अवैध कल वाइपास गरेको आरोपमा पक्राउ

२०७४ असार ६ मंगलवार
developer_admin

गौशाला, ६ असार । महोत्तरी प्रहरीले अवैध रुपमा कल वाइपास गरेको आरोपमा जलेश्वर नगरपालिका– ५ बिसनपुर बस्ने ३१ वर्षीय मोहम्मद अजमतलाई आज पक्राउ गरेको छ ।

अभियुक्त अजमतले डेढ महिनादेखि आफ्नै गाउँमा एउटा पुरानो घर भाडामा लिई अवैध कल सेन्टर खोलेर कल वाइपास गर्दै आएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

अजमतले सञ्चालन गरेको अवैध कल सेन्टरबाट कल वाइपास गर्न प्रयोग हुने राउटर र माइक्रोवेभ एन्टिना युपिएस, स्टेब्लाइजर, पावरबोर्ड र झोला एक एक थान, ठूलो ब्याट्री, मोबाइल र स्पिकर दुई दुई थान, विभिन्न कम्पनीका प्रयोग भएका नेपाली रिचार्ड कार्ड पाँच थान, इलेक्ट्रोनिक्स केबुल २० मिटर र लाइन केबुल १५ मिटर बरामद गरिएको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो । अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।

ट्रकको ठक्करबाट मृत्यु

बर्दिवास– ३ पाटुमा सोमबार ट्रकको ठक्करबाट बर्दिवास– ३ बस्ने घनश्याम थापाका छवर्षीय छोरा आदित्यको मृत्यु भएको छ ।

घर नजिकै रहेको एक निजी विद्यालय अगाडि खेलिरहेका बालक अचानक बर्दिवास–सिन्धुली सडकखण्डमा पुगेपछि बर्दिबासबाट सिन्धुली जाँदै गरेको ना ४ख ४२९५ नंको ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालकको मृत्युपछि आफन्त तथा स्थानीयवासीले बर्दिवास–सिन्धुली सडकखण्ड साँझ ५ बजेदेखि अवरुद्ध गरेपछि स्थानीयवासी र प्रहरीको सहयोगमा गए राति ९ बजेदेखि पुनःसञ्चालन भएको जनाइएको छ ।