‘रणभूमि’ बन्यो भरतपुर मतगणनास्थल : मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना अनिश्चित कालसम्म स्थगित !
भरतपुर महानगरपालिकाको मतगणनामा अहिले तनाव सिर्जना भएको छ । माओवादीले मतपत्र च्यातेपछि तनाव सिर्जना भएको हो ।
भरतपुर महानगरपालिकाको जारी मतगणना क्रममा मध्यरातमा माओवादी प्रतिनिधिहरूले मतपत्र च्यातेर अवरोध खडा गरेका छन्।
मतगणनाको अन्तिम चरणमा पुगिसक्दा पनि माओवादी केन्द्र तथा नेपाली कांग्रेसकी साझा उम्मेदवार रेणु दाहालले नेकपा एमालेका देवी ज्ञवालीसँगको प्रतिस्पर्धामा मतअन्तर सोचेजस्तो घटाउन नसकेपछि माओवादी कार्यकर्ताहरू हुलदंगामा ओर्लिएका हुन्। गणनास्थलमा सहभागी माओवादी प्रतिनिधिहरूले नै मतपत्र च्यातेर अवरोध खडा गरेको अन्य दलका प्रतिनिधिले जानकारी दिए। मतपत्र च्यात्ने केही माओवादी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
एमाले र माओवादी-काँग्रेस गठबन्धनका कार्यकर्ताबीच तनाव सिर्जना भएपछि प्रहरीलाई स्थिति सम्हाल्नहम्मे हम्मे परेको छ । प्रहरीले मतगणनास्थलमा लाठीचार्ज समेत गरेको छ ।
दुई वटा वडा १९ र २० को मात्रै गणना बाँकी रहेको थियो। १९ वडाको ७५ प्रतिशत जति मत गणना भइसक्दा मेयरमा एमालेका देवी ज्ञवालीसँगको मतअन्तर माओवादी-कांग्रेस गठबन्धनकी साझा उम्मेदवार रेणु दाहालले घटाउँदै लगे पनि करिब ७ सयको मतान्तर कायम रहेको अवस्थामा विवाद भएको थियो। विवादकै क्रममा मतपत्र च्यातिएको थियो।
ज्ञवालीले मतगणना भइरहेको बेलामा मतपरिणाम एमालेको पक्षमा आइरहेको अवस्थामा माओवादी केन्द्रका एजेन्ट प्रकाश कँडेल, दीलिप, मधु न्यौपाने लगायतका व्यक्तिहरुले मतपत्र च्यातेको आरोप लगाए। ‘सुनियोजित ढंगले मतपत्र च्यात्न लगाइयो’, उनले भने, ‘निर्वाचनमा हार हुँदै गएपछि मतपत्र च्यात्न लगाएर लोकतान्त्रिक अभ्यास र प्रणालीलाई तोड्ने एउटा दुःखद, घृणास्पद र लज्जास्पद क्रियाकलाप सत्तारुढ पार्टीका कार्यकर्ताद्वारा हुन गएको छ।’
अहिले मतपत्र सशस्त्र प्रहरीको घेराबन्दीमा छ ।
वडा नम्बर १९ को जारी मतगणनामा कम भोट आएको भन्दै माओवादीले मतपत्र च्यातेको मतगणनास्थलमा रहेका प्रेस चौतारी चितवनका अध्यक्ष तीर्थ नेपालले जानकारी दिए ।
यसअघिदेखि नै माओवादीले बबाल गर्ने संकेत देखिएपछि एमालेले आफ्ना कार्यकर्ताहरुलाई सजग गराएको थियो । अहिले मतगणना स्थगित भएको छ ।
Leave a Reply