New from Nepal

प्रतिवेदनमाथिको छलफलमा एमालेका सांसद आएनन्

स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनका गुनासा अध्ययन गरी सरकारलाई सुझाव पेस गर्न गठित समितिले सोमबार सिरहा जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेको छ ।

सिंहरबारस्थित सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा भएको उक्त छलफलमा स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनको सम्बन्धमा जिल्लामा देखिएको गुनासो हल गर्ने बारेमा कुराकानी भएको थियो । छलफलमा सहभागीले सिरहामा केही मात्रामा स्थानीय तहको सङ्ख्या थप गरेर भए पनि गुनासो समाधान गर्नुपर्ने बताएका थिए ।

छलफलपछि समितिका संयोजक एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले स्थानीय तह पुनःसंरचनाबारे जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै दलका सांसदसँग छलफल गरेर सुझाव दिन आग्रह गरिएको बताए ।

प्रतिवेदनको सम्बन्धमा प्राप्त गुनासो अध्ययन गर्न गठित समितिले जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै दलका सांसद्लाई छलफलका लागि खबर गरे पनि प्रमुख प्रतिपक्षी र सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चाका सांसद् भने उपस्थित भएनन् ।

समितिले सम्बन्धित पार्टीका प्रमुख सचेतकमार्फत सबै सांसदलाई छलफलमा सहभागी हुन आग्रह गरेको थियो । समितिले आजै धनुषा र महोत्तरी जिल्लाका सांसद्सँग छलफल गर्दैछ ।