कैलाली र बाँकेको ताजा मतपरिणाम

२०७४ असार २० मंगलवार
developer_admin
धनगढी उपमहानगरपालिकामा कांग्रेस र स्वतन्त्र उमेद्वारको मत बराबरी
कैलालीको धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेस र स्वतन्त्र उमेद्वारको मत बराबरीमा आएको छ । बिहानसम्म मेयरमा कांग्रेसका उम्मेदवार नृप बहादुर वडले अग्रता लिएकामा अहिले स्वतन्त्र उम्मेद्वार गोपाल हमालको मत बराबर आएको हो । अहिलेसम्म वड र हमालले ५१ हजार ४७ मत ल्याउनुभएको छ । उममेयरमा भने कांग्रसको अग्रता कायमै छ । ६ हजार २ सय २२ मत सहित कांग्रेसकी शुशिला मिश्र भट्ट  अग्रस्थानमा रहँदा एमालेकी रुक्मणी देवकोटाले ५ हजार ११२ मत ल्याएर पछ्याइरहनुभएको छ । ५४ हजार ३ सय ६९ खसेको धनगढी उपमहानगरपालिकामा अहिलेसम्म २० हजार २९१ मत गणना भएको छ ।
नेपालगञ्जमा २० वर्षपछि धवलको कमब्याक, मतदाताले रुचाए एक पृष्ठको घोषणापत्र
राणा प्रधानमन्त्री देवशम्शेरका पुस्ताका डा. धवल शम्शेर राणा नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित हुनु भएको छ ।
२०५४ सालमा नेकपा एमालेबाट नेपालगञ्ज नगरपालिकाको प्रमुखमा निर्वाचित भएका राणा २० वर्षपछि उपमहानगरपालिका भएको नेपालगञ्जको प्रमुखको जिम्मेवारी पनि डा. राणालाई नेपालगञ्ज बासिन्दाले दिएका छन् । देशभर राप्रपाको संगठन कमजोर भएको अवस्थामा राणाले नेपालगञ्जमा भने शानदार रुपमा जित्नुभएको छ । आफ्नो इमानदारिता नै नागरिकले आफूमाथि गरेको विश्वास रहेको उहाँले बताउनुभयो ।
राणा परिवारको भएपनि सर्वसाधारणसँग सामान्य रुपमा प्रस्तुत हुने धवललाई आम नेपालगन्ज बासिन्दाले धवल राजाको रुपमा चिन्ने गरेका छन् । उहाँले मुस्लिम र मधेसी समुदायबाट समेत राम्रो मत पाउनुभएको छ ।
विश्लेषकहरु राणाले फराकिलो अन्तरमा चुनाव जित्नुमा उहाँले २०५४ सालमा गरेको कामको छापलाई नै आधार मान्छन् । जसका कारण अघिल्लो संविधानसभा चुनाव राणाले नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई कडा टक्कर दिएर झिनो मतले पराजित हुनुभयो । अमेरिकाबाट राजनीति शास्त्रमा नगरपालिकाको विषयमा विद्यावारिधी गरेका धवललाई आम नगर बासिन्दाले सम्मान गर्दै आएका छन् ।
यसपटक चुनावमा प्रतिस्पर्धा गरेपछि राणाले एक पृष्ठको घोषणापत्र सार्वजनिक गर्नुभयो । अरु पार्टीले लम्बेतान घोषणापत्र तयार पारेपनि नागरिकले एकपानेलाई रोजेको पाइएको छ ।  राणाले विकास गर्न जनप्रतिनिधि भएको बताउँदै झगडा गर्नु नभएको र आफूले व्यक्तिगत लाभ नखोजेपछि सबैले साथ दिने प्रतिक्रिया दिनुहुन्छ । मेयरको कार्यभार सम्हालेपछि पहिलो काम वर्षामा नेपालगञ्जलाई डुबानमुक्त बनाउनु हुने उहाँले बताउनुभयो ।