१ सय ७ औं नारी दिवस, विविध कार्यक्रम गरेर मनाइँदै;

२०७३ फागुन २५ बुधवार
Shikhar News

२५ फागुन, काठमाडौं । आज १ सय ७ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदै छ । ‘महिला सम्मानको आधार, सीपयुक्त हात र स्वरोजगार’ भन्ने मूलनाराका साथ श्रमिक महिला दिवस मनाउन लागिएको हो ।

हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने थालिएको हो ।

 

यसरी मनाउन थालियो श्रमिक महिला दिवस

सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेटि्कन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको शिकागो सहरमा महिलाहरूले समान अधिकारको माग लिएर महिलाहरूले हड्ताल र विशाल जुलुश प्रदर्शन गरे ।

महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई महत्वपूर्ण दिनमा रुपमा मान्ने गरिएको छ ।

क्लारा जेटि्कन सन् १९१० मा कोपेनहेगेनमा महिलाहरूको द्वीतीय अन्तर्राष्ट्रिय सम्मेलनमा जर्मनी मार्क्सवादी नेतृ क्लारा जेटि्कनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव राखिन् र त्यो प्रस्ताव पारित भएपछि सन् १९११ देखि विश्वभरिका महिलाहरूले ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको रूपमा मनाउन थालेका हुन् ।