New from Nepal

अवैधरुपमा लैजाँदै गरेको जडीबुटीसहित व्यापारी पक्राउ

अवैध रूपमा बिक्रीका लागि लैजाँदै गरेको दुई हजार किलो जडीबुटीसहित प्रहरीले तीन व्यापारीलाई पक्राउ गरेको छ ।

जिल्ला वन कार्यालयको छुट पुँर्जीबिना चोरी निकासी हुन लागेको चार ट्र्याक्टर जडीबुटीसहित हुम्ला, साँया–१ का जगत फडेरा, रोडीकोट–४ का मङ्गल बुढा र ८ का सन्तोष खत्री पक्राउ पर्नुका साथै उनीहरुको साथमा रहेको दुई हजार किलो तेजपात र २०० किलो पाखनबेद रग्दाको चौखा बजारबाट बरामद भएको हो ।

पक्राउ परेका व्यापारीलाई हिरासतमा राखेर अनुसन्धान गरिएको र अनुसन्धानपछि वन ऐनअनुसार कारबाहीको प्रक्रिया अघि बढाइने जिल्ला वन कार्यालयले जनाएको छ ।

स्रोत साधन तथा जनशक्ति अभावमा जडीबुटी चोरी निकासी नियन्त्रण गर्न कठिन भएकोे जिल्ला वन अधिकृत उपेन्द्रप्रसाद पटेलले बताउनुभयो । चोरी निकासी हुने नाकामा पुग्न ३,४ दिन लाग्ने र नजिकमा रेन्ज पोस्ट पनि नहुँदा थप समस्या भएको उहाँको भनाइ छ ।