New from Nepal

पोल गाडेको चारवर्ष बित्दा पनि बिजुली आएन

कञ्चनपुरको शङ्करपुर–३ कञ्जमा पोल गाडिएको चारवर्ष बिते पनि अझैसम्म विद्युत् सेवा सञ्चालन हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरण वितरण शाखा कार्यालय महेन्द्रनगरले पोल गाडेको र तार तानेको भएपनि विद्युत् सेवा सञ्चालन नगर्दा यहाँका सातसय परिवार मार्कामा परेका हुन् ।

स्थानीय बासिन्दा भन्छन “पटकपटक प्राधिकरणको कार्यालयलाई विद्युत् सेवा सञ्चालन गरिदिन भन्दै आएका छौँ”“अझैसम्म विद्युत् सञ्चालन हुने टुङ्गो छैन । ट्रान्सफर्मर आज ल्याउछौँ, भोलि ल्याउँछौँ भन्छन् कहिले आउने हो ।

विद्युत् सेवा नभएपछि यस क्षेत्रका बासिन्दाले अँध्यारोमै रात काट्नुपर्ने अवस्था रहेको छ । विद्युत् नहुँदा टुकी बालेर रातिका बेला उज्यालो गर्नुपर्ने भएकाले विद्यालय पढ्ने बालबालिका र गृहिणीमा श्वासप्रश्वासको समस्या देखापरेको लालसिंह रानाले बताए ।

दोदा नदीको बाढीले नौ वर्षअघि विस्थापनमा पारेपछि यस क्षेत्रका बासिन्दा यहाँ बस्दै आएका छन् । विद्युत् नहुँदा खेतमा सिँचाइ गर्न नसक्दा अन्नबाली र तरकारी बालीको उत्पादन सन्तोषजनक नहुने गरेको स्थानीयवासीको भनाइ छ ।