाट सर्वेक्षण थालिएकोमा हालसम्म २३ हजार ४ सय ३४ घरको सर्वेक्षण सकिएको प्राधिकरणले जनाएको छ ।
सर्वेक्षण गर्न बाँकी १७ जिल्लामा यतिबेला ४ सय ५२ सर्वेक्षकहरु खटिएका छन् । जसमध्ये ७ जनाले भने बिचमै काम छोडेर भागेका छन् ।

सर्वेक्षणका लागि ४ सय ९३ इन्जिनियरहरुलाई तालिम दिइएको थियो । आइतबारदेखि तालिम लिएर बसेका थप १ सय सर्वेक्षकहरु १७ जिल्लामा जाने प्राधिकरणले जनाएको छ । तथ्याङ्क विभाग र शहरी विकास मन्त्रालयको सहकार्यमा सर्बेक्षण थालिएको हो ।
अर्घाखाँचीमा–१ हजार ७ सय ५९ ,बाग्लुङमा– ४ हजार ५६ , भोजपुरमा– १० हजार ४ सय २६, चितवनमा –१८ हजार ७ सय ४६, धनकुटामा– ५ हजार २ सय ६६, गुल्मीमा –७ हजार ४ सय ८८, कास्कीमा – ११ हजार ७ सय ४४, खोटाङ्मा –१३ हजार ७ सय ९९, लमजुङमा– २४ हजार ७ सय ८८, म्याग्दीमा– १ हजार ३ सय ८९, नवलपरासीमा –९ सय ८९, पाल्पामा –११ हजार ३ सय ४३, पर्वतमा–११ हजार ५ सय ४३, संखुवासभामा–८ हजार १ सय १७, सोलुखुम्बुमा–१८ हजार ३ सय ८४, स्याङ्जामा–१६ हजार ९ सय २१ र तनहुँमा–२७ हजार ६ सय ४६ घरको सर्वेक्षण थालिएको हो ।
सर्वेक्षण सकेपछि पहिलो किस्ताको रकम वितरण थालिने प्राधिकरणका सहप्रवक्ता डा. भीष्मकुमार भूसालले जानकारी दिए ।
सर्वेक्षणका लागि समयमा बजेट उपलब्ध नहुँदा कामले गति लिन नसकेको जनाइएको छ । यस्तै सर्वेक्षणमा गएका इन्जिनियरहरुको लोकसेवा आयोगमा परिक्षा परेका कारण पनि १७ जिल्लाको सर्वेक्षणमा ढिलाई भएको छ । कतिपय इन्जिनियरले बीचमै काम छोडेका कारण पनि सर्वेक्षणका लागि निर्धारित समय भन्दा बढी लाग्ने भएको प्राधिकरणले जनाएको छ ।