New from Nepal

क्यान्सर पीडितलाई रु दुई लाख सहयोग

रक्त क्यान्सरबाट पीडित चितवनको रत्ननगर नगरपालिका वडा नम्बर–१३ जयमङ्गलाकी रश्मी पाण्डे खनालको उपचारका लागि यहाँ करिब रु दुई लाख सहयोग हस्तान्तरण गरिएको छ ।

उनका परिवारले उपचारका लागि सहयोगको अपिल गरेपछि मंगलबार नेकपा माओवादी केन्द्र रत्ननगरले रु १ लाख ३२ हजार रुपैयाँ सहयोग गरेको हो ।

माओवादी केन्द्रले रत्ननगर नगरपालिकाको वडा नम्बर ९ र १३ का आफ्ना कार्यकर्तासँग उठाएर रु १ लाख ३२ हजार ५५० क्यान्सरपीडित खनालको उपचारका लागि सहयोग गरेको हो ।

नेकपा (माओवादी केन्द्र) रत्ननगरका सहइन्चार्ज राजु अम्गार्इंले सो रकम बैकमा जम्मा गरी रश्मीका बुबा नारायणप्रसाद खनाललाई भौचर हस्तान्तरण गरे ।

रश्मीको उपचारका लागि रत्ननगरका व्यवसायी राजाराम रेग्मी र इन्द्रवहादुर श्रेष्ठको नेतृत्वमा आर्थिक सङ्कलन गरेर रु ४२ हजारसमेत सहयोग गरिएको थियो ।

उनको उपचारका लागि सहयोगको अपिल गर्दै परिवारले हिमालयन बैंकमा खाता खोलेका छन् । घरको आर्थिक अवस्था कमजोर भएकाले परिवारबाट उपचार सम्भव नभएपछि आर्थिक सङ्कलन गरेर हस्तान्तरण गरिएको हो ।

रश्मीका बुबा नारायण खनालले आफ्नी छोरीको उपचारमा सहयोग गरिदिन सबैलाई आग्रह गरे ।

रश्मीको बोनम्यारो प्रत्यारोपणका लागि झन्डै रु ५० लाख रकम लाग्ने चिकित्सकले बताएको उनका बुबा नारायणले जानकारी दिए ।

तीस वर्षीया रश्मीको हाल भारतको नयाँदिल्ली स्थित बी एल के स्पेसलिष्ट सिटी अस्पतालमा उपचार भैरहेको छ । चितवन र काठमाडौँमा उपचार सम्भव नभएपछि उनलाई भारत लगिएको हो । गएको मङ्सिरमा उनलाई रक्त क्यान्सर भएको पत्ता लागेको थियो ।