New from Nepal

प्रजातन्त्र दिवसलाई लक्षित गरेर ‘मेरो देश’ प्रदर्शनमा

प्रजातन्त्र दिवसलाई लक्षित गरेर  प्रदर्शनमा आउनलागेको  फिल्म ‘मेरो देश’  टिमले मंगलबार प्रेसमिट गर्दै फिल्मबारे थप जानकारी दिएको छ । निर्देशक देब नेपाल, नायक आयुष रिजाल र नायिका निशा अधिकारीले फिल्मबारे आ आफ्नो भनाई राखे । निर्देशक नेपालले भने, ‘मेरो देशमा भ्रष्ट, अपारदर्शी राजनीतिका कारण देश र जनताले भोगिरहेका प्रतिनिधिमुलक समस्याहरु केलाएउने प्रयास गरेका छौं । दिन दुगुना रात चौगुना रुपमा मौलाई रहेको भ्रष्टचार र अपारदर्शीतालाई न्युनिकरण गरी देशलाई समुन्नतीको दिशातर्फ लैजान आजका शिक्षित युवाहरुको प्रयास र आधुनिक प्रबिधिको प्रयोगलाई फिल्मले मुख्य बिषय बनाएका छौं ।’

यस्तै अधिकारीले फिल्मबारे भनिन्, ‘मेरो देशमा हाम्रै देश भित्रको कथा छ । देश भित्रको समस्यालाई उजागर गर्न खोजिएको छ ।’ आफुले अहिलेसम्म गरेका फिल्महरु भन्दा ‘मेरो देश’ फरक खाले फिल्म रहेको निशाले बताइन् । सञ्चारकर्मीको भूमिका निभाएका नायक आयुष रिजालले पनि ‘मेरो देश’ ले देशको समस्यालाई उजागर गर्ने बताए । उनले भने, ‘पत्रकार भएर समस्यासँग जुधेको छ । मैंले पत्रकारिता गरेकाले पनि फिल्ममा काम गर्न सहज भयो ।’

फिल्मका निर्माता उदय सापकोटा सुरेनले फिल्म ‘मेरो देश’ सरल र सहज तरिकाले आम नेपालीको माया पिरतीको कथा समेटेर बनाएको बताए । राजनीतिमा आफुले भोगेका समस्याहरुलाई फिल्म मार्फत दर्शकहरुलाई जानकार गराउन आफुले लगानी गरेको समेत निर्माता सापकोटाले बताए । फिल्ममा प्रभाकर सापकोटा र पार्वती मैनालीको पनि लगानी रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथी चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले फिल्म ‘मेरो देश’ टाईटल जस्तै राष्ट्टियताको बिषयमा बनेको आभास गरेको बताए । देब नेपालकै लेखन् निर्देशन फिल्म ‘मेरो देश’ निशा र आयुषसँगै प्रज्वल गिरी, निर शाह, धु्रब कोईरालासँगै पुष्पा पाण्डे, एकराज थापा, कृष्ण सिबाकोटी, किशोर झा, एमीश्री, दिपा थापा, एलिजा प्रधान लगायतका कलाकारहरुले अभिनय गरेका छन । विवि अनुरागीको संगीत, रामजी लामिछाने र एलिजा प्रधानको कोरीयोग्राफी, राजु किरातको द्धन्द्ध, किरणराज थापाको समपादन रहेको छ ।