झलनाथका नजरमा ११ नेता, देउवालाई बुझ्नै गाह्रो, प्रचण्ड राष्ट्रियतामा कमजोर

२०७३ माघ २३ आइतवार
NewsDesk ShikharNews

पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनाल समकालीन शीर्ष नेतामध्ये गहिरो राजनीतिक विश्लेषण क्षमता भएका थोरैमा पर्छन् । सैद्धान्तिक रूपमा खारिएका र गीतसंगीतमा पनि रुचि राख्ने खनाल राजनीतिक संवादमा सक्रिय छन् । चार दशक लामो नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय खनालले समकालीन ११ नेताबारे गरेको टिप्पणी आजको नयाँ पत्रिकामा छ ।

प्रचण्ड : राष्ट्रियतामा कमजोर
पुष्पकमल दाहाल प्रचण्डले १० वर्ष यो देशमा सशस्त्र संघर्ष चलाउनुभयो । त्यो नेपालको इतिहासमा अभूतपूर्व नै हो । युद्ध, हिंसा व्यापक हुनु, ठूलो संख्यामा जनता मारिनु र ठूलो रक्तपात हुनुबाहेक त्यसबाट केही हुँदैन भन्ने कुरा बुझ्न उहाँलाई १० वर्ष लाग्यो । उहाँले आखिरमा कुरा बुझ्नुभयो ।

युद्धकालमा भारतको नयाँ दिल्लीमा उहाँसँग मेरो लामो वार्ता भएको थियो । हामीले पनि एक समय (२०२८ सालमा) युद्ध गरेका थियौँ । शान्तिपूर्ण ढंगले लोकतान्त्रिक धारमा आउने उहाँको अहिलेको प्रवृत्ति सकारात्मक हो । तर, अहिले राष्ट्रियताको सवालमा उहाँभित्र गम्भीर समस्या मैले देखिरहेको छु ।

ओली : पहिला कमजोर, अहिले सफल
केपी शर्मा ओली ले झापा संघर्षमा महत्वपूर्ण योगदान गर्नुभयो । त्यसपछि लामो समयावधिसम्म जेल बस्नुभयो । जेलबाट बाहिर आएपछि नेकपा एमालेको केन्द्रीय कमिटीको सदस्यका रूपमा उहाँले योगदान गर्दै आउनुभयो । पछिल्लो अवधिमा उहाँलाई अध्यक्ष बन्ने महत्वकांक्षा प्रबल भएपछि उहाँले समूह बनाउन थाल्नुभयो । पार्टीमा समूह बनाउने, गुट बनाउने, अलग ढंगले उहाँले काम गर्नुभयो । उहाँले यो राम्रो गर्नुभएन । यी उहाँका कमजोरी नै हुन् । अन्ततः नवौँ महाधिवेशनमा उहाँ अध्यक्षमा निर्वाचित हुनुभयो । त्यसपछि उहाँले राजनीतिक रूपले पार्टीलाई अगुवाइ गर्ने काम गर्नुभएको छ । सफलतापूर्वक नै गरिरहनुभएको छ ।

देउवा : बुझ्नै गाह्रो
शेरबहादुर देउवाका के–के गुण छन् र वैगुन छन् भन्ने कुरा बुझ्न नै गाह्रो छ । यति छिटोछिटो बोल्नुहुन्छ कि, उहाँको बोली नै बुझिँदैन । व्यक्तिगत रूपमा शेरबहादुरजीसँग मेरो राम्रो सम्बन्ध छ । उहाँलाई म सम्मान पनि गर्छु । तर, नेपाली कांग्रेसलाई राष्ट्रियताको पक्षमा दह्रो बनाउनुस्, देशभक्त पार्टीको रूपमा विकास गर्न सक्नुस्, समाजवादी पार्टीको रूपमा विकास गर्न सक्नुस्, त्यसका निम्ति मेरो शुभकामना छ ।

नेपाल : सैद्धान्तिक गहिराइको कमी
उहाँको राजनीतिक जीवन पनि म सफल जीवन देख्छु । उहाँले कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने कुरामा महत्वपूर्ण योगदान गर्नुभएको छ । समग्रमा उहाँको वैचारिक, राजनीतिक पक्षहरू ठिकै छन् । एउटा अवधिभरि पार्टीलाई हाँकेर आउनुभएको छ । तर, सैद्धान्तिक पक्षमा उहाँको त्यति गहिराइ देखिँदैन ।

डा. भट्टराई : अस्थिर तर महत्वाकांक्षी
डा. बाबुराम भट्टराईमा बौद्धिकता छ । तर, त्यो बौद्धिकता र विद्धतालाई उहाँले सही रूपमा प्रयोग गर्न सक्नुभएन । अहिले उहाँले निर्माण गरेको नयाँ शक्ति भनेको उहाँको दिमागमा भएको ठूलो अलमलको परिणाम हो । उहाँको राजनीतिक जीवन खतरामा परेको देख्छु । अगाडि बढ्ने महत्वाकांक्षा उहाँको ठूलो छ । तर, उहाँले आफ्नै खुट्टा भासतिर फसाएजस्तो देख्छु ।

पौडेल : महत्वाकांक्षी तर कमजोर आधार
रामचन्द्र पौडेल अलि महत्वकांक्षी हुनुहुन्छ । महत्वाकांक्षा पूर्ति गर्नका लागि आवश्यक आधार भने तयार गर्न सक्नुहुन्न । उहाँ १७ पटक प्रधानमन्त्रीका लागि निर्वाचनमा भिड्नुभयो तर असफल हुनुभयो । अहिले पनि प्रधानमन्त्री बन्ने इच्छा उहाँमा प्रबल छ । तर, परिस्थितिले उहाँलाई त्यो पदबाट सम्मानित गर्छजस्तो मलाई लाग्दैन । किनभने नेपाली कांग्रेसमा अलि भिन्नै परिस्थिति विकसित भएर आएको छ ।अब देउवाजीको कार्यकालभरि उहाँले त्यो चान्स पाउनुहोलाजस्तो देखिँदैन ।

वैद्य : दर्शन र संस्कृतिमा अगाडि
मोहन वैद्य राष्ट्रवादी चिन्तन भएको माक्र्सवादी नेता हुनुहुन्छ । उहाँले राजनीतिमा भन्दा पनि दर्शन संस्कृतिमा अलि बढी दख्खल राखेजस्तो मलाई लाग्छ । दर्शन र संस्कृतिको क्षेत्रमा लेखनकार्य मात्रै पनि अलिक बढी गर्नुभयो भने त्यो नेपालको कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलनका लागि योगदान हुन सक्छ । तर, राजनीतिक चिन्तनचाहिँ उग्रवामपन्थी भड्काउले ग्रस्त छ ।

ठाकुर : इमानदार तर सधैँ भावुक
महन्थ ठाकुर एकदमै भावनात्मक हुनुहुन्छ । धेरै बोल्नुहुन्न, बोल्दा भावनात्मक कुरा गर्नुहुन्छ । तर, उहाँको दृष्टिकोणमा भयावह किसिमका गलत धारणा जमेका छन् । सिंगो मधेसलाई एक राष्ट्र अनि पहाडलाई अर्को राष्ट्रका रूपमा देख्ने, देशलाई दुई राष्ट्रमा विभाजित गरिएको दृष्टिकोण उहाँले बोक्नुभएको छ । यो उहाँको राजनीतिक जीवनकै निम्ति अत्यन्त अनुत्पादक र घातक विचार हो ।

थापा : देशलाई माया गर्ने दक्षिणपन्थी
कमल थापा पूर्वपञ्चहरूभित्रको एउटा प्रखर नेता हो । उहाँमा राष्ट्रवादी भावना छ । तर, उहाँ नेपाली जनतामा भएको हिन्दू धर्मप्रतिको आस्था र राजतन्त्रको हतियार लिएर नेपालमा राजनीति गर्न तम्सिनुभएको छ । यी दुईवटै आधुनिक समाजका प्रबल हतियार होइनन् । राजतन्त्र नेपालको इतिहासमा कालातीत भइसकेको विषय हो । उहाँले राजतन्त्रको हतियारसमेत समाउनुभएको छ ।

बिजुक्छे : भक्तपुरमा वर्चस्व
नारायणमान बिजुक्छेले ठूलो पार्टी बनाउन नसके पनि कमसेकम नेमकिपा निर्माण गरेर भक्तपुरमा काम गर्नुभएको छ । एउटा राजनीतिक आधार बनाएर लाग्नुभएको छ । त्यो विस्तार गरेर देशभरि फैलिन कहिल्यै पनि सक्दैन । तर, पनि भक्तपुरमा रोहितजी हुन्जेल नेमकिपाको राम्रै वर्चस्व हुने देख्छु म ।

सिंह : पुरानै अडान राख्ने आदरणीय पात्र
मोहनविक्रम सिंह आफ्नो अडानमा दृढ भएर बसिरहने नेता हुनुहुन्छ । समाज, देश, दुनियाँ बदलिइसक्यो, तर उहाँ पुरानै अडानमा बसिरहनुहुन्छ । उहाँले नेतृत्व गरेको धार विकसित हुन, विस्तृत हुन, फैलिन र सफल हुन कहिल्यै सकेन । उहाँले नेतृत्व गरेको कम्युनिस्ट पार्टी ३० को दशकमा सबैभन्दा ठूलो थियो । तर, त्यसलाई एकताबद्ध बनाएर राखिरहन उहाँले सक्नुभएन । नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न योगदान गर्नुभए धेरै राम्रो हुने थियो ।