New from Nepal

सिके राउतका १५ कार्यकर्तालाई मध्यरातमा छाडियो

सि.के. राउतविरुद्ध राज्य विरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा चलाइएपछि हिजो उनको रिहाईको माग गर्दै लहानमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेका २१ जनामध्ये १५ जनालाई गएराती अबेर छाडिएको छ ।


इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक राजकुमार के.सी.ले शुक्रबार दिउँसो करिब साढे दुई बजेतिर पक्राउ परेका उनीहरुमध्ये १५ जनालाई छाडिएको बताए । बाँकी ६ जनालाई भने थप अनुसन्धानका लागि प्रहरी नियन्त्रणमै राखिएको जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक के.सी.ले प्रहरी नियन्त्रणमै रहेका ६ जना स्वतन्त्र मधेश गठबन्धनको सिरहा जिल्ला परिषद् सदस्य र सकृय सदस्य रहेको खुलेको बताए ।
राउत विरुद्ध इलाका प्रहरी कार्यालय लहानमार्फत् राज्य विरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा दायर गरी शुक्रबार दिउँसो सिरहा जिल्ला अदालतबाट अनुसन्धानका लागि १० दिनको म्याद थप गरिएको छ ।
बिहीबार दिउँसो धनुषाको जनकपुरबाट राउत पक्राउ परेका थिए ।