नेपाललाई जापानमा खेल्ने मौका

२०७४ साउन १७ मंगलवार
NewsDesk ShikharNews

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको प्रदर्शन खस्किएपछि अखिल नेपाल फुटबल संघ एन्फा स्तर सुधारको अभियानमा लागेको छ । प्रायगरी दक्षिण एसियाली देशसँग मैत्रीपूर्ण फुटबल खेलिरहेको नेपाली टिमलाई अव जापानमा पाँचवटा मैत्रीपूर्ण अभ्यास खेल खेलाउने तयारी गरिएको एन्फाका प्रवक्ता इन्द्रमान तुलाधरले बताए ।

नेपाली टोलीले एसियान कप छनोट अन्तर्गत समुहको अर्को खेल भदौं २० गते ताजकिस्तानसँग खेल्दैछ । घरेलु मैदानमा खेलिने उक्त खेललाई लक्षितगरी नेपाली टिमलाई जापानमा तयारी गराउन लागिएको हो । नेपालले साउन २९ देखि भदौ ३ गतेसम्म जापानको विश्वविद्यालय, स्थानीय क्लब र उमेर समूहको टिमसँग प्रतिस्पर्धा गर्ने एन्फाका तुलाधरले बताए ।

मैत्रीपूर्ण खेलमा नेपालले गाम्बा ओसाकाको यूू–२३ टेलीसँग पहिलो खेल खेल्नेछ । त्यसपछि साउन ३२ देखि टोलीले लगातार ३ गतेसम्म चारवटा खेल खेल्ने कार्यक्रम छ । नेपालले क्वान्सी ग्वाक्विन विश्वविद्यालय, अमिटिस स्पोर्ट् क्लब, हनाम विश्वविद्यालय भिसेल कोबेको यूू–१८ टिमसँग खेल्नेछ ।

एसिएन कप छनोटको समूह ‘एफ’ मा रहेको नेपाल १ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । यस समुहमा अंक बिहिन ताजकिस्तान तालिकाको अन्तिममा छ । एसियन कपको अघिल्ला दुई खेलमा नेपालले एक खेल बराबरी र एक हार खेपेको थियो । यस समुहमा लगातार दुई जित हात पारेको फिलिपिन्स ६ अंक सहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको यमनको चार अंक छ । नेपालले फिलिपिन्ससँग उसैको मैदानमा ४–१ गेलको हार खेपेको थियो । नेपाल घरेलु मैदानमा यमनसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

ताजकिस्तानसँगको खेलका लागि नेपाललले साउन पहिलो सातादेखिनै तयारी गरिरहेको छ । हाल नेपाली टोलीको प्रशिक्षक ग्योतुकी कोजी र प्राविधिक समेत जापानी नागरिक भएकोले नेपाललाई जापानमा तयारी गर्न सजिलो भएको हो । ‘नेपालमा लिग फुटबल नभइ रहेको अवस्थामा बलिया र अनुभवी टोलीसँगको खेल खेलाडीका लागि अनिवार्य छ । जापानमा नेपाली खेलाडीले आफ्नो गल्ती सुधार्ने छन् । यसले खेलाडीलाई आत्मविश्वास बढाउन पनि थप सहयोग पुग्नेछ,’ प्रशिक्षक कोजीले भने ।

यनमसँगको खेलअघि सन् २०१६ को नोभेम्बरमा पनि नेपालले जापानको पूर्व राष्ट्रिय खेलाडी सम्मिलित टिमसँग मैत्रीपूर्ण खेल खेलेको थियो । नेपाल जापानबीच मीत्रीसम्बन्ध भएको ६० बर्षको अवसरमा एन्फा कम्प्लेक्स सातदोवाटोमा खेलिएको उक्त खेलमा नेपालले जापानलाई १–० गोलले हराएको थियो ।