New from Nepal

गोलभेडाको दाम झर्यो २ रुपैयामा

सर्लाही –

यहाँका किसानले गोलभेडा प्रतिकिलो २ रुपैयाँमा बिक्री गर्न थालेका छन् । भारतीय गोलभेडा भित्रिएपछि स्थानीय उत्पादनले भाउ नपाएको हो ।

एक दशकयताकै सस्तो मूल्यमा किसानले यस वर्ष गोलभेडा बेचेका छन् । खर्चिलो र निकै मिहिनेतले उत्पादन हुने गोलभेडा बेचेर लागतसमेत उठाउन नसकेको किसानको गुनासो छ । किसान भन्छन “गोलभेडा बेचेर टिप्ने र ढुवानी गर्ने खर्चसमेत पुग्दैन । खेतमै जानु बेकार भइसक्यो, टिप्ने र ढुवानी गर्नेलाई दिन पनि पुग्दैन । यस वर्ष सुरुदेखि नै गोलभेडाले भाउ पाएन । रोप्ने बेला असोजमा पानी परेर यस वर्ष उत्पादन नै ढिला भएको थियो ।

भारतीय गोलभेडा बजारमा आएपछि स्थानीय उत्पादन सुरुदेखि नै सस्तो हुन पुगेको उनले बताए । किलोको ५० रुपैयाँसम्म सजिलै बिक्री हुने गोलभेडा सस्तिएर किलोको २ रुपैयाँमा झरेको छ । सर्लाहीबाट दैनिक १ लाख किलोभन्दा बढी गोलभेडा काठमाडौं लगायतका ठूला सहरमा पुग्छ ।

गोलभेडाको भाउ घट्दा किसानलाई दैनिक लाखौं घाटा हुन्छ । ‘किलोमा एक रुपैयाँ घट्दा पनि किसानलाई  पाउने रकममा १ लाख घाटा हुन्छ,। हजारौं किसानको रोजीरोटी र जीवनसँग जोडिएको खेती हो । उल्टै घाटा खाएपछि त किसान टाट पल्टिने अवस्था आयो । गोलभेडाका ब्यापारी भन्छन  । “भारतीय उत्पादन भित्रिएका कारण नै यस वर्ष भाउ बिग्रिएर किसानलाई घाटा भएको हो । ‘भारतीय गोलभेडाले नै बजारमा भाउ घटायो। यस वर्ष किसानलाई गोलभेडा खेतीबाट निराशा मात्र हात लाग्यो । लगातार भाउ घटेकाले व्यापारी पनि घाटामा परे ।”

सिँचाइ सुविधा नभए पनि जिल्लाका उत्तरी भेगमा ठूलो परिमाणमा गोलभेडा खेती हुन्छ । गोलभेडा खेतीले किसानको जीवनस्तर उकासेको थियो । यस वर्ष भाउ घटेपछि किसानले ठूलो नोक्सानी बेहोर्नुपरेको छ ।