सप्तरी, २१ जेठ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का दुई जना प्रभावशाली केन्द्रीय सदस्यले पार्टी छाडेका छन् । १७ जेठमा संघीय समाजवादी फोरम नेपालले राजविराजमा आयोजना गरेको कार्यक्रममा यी दुई जना फोरम नेपालमा प्रवेश गरे । राजपाका नेताद्वय भीमराज यादव र भरत साहसहित दर्जनौं नेता त्यस दिन फोरम नेपालमा प्रवेश गरे ।
राजपा छाडेर फोरम नेपालमा प्रवेश गर्नुृको कारण उनीहरुको चुनाव लड्नु हो । फोरम नेपालमा प्रवेश गरेपछि भीमराज यादवको राजविराज नगरपालिकामा मेयरको टिकट फिक्स भएको छ ।
राजपा संविधान संशोधन नभएसम्म स्थानीय निकायको निर्वाचनमा नजाने मनसाय बनाएपछि उनका नेता, कार्यकर्ताहरु चुनावमा भाग लिने दलमा प्रवेश गर्न थालेका छन् । २० बर्षपछि हुन लागेको स्थानीय निकायको निर्वाचनमा सहभागिता जनाउने उद्देश्यले राजपाका नेताहरु पार्टी परिवर्तन गर्न थालेका छन् ।
पछिल्लो साता संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी आउँदा धेरै ठाउँमा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरियो । अधिकांस ठाउँमा राजपाकै नेता, कार्यकर्ता प्रवेश गरेको देखिएको छ । सदरमुकाम राजविराजसहित हनुमाननगर, छिन्नमस्तामा आयोजना गरिएको फोरम नेपालको पार्टी प्रवेश कार्यक्रममा बढी राजपाकै नेता, कार्यकर्ता प्रवेश गरेका छन् ।
छिन्नमस्तामा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा राजपा परित्याग गरी विन्देश्वर मण्डल, छेदी मण्डल, शिवजी मण्डल लगायतका दर्जनौं नेता, कार्यकर्ता फोरम नेपालमा प्रवेश गरे । तिलाठी कोईलाडी र गोईठीमा समेत सयौं कार्यकर्ता फोरममा प्रवेश गरेको फोरम नेपालका प्रचार विभाग प्रमुख बृजमान तामांगले बताए ।
यसअघि १२ बैशाखमा फोरम नेपालले नै सिरहाको लहानमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा राजपाका केन्ऽीय सदस्य रामनारायण मेहता पार्टी परित्याग गरी फोरम नेपालमा प्रवेश गरे । उनीसँगै राजपाका नेता रामएकबाल साह, क्षेत्रीय सदस्य रमेश कुमार महतो, नगर सदस्यहरु सन्तोष कुमार महतो, हरेराम महतो र रामउजागर महतो लगायतका फोरम नेपालमा प्रवेश गरे ।
राजपा संविधान संशोधन र मधेसमा स्थानीय तहको संख्या वृद्धि नभएसम्म चुनावमा नजाने बताउँदै आएको छ । आफ्नै पार्टी चुनावमा जान नमानेपछि उनका नेता, कार्यकर्ता उम्मेदबार बन्न धमाधम पार्टी छाड्न थालेका छन् । यसअघि केन्दी्रय नेताहरु पनि राजपा छाडिसकेका छन् ।
बारा घर भएका राजपाका सह महामन्त्री समिम अन्सारी एमालेमा प्रवेश गरेका छन् भने महोत्तरीका राजपाका केन्ऽीय सदस्य लक्ष्मी महतो राप्रपामा प्रवेश गरेका छन् । सर्लाही निवासी अर्का केन्द्रीय सदस्य हरि गोले लोकतान्त्रिक फोरममा प्रवेश गरेका छन् । ७ बैशाखमा ६ मधेशवादी दल मिलेर राजपा गठन भएको थियो । यसले मधेशी जनतामा उत्साह थपिएको नेताहरुले बताउँदै आएका छन् ।
दुई, चार जनाले फरक पर्देन : राजपा
पार्टी चुनावमा जाने मनसाय नबनाएपछि उसका कार्यकर्ताहरु धमाधम अर्काे पार्टीमा प्रवेश गर्न थालेका छन् । तर, राजपाले यसले केहि फरक नपार्ने जनाएको छ । राजपा महासचिव मनिष सुमनले दुई, चार जनाले पार्टी छोड्दैमा केहि फरक नपर्ने बताए ।
अनलाइनखबरसँग कुरा गर्दै उनले भने, जनताले पहिला संविधानमा संशोधन चाहेका छन् । अनि मात्रै चुनाव । हामी जनतासँग विश्वासघात गर्न सक्दैनौं । उनले जसलाई चुनावमा जान मल लाग्छ उ सहभागी हुन सक्छ । तर राजपा माग पूरा नभएसम्म चुनावमा नजाने बताए ।
Leave a Reply