साझा यातायातले रात्रिकालीन बस सेवा थालेको छ । मंगलबार रातिदेखि साझाले ५ वटा रुटमा राति साढे ८ देखि ११ बजेसम्म रात्रीकालीन सेवा दिन सुरु गरेको हो ।
रातिको समयमा यात्रुहरुलाई पर्ने गरेको अप्ठेरोलाई ध्यानमा राखेर रात्री बस सेवा सुरु गरिएको हो । अस्पतालका कुरुवा, ढिलासम्म काममा रहने कामदार तथा बसपार्कमा राति आइपुग्ने यात्रुलाई लक्षित गरेर ५ वटा रुटमा सेवा थालिएको छ ।
साझाले ५ वटामध्ये एउटा रुट अस्पतालका बिरामी र तिनका कुरुवालाई लक्षित गरेको छ । पाटन अस्पतालबाट छुट्ने बस त्रिपुरेश्वर आँखा अस्पताल हुँदै बीर अस्पताल, त्रिबि टिचिङ अस्पताल, गंगालाल हृदयरोग केन्द्र हुँदै न्युरो अस्पतालसम्म पुग्नेछ र सोही रुट भएर फर्किनेछ ।
यसैगरी न्युरोडगेटबाटै सिंहदरबार-बानेशर तीनकुनेहुँदै एयरपोर्ट, गौशाला चाबहिल हुँदै जोरपाटी पुग्नेछ र त्यही बाटो भएर फर्किनेछ ।
यसैगरी साझाले न्युरोडगेटबाट नयाँ बनेश्वर कोटेश्वर रुपटमा पनि अर्को बस चलाउनेछ । साढे ११ बजेसम्म यो रुटमा साझा बस आउ-जाउ गर्नेछ ।
यसैगरी न्यरोडगेटबाटै त्रिपुरेश्वर-कालीमाटी-कलंकी रुटमा पनि राति ११ बसेजम्म सझाले सेवा दिनेछ । बायुसेवा निगम अगाडिबाटै ठमेल, सोह्रखुटे, नयाँ बसपार्कसम्म अर्को बस चल्नेछ । यही सबै रुटबाट गएका बस सोही बाटो भएर फर्किनेछ ।
साझाको रात्रीकालीन बसको भाडा दर २५ रुपैयाँ तय गरिएको छ । जहाँबाट चढेर जहाँ झर्दा पनि २५ रुपैयाँ भाडा कायम गरिएको हो ।
सुरक्षाका लागि बसमा सिसी क्यामेराको निगरानी रहने छ ।