भरतपुरमा के हुन्छ ? आज निर्णय हुँदै, यस्तो छ /

२०७४ जेठ १९ शुक्रवार
Shikhar News

चितवन, जेठ १९ – निर्वाचन आयोगले चितवनको भरतपुर महानगरपालिकाको मतगणनाका विषयमा शुक्रबार निर्णय गर्ने भएको छ । मतगणनाका क्रममा मतपत्र च्यातिएपछि मतगणना स्थगित भएकोमा शुक्रबार छलफल गरेर निर्णय गरिने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभएको छ । मतपत्र च्यातिएपछि रोकिएको मतगणा फेरि सुरु गर्नु पर्ने माग गर्दै एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ भने सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले फेरि मतदान गर्नुपर्ने माग गरेका छन् ।

पहिलो चरणको निर्वाचनअन्तर्गत मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको एक मात्र स्थानीय तह भरतपुर महानगरपालिका हो । गएको १४ गते मध्यरात मतगणनाको क्रममा माओवादीका कार्यकर्ताले मतपत्र च्यातेपछि गणना कार्य स्थगित भएको थियो । नोक्सान पुगेका मतपत्रको संख्या यकिन गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि बिहीबार प्रमुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको नेतृत्वमा उम्मेदवारका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखको उपस्थितिमा शिलबन्दी खोली विवरण पठाइसकेको छ ।

९० मतपत्र नोक्सानी, अरु सुरक्षित

भरतपुर महानगरपालिका मतगणनाका क्रममा भएको घटनामा ९० मतपत्र नोक्सानी भएको पाइएको छ । निर्वाचन आयोगले नोक्सान भएको मतपत्र गन्न निर्देशन दिएपछि उम्मेदवारहरुको रोहवरमा बिहीबार नोक्सान भएको मतपत्र छुट्याइएको थियो ।

जिल्लामा रहेका राजनीतिक दल, दलका उम्मेद्वारहरुको रोहवरमा शिलबन्दी खोलि छुट्याइएको थियो । भरतपुर महानगरपालिका वडा नं. १९ मा जम्मा २ हजार ८ सय ९७ मत खसेको थियो । यसअघि एक हजार ८ सय ९ मत गणना भइसकेको थियो । त्यस वडामा खसेको मतमा गणना हुन बाँकी रहेको मतमा ९ सय ९८ मत सुरक्षित रहेको र ९० मत नोक्सानी पुगेको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बताउनुभयो ।

आयोगले दिएको निर्देशन अनुसार मतपत्र हेरी नोक्सानी भएको र सुरक्षित भएको मतपत्रको विवरण पठाएको जानकारी दिँदै न्यौपानेले बिहीबार नै मुचुल्का उठाई त्यसको विवरण समेत आयोगमा पठाइसकिएको जानकारी दिनुभयो ।

दलहरूका अडान

नेकपा एमाले चितवनले पत्रकार सम्मेलन गरी मतपत्र च्यात्ने दोषी माथि कारबाही गरी रोकिएको मतगणना कार्य तत्काल सुरु गर्न माग गरेको छ । तत्काल मतगणना गर्न निर्वाचन आयोग समक्ष माग राखिएको बताउँदै अध्यक्ष पोखरेलले च्यातिएको मतपत्र अलग राखी बाँकी मतपत्रहरु तत्काल गणना हुनुपर्ने बताउनुभयो ।

नेकपा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले नोक्सानी भएका मतपत्रलाई वदरमत मानेर मतगणनाको विकल्प नभएको बताउनुभयो । निर्वाचनमा कम मत आउँदा च्यात्दै जाने र पुनः मतदान गर्दै जाने गर्दा गलत नजिर बस्ने उहाँले बताउनुभयो । जित र हारको सवाल नभएको बताउँदै अध्यक्ष पोखरेलले लोकतन्त्रमा नागरिकको अभिमत स्वीकार गर्ने संस्कार विकासका लगि पनि मतगणना आवश्यक रहेको बताउनुभयो ।

नेपाली कांग्रेस चितवनले निर्वाचन आयोगमा मतगणना प्रक्रिया व्यवस्थित गर्न पटकपटक आग्रह गर्दासमेत व्यवस्थित नगरिएको कारण घटना घटेको जनाएको छ । घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न र च्यातिएको केन्द्रको मतदान पुनः गर्न कांग्रेसले माग गरेको छ ।

मतपत्र छुट्याउन संलग्न नेपाली कांग्रेसकी उपमेयरकी उम्मेदवार पार्वती शाहले च्यातिएको ९० मतपत्र गन्न सक्ने अवस्थामा नरहेको बताउनुभएको छ । च्यातिएका मतपत्रहरु गन्न मिल्ने अवस्थामा नरहेको बताउँदै शाहले एक मतले पनि हार जित हुने भएकाले पुनः मतदान गर्नुपर्ने बताउनुभयो ।

नेकपा माओवादी केन्द्र चितवनले मत अन्तर ३९ सय बाट घटेर माओवादी उम्मेदवार जिततर्फ उन्मुख भएका बेला एमालेले मतपत्र च्यातेको आरोप लगाएको छ । नेकपा माओवादी केन्द्रले पनि स्थानीय तह ऐन २०७३ को दफा ४९ र ५० बम्मोजिम सम्बन्धित केन्द्रमा तत्काल पुनः मतदान हुनुपर्ने माग गरेको छ ।

आयोगले दिएको निर्देशनमा सबै मत गणना गर्न मिल्ने हो या होइन भन्ने बिषयमा एकीन गर्ने निर्देशन थिएन । छुट्याएर बसेका पार्टीका प्रतिनिधिहरुमध्ये साना पार्टीका प्रतिनिधिहरुले गणना गर्ने हो भने आधा भन्दा धेरै मत गन्न सकिने बताएका छन् ।

अन्तिम परिणाम यस्तो थियो

वडा नम्बर १९ को मतगणना भइरहेका बेला मतपत्र च्यातेपछि मतगणना रोकिएको थियो । वडा नम्बर २१ को मतगणना सकिएपछि १९ र २० को गरेर ६ हजार १ सय ६२ मत गन्न बाँकी थियो । त्यसबेला एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्र र कांग्रेस गठबन्धनकी रेणु दाहाल भन्दा ७ सय ८४ मतले अघि हुनुहुन्थ्यो ।

त्यसपछि वडा नम्बर १९ को मत गन्न सुरु गरिएको थियो । वडा नम्बर १९ को २८ सय ६० मत खसेकोमा १८ सय ९ मत गनेर मतपरिणाम अपडेट गर्दा ज्ञवालीको ४१ हजार ६ सय ४१ र दाहालको ४० हजार ९ सय ८ मत आएको थियो । यसबेलासम्म ज्ञवालीको अग्रता ७ सय ३३ थियो ।

अब के हुन्छ ? यस्तो छ कानुनी व्यवस्था

निर्वाचन ऐनमा भने यस्तो अवस्थामा पुनः मतदान गर्नुपर्ने उल्लेख छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ ले मतपत्र च्यातिएको अवस्थामा पुनः मतदान गर्नुपर्ने कानुनी व्यवस्था गरेको हो ।

निर्वाचन ऐन दफा ४९ को (१) मा भनिएको छ, ‘मतगणना पूरा हुनुभन्दा पहिले कुनै मतदान केन्द्रमा प्रयोग गरिएको मतपत्र, मतपत्र रहेको मतपेटिका निर्वाचन अधिकृतको नियन्त्रणबाट गैरकानुनी तवरले अन्यत्र लगिएमा वा खोलिएमा वा नोक्सान गरिएमा वा तोडफोड गरिएमा वा हराएमा वा दुर्घटनावस नोक्सान भएमा निर्वाचन अधिकृतले मतगणनाको काम स्थगित गरी त्यसको प्रतिवेदन आयोगलाई तुरुन्त दिनु पर्नेछ ।’

४९ कै उपदफमा भनिएको छ, ‘उपदफा (१) बमोजिम मतगणनाको काम स्थगित गरिएपछि आयोगले त्यस्तो मतदान केन्द्रको सम्पूर्ण मतदान अवैध भएको घोषणा गर्नेछ र आयोगको निर्देशनमा निर्वाचन अधिकृतले त्यस्तो मतदान केन्द्रमा पुनः मतदान गर्ने स्थान, मिति र समय यथाशिघ्र तोकी सूचना प्रकाशन गर्ने छ ।’