दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष कैद सजाय
२०८१ कात्तिक २० मंगलवार
भरतपुरको १९ नम्बर वडामा पुन मतदान गराउने निर्णयको विरोधमा कांग्रेसका बौद्धिक र चर्चित नेताहरु पनि उत्रिएका छन् । कांग्रेस नेताहरु विश्वप्रकाश शर्मा र मनिता घिमिरे लगायतले पुन मतदान गराउने निर्णयको विरोध गरेका छन् ।
आफ्नी छोरी रेणु दाहाललाई भरतपुरको मेयरमा जसरी पनि जिताउने प्रधानमन्त्री पुष्पकमल दाहालको योजना अनुसार भरतपुर १९ मा पुन मतदान गराउन निर्वाचन आयोगलाई बाध्य पारिएको छ । आयोगको यो निर्णयको विरुद्धमा विश्वप्रकाशले ट्विटरमा लेखेका छन्, मतदान होइन मतगणना हुनुपथर्यो । त्यसैगरी धरानमा कांग्रेसको तर्फबाट मेयरमा दावेदार समेत रहेकी मनिता घिमिरे लेख्छिन्- भरतपुरमा पुन मतदान गराउने हो भने धाँधली गर्न नसक्नेले चुनावमा उम्मेदवार नबने भो । भरतपुरमा चुनाव भन्ने प्रणालीकै बेइज्जती भो ।
उनले फेसबुकमा पार्टी नेतृत्वलाई ठाडो चुनौती दिँदै लेखेकी छिन्- तालमेल गरेर माओवादीलाई मेयर दिन हुन्नथ्यो, दियो । मतपत्र च्यातिएको घटनालाई कांग्रेसले कारबाहीको दायरामा ल्याउनुपर्छ भन्नुपर्थ्यो तर भनेन । मतगणना गर्ने पक्षमा कांग्रेस उभिनुपर्थ्यो तर उभिएन । विश्वप्रकाशले तर्क दिएका छन्- कानुन नियमले जे भनोस्, मतपत्र च्यातिँदा पुननिर्वाचन गराउने हो भने नेपाल देशमा वर्षभरी चुनाव मात्रै गरिरहने ? विश्वप्रकाशले मतपत्र च्यातिए पुन मतदान गराउने कानुन बनाउनु दलहरुको महाभुल भएको लेखेका छन् । संयम र सहमतिसाथ यो महाभुल सच्याइएन भने महाविकृति ल्याउने उनको विचार छ । मनिताले कांग्रेस नेतृत्वलाई चुनौती दिँदै भरतपुरमा कांग्रेसले एकपछि अर्को गल्ती गरेको भन्दै कडा आलोचना गरेकी छिन् । उनी लेख्छिन्- कांग्रेसले बेलाबेलामा बाटो बिराउँछ । अहिले पनि फ्याट्टै बाटो बिराइहाल्यो ।
भरतपुरमा कांग्रेसले एकपछि अर्को गल्ती गर्यो । त्यसैगरी कांग्रेस निकट बुद्धिजीवी निलाम्बर आचार्यले पनि भरतपुरमा पुन मतदान गराउने निर्णयको विरोध गरेका छन् । पार्टीभित्रैबाट भरतपुरमा पुन मतदान गराउने निर्णयको विरोध बढ्न थालेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पक्षकाहरुलाई पनि दाहालपुत्री रेणुको पक्षमा मैदानमा उतार्न थालेका छन् । विश्वप्रकाश र मनिता घिमिरेहरुले भरतपुरमा पुन मतदानको विरोध गरेपछि देउवा निकट दलित संघका अध्यक्ष मिन विश्वकर्मा लगायतले विभिन्न भ्रातृ संगठनको तर्फबाट विज्ञप्ति दिएर मतदानको पक्षमा विचार राख्न थालेका छन् ।