नयाँ आईजीमा सुरु भयो चलखेल, खरेल र खनाललाई उछिनेर कार्की आईजी ?

२०७४ असार १३ मंगलवार
NewsDesk ShikharNews

काठमाडौं, १३ असार । अदालतमा विचाराधीन मुद्दाको कारण प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालकै पद धरापमै रहेको अवस्थामा दश महिनापछि आईजी बन्न तीन एसएसपीको दौड सुरु भएको छ । त्यसका लागि एसएसपी रमेश खरेल, सर्वेन्द्र खनाल र पुस्कर कार्की यतिबेला आफू अनुकूल वातावरण सिर्जना गर्न लागिपरेका छन् । नेताको चाकडी नगरी आईजी नहुने प्रमाणित भएपछि उनीहरु अहिले माहोल आफ्नो पक्षमा पार्न लबिङमा जुटेका छन् ।

डीआईजी नवराज सिलवाललाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबाहादुर देउवाले ‘पीडित’ बनाएको कुरालाई आत्मासात् गर्दै तीन एसएसपी अहिले प्रचण्ड र देउवा मनाउने प्रयासमा छन् । उता कार्यसम्पादन मूल्यांकन पनि बढुवाको लागि मुख्य विषय बनेपछि गृहमन्त्री र आईजीलाई खुशी पार्न पनि तीन एसएसपी लागिपरेका छन् । एसपीबाट एसएसपी बढुवा हुँदा एक नम्बरमा रमेश खरेल, दोस्रोमा सर्वेन्द्र खनाल, तेस्रोमा राजेन्द्रमान श्रेष्ठ थिए ।

पुस्कर कार्की भने उनीहरु बढुवा भएको दुई महिनापश्चात् सिंगल बढुवा भएका थिए । तर अहिले एसएसपी श्रेष्ठ बिरामी भएपछि उनी खरेल र खनालसँगै बढुवा हुने लाइनमा छन् । पूर्वआईजी उपेन्द्रकान्त अर्याल गुटमा रहेका कार्कीलाई लोकमानसिंह कार्कीदेखि हालका आईजी प्रकाश अर्याल र पूर्वएआईजी नवराज ढकालको समेत सहयोग र समर्थन रहेको चर्चा प्रहरीभित्र छ । अपराध महाशाखामा हुँदा उल्लेखनीय काम गरेता पनि खनालले गरेको कामले कार्कीको काम ओझेलमा परेको थियो ।

सर्वसाधारणको नजरमा सेलिब्रेटीका रुपमा चिनिएका एसएसपीद्वय खरेल र खनालमध्ये एक आईजी हुने सम्भावना बढी छ । तर नेताको मनपरी तरिकाले आफू अनुकूल आईजी बनाउने परिपाटीका कारण कार्की पनि आईजी नहोलान् भन्न सकिन्न । दुई वर्षदेखि विदेशमा रहेका कार्कीलाई आईजी बनाउने योजना मुताबिक राष्ट्रपतिबाट पदकसमेत दिलाउने काम भएको उनकै व्याचीहरु बताउँछन् । बढुवामा पदकको समेत नम्बर जोडिने हुँदा इतिहासमै विदेशमा हुँदा कसैले नपाउने पदक पाएपछि उनको चर्चा बढी चुलिएको हो ।

उता कार्कीलाई नभए खरेललाई आईजी बनाउने तर खनाललाई कुनै पनि हालतमा आईजी बन्नबाट रोक्नु पर्छ भन्दै अर्याल एण्ड कम्पनी लागि परेको स्रोतको दाबी छ । डिआईजी सिलवालझैं खनाललाई पनि ‘पीडित’ बनाउने खेलमा अहिले आईजी प्रकाश अर्यालदेखि पूर्वआईजी उपेन्द्रकान्त अर्याल जोडतोडले लागि परेको स्रोत बताउँछ । उता आईजी प्रकाश अर्याल आफ्ना ब्याचीलाई बढुवा नगरी घर पठाउने लाइनमा रहेको आरोप लाग्न थालेको छ ।

डिआईजी जयबहादुर चन्दलाई एआईजी बनाउना साथ कुनै पनि दिन कुर्सी छाड्नु पर्ने बाध्यात्मक सहमतिको कारण तर्सिएका अर्याल तत्काल डिआईजी बढुवा नर्गेन सोचमा छन् । त्यसकारण उनले माथिको बढुवा फाइल अगाडि नबढाई तल्लो स्तरबाट बढुवा सुरु गरेका छन् ।