New from Nepal

तिवारी हत्याकाण्डका अभियुक्त शुक्रवार नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने

रुपन्देहीमा भएका गोलीकाण्डका दुई घटनामा संलग्न अभियुक्तहरुलाई प्रहरीले एकसाथ सार्वजनिक गर्न लागेको छ ।

गत पुस ४ गते नेकपा एमाले सम्वद्ध युवा संघ नेपाल रूपन्देहीका कार्यबाहक अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरिएको थियो ।


त्यसअघि मंसिर २१ गते सिद्धार्थनगर नगरपालिका ६ गल्लामण्डीस्थित आफ्नै निवासमा बसिरहेका अवस्थमा सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेलाई लक्षित गरी गोली प्रहार भएको थियो तर उनलाई गोली लागेको थिएन ।

छुट्टाछुटै दुई घटनामा संग्लन रहेको आरोपमा पक्राउ परेका व्यक्तिहरुलाई सार्वजनिक गर्न लगिएको प्रहरी स्रोतले बताएको छ ।

‘घटनामा प्राप्त सफलता र पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गर्न लागिएको छ । तर, दुईवटै घटनाका थप केही अभियुक्तहरु मात्र पक्राउ पर्न बाँकी छन्,’ उच्च प्रहरी स्रोतले अनलाइनखबरसँग भन्यो, ‘सार्वजनिक गर्ने पुरा तयारी भइसकेको छ सम्भवतः भोलि शुक्रवार नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने छ । नभए एक-दुई दिन भित्रै नै सार्वजनिक गरिने छ ।’

तिवारी हत्याकाण्डको मुख्य आरोपी बताइने मनोज पुन अझै पक्राउ परेका छैनन् । प्रहरीलाई प्राप्त जानकारी अनुसार उनी भारतमै बसेर रुपन्देहीका उद्योगीहरुसँग रकम असुल गरिरहेका छन् ।

घटना भएको करिब तीन महिना बित्न लागिसक्दा समेत प्रहरीले मुख्य अभियुक्तहरुलाई सार्वजनिक गर्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।