देशको बेईज्जत गरेपछी डा सोमलाललाई एमाले र मजदुर किसान पार्टिले दिए यस्तोअल्टिमेटम

२०७४ असार २९ बिहीवार
NewsDesk ShikharNews

काठमाण्डौ । बिहीबारको संसद बैठकमा केही सांसदहरुले पछिल्ला दिन मुलुकको प्रशासनिक संयन्त्रभित्र बहस चलिरहेको एउटा विषयमा चर्को रुपमा कुरा उठाए ।

उनीहरुले त्यसको विषय उठान मात्र गरेनन् चर्को विरोध समेत गरे । कुरा के हो भने मुलुकको सम्पूर्ण प्रशासनिक संयन्त्रको नेतृत्व गर्ने मुख्य सचिव पदबाट राजीनामा नदिई एकजना उच्च सरकारी अधिकारी साउन १ गतेबाट एसियाली विकास बैंकमा जागिर खान जाँदैछन् ।

यो समाचार केही दिनयता सबै सञ्चारमाध्यामहरुमा आइरहेको छ । मुलुकले दिएको जिम्मेवारीमाथि यसरी हेलचेक्रयाई गरेर विदेशी अन्तर्राष्ट्रिय संस्थामा जागिर खान दौडधुप गर्ने व्यक्ति हुन्,डा.सोमलाल सुवेदी, जसले सरकारी जागिरबाट राजीनामा नदिई मनिलास्थित एडीबीको कार्यालयमा जागिर खान जाँदैछन् । जो बुधबारसम्म मुख्यसचिव पदमा आसिन थिए ।

यद्यपि,सरकारले बिहीबार राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्य सचिव नियुक्त गरेपनि डा.सुवेदीले राजीनामा भने नदिई काजमा जागिर मिलाएर उड्ने तयारी गरिरहेका छन् ।

उनको यो गैरजिम्मेवारपूर्ण व्यवहारको संसद बैठकमा कडा रुपमा निन्दा भएको छ । सांसदहरुले उनलाई साम्रज्यवादी र विस्तारवादका दलाल समेत भनेर आरोप लगाएका छन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मुख्यसचिवले गैरजिम्मेवार काम गर्दा पनि सरकार टुलुटुल हेरेर बसेको आरोप लगाए । उनले भने, ‘मुख्यसचिव देशभक्त होइनन्, उनी विस्तारवाद र साम्राज्यवादका दलाल हुन् ।

त्यसैले आफ्नो देशको जिम्मेवारी छाडेर त्यहाँ तल्लो तहको काममा गएका हुन् ।’ सांसद सुवालले यो विषयमा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले यसबारेमा तुरुन्त जवाफ दिनुपर्ने उनले बताए ।

त्यस्तै एमालेका सांसद रेवतीरमण भण्डारीले पनि सुवेदीको गैरजिम्मेवारपूर्ण कामको कडा रुपमा विरोध गरे । सांसद भण्डारीले डा.सोमलाल सुवेदीले गरेको निर्णय तुरुन्त फिर्ता लिनुपर्ने भन्दै अल्टिमेटम दिए ।

सत्ता र शक्तिको आडमा मुलुकको प्रशासनिक, संवैधानिक र कानुनलाई उल्लंघन गर्न नपाइने बताउँदै मुख्यसचिव पदबाट डा.सुवेदीले तत्काल राजीनामा दिनुपर्नेमा जोड दिए ।

सांसद भण्डारीले भने, ‘मुख्यसचिव पदबाट रिटायर्ड हुँदा ४४ सय बढी पेन्सन पाइने लोभले मुलकको राष्ट्रिय अस्मितामाथि खेलवाड गर्न पाइँदैन,’ उनले भने, ‘यो नेपाल राष्ट्रका निम्ति एउटा गम्भीर नैतिक प्रश्न हो ।’

डा.सुवेदीले गरे नेपालको बेइज्जत !
कुनै पनि मुलुकका सरकारी उच्च ओहोदामा रहेका अधिकारीले आफ्नो मुलुकको जागिर नछाडि अन्तर्राष्ट्रिय दातृ संस्थामा जागिर खाएको पाइदैन ।

पाइएपनि विरलै पाइन्छ, जो विवादस्पद घटनाको रुपमा पाइने गरेको छ । तर नेपाल सरकारको मुख्यसचिव पदमा रहेका डा.सुवेदी सरकारको जागिर खाँदै एसियाली विकास बैंकको जागिर खान दौडिएका छन् ।  उनी साउन १ गतेदेखि फिलिपिन्सको मनिला जाँदैछन् ।

जहाँ एसियाली विकास बैंकको कार्यालय पर्दछ । सरकारले मुख्यसचिव पदमा बिहीबारै राजेन्द्रकिशोर क्षेत्रीलाई नियुक्त गरिसक्दा समेत उनले राजीनामा दिएका छैनन् ।

उनी सरकारी जागिरलाई काजमा मिलाएर एडीबीको जागिर खान जाँदैछन् । यसबाट के प्रस्ट हुन्छ भने डा.सुवेदीले पैसाका लागि मरिहत्ते गरिरहेका छन् ।

उनी मुख्यसचिव पदमा रहेर काम गर्ने करिब १ वर्षको समय अगावै एडीबीको जागिरमा जान लागेका हुन् । उनले अहिलेनै राजीनामा दिएर बाहिरिए पाउनुपर्ने पेन्सनमा निकै थोरै पैसा पाइन्छ ।

मुख्यसचिवको समयअवधि सकाएर पेन्सन लिए केही रकम बढी आउँछ । त्यही लोभमा उनले यति ठूलो गैरजिम्मेवारी प्रदर्शन गरेको बताइन्छ ।

फेरि डा.सुवेदीले अर्को बेइज्जत हुने काम के पनि गरेका छन् भने एसियाली विकास बैंकको जुन पदमा उनी जागिर खान जाँदैछन्, त्यो उनका लागि सुहाउने पद हुँदै होइन ।

यसअघि सहसचिव सो सरहका सरकारी अधिकारीहरुले त्यसमा प्रतिस्पर्धा गरेको देखिन्छ तर यो पटक मुलुकको मुख्य सचिवनै आफ्नो जिम्मेवारी त्यागेर त्यसतर्फ दौडिरहेका छन् । उनको यो दौडाइले नेपालकै बेइज्जत भएको देखिएको छ ।

त्यसर्थ, साउन १ गते मनिला उड्नुअघि डा.सुवेदीलाई सरकारी जागिरबाट राजीनामा दिन बाध्य पारिनुपर्ने कुरामा सांसदहरुले अल्टिमेटम दिएका छन् ।