अमेरिकी रक्षामन्त्रीले ‘साउथ चाइना सी’मा मानव निर्मित टापुहरुमा चिनियाँ सैनिकीकरण अमेरिकालाई स्वीकार्य नहुने बताएका छन्।
सिंगापुरमा एउटा सुरक्षा सम्मेलनलाई सम्बोधन गर्दै जेम्स म्याटिसले त्यस्ता कदमले क्षेत्रीय स्थिरतामा खलल पुर्याउने बताए।
स्रोतहरुले सम्पन्न ‘साउथ चाइना सी’माथि चिनियाँ दावीले धेरै देशका लागि विवाद निम्त्याएको छ।
‘साउथ चाइना सी’बारे आलोचना गरेका अमेरिकी रक्षामन्त्री म्याटिसले उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण तथा आणविक कार्यक्रम रोक्न चीनले गरेको प्रयासको चाहिँ प्रशंसा गरे।
प्रतिबन्ध
यस वर्ष लगालग क्षेप्यास्त्र परीक्षण गर्ने उत्तर कोरियाली कदमविरुद्ध संयुक्त राष्ट्रसंघले थप प्रतिबन्ध लगाउने निर्णय गरेपछि अमेरिकी रक्षामन्त्रीको भनाई सार्वजनिक भएको छ।
चीन र अमेरिकाबीच हप्तौं लामो वार्तापछि सुरक्षा परिषद्ले प्रतिबन्ध लगाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो।
सांग्रिला डायलग फोरमको वार्षिक बैठकमा म्याटिसले भने, “कृत्रिम टापुहरुमा सैनिकीकरण गर्ने र सामुद्रिक इलाकामा अनुचित दावीको हामी विरोध गर्दछौँ। हामी यथास्थितिविरुद्धको एकलौटी र जबरजस्ती परिवर्तन स्वीकार गर्न सक्दैनौँ र गर्नेछैनौँ।”
आफ्नो मनोनयनको सुनुवाइका बेला म्याटिसले “टापुहरु बनाउने काम चीनले रोक्नुपर्ने र त्यसमा उसलाई पहुँच नदिइने स्पष्ट सन्देश अमेरिकाले दिने” बताएका थिए।
जवाफमा चिनियाँ विदेशमन्त्रीले “सो क्षेत्रमा आफ्नो अधिकारको रक्षा गर्न बेइजिङ अडिग रहने” बताए।
Leave a Reply