भरतपुर १९ मा ,भोलि (शुक्रबार) हुने मतदान स्थलको एक सय मिटर वरपर निषेधित क्षेत्र घोषणा……..

२०७४ साउन १९ बिहीवार
NewsDesk ShikharNews

१९ साउन, चितवन । भरतपुर महानगरपालिका वडा नं. १९ मा भोलि (शुक्रबार) हुने पुनः मतदानको तयारी पूरा भएको छ ।

मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटिइसकेका छन् भने मतपत्र लगायतका निर्वाचन सामाग्री पनि पुर्‍याइसकिएको छ । मतदानस्थलमा पानी नपस्ने टेण्टको समेत व्यवस्था गरिएको छ ।

मतदान स्थलको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । मतदानस्थलको १०० मिटर वरपर निषेधित क्षेत्र घोषणा गरिएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताए ।

गएराती आएको पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अबरुद्ध बनेपछि काठमाडौं लगायतका र अन्य स्थानबाट आउने मतदाताहरूलाई समस्या परेको छ । लामो समय पानी नपरेका कारण रोपाइँ गर्न नपाएका किसानहरू गएरातिदेखि अबिरल वर्षा भएपछि धान रोप्न व्यस्त छन् ।

३ मतदानस्थल, ६ केन्द्र

भरतपुर-१९ का तीनवटा मतदानस्थलमा ६ वटा मतदान केन्द्र रहेका छन् । किरण मावि, किरणगञ्ज मतदानस्थलमा एक हजार २ सय ४८, जीवनज्योति स्कूल गुञ्जानगरमा एक हजार ३ सय ६ र शारदानगर माविमा एक हजार २ सय ४३ गरी कुल तीन हजार ७ सय ९७ मतदाता छन् ।

शारदानगर माविमा गंगाधर रिमाल र रामकृष्ण सिम्खडा, किरणगञ्जमा ज्ञानहरि पौडेल र शिवराज पन्थी, जीवनज्योति माविमा भक्तबहादुर सेन्चुरी, नारायण पौडेललाई मतदान अधिकृत तोकिएको छ ।

मतदान केन्द्रमा ३५ प्रहरी

निर्वाचनलाई भयरहित बनाउन सुरक्षा व्यवस्था मजबुत बनाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरी नायव उपरीक्षक -डिएसपी) नेतृत्वको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको मोबाइल टोली समेत खटाइएको छ । सबै मतदान केन्द्रहरुमा ३५ जना नेपाल प्रहरी, उत्तिकै मात्रामा सशस्त्र प्रहरी र नेपाली सेना खटाइएको छ ।

मौन अवधि सुरू भएपछि यसबीचमा हुन सक्ने संभावित घटनाहरुलाई मध्यनजर गर्दै सुरक्षा अवस्था मजबुत पारिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । सुरक्षा संयन्त्रको प्रमुख ध्यान नै भरतपुर १९ मा परेकाले यस अवधिमा कुनै पनि अपि्रय घटना हुन नदिने विश्वास उनले दिलाए ।

भरतपुर १९ मा नेता कार्यकर्ताको लर्को

भरतपुर महागनरपालिका वडा नं. १९ ‘बिहेको घर’ जस्तो भएको छ । दैनिक रुपमा भरतपुर लगायतका क्षेत्रबाट सयौंको संख्यामा दलका नेता कार्यकर्ताहरु आउने-जाने गरेका छन् । चोक-चोकका साना सवारी र मोटरसाइकलहरुको ताती भेटिन्छ ।

जिल्लाका दलहरुको पुरै राजनीतिक शक्ति सबै वडा नं. १९ मा केन्दि्रत बनेको छ । पार्टी नेता कार्यकर्ताका घर आवासीय कार्यकर्ताले भरिएका छन् ।

स्थानीय होटलहरुमा खाना खाजा खानेको भिड छ । भरतपुर १९ ‘राजनीतिक तीर्थस्थल’ जस्तो भएको छ । भरतपुर १९ मा के भैरहेको छ एकपटक पुगेर हेरौं न भन्नेहरुको जमात ठूलै देखिन्छ । स्थानीय रानीपोखरीमा घुम्ने जाने राजनीतिक कार्यकर्ताहरुको चाप पनि बढी छ ।

मौन अवधि सुरू भएपछि यसबीचमा हुन सक्ने संभावित घटनाहरुलाई मध्यनजर गर्दै सुरक्षा अवस्था मजबुत पारिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । सुरक्षा संयन्त्रको प्रमुख ध्यान नै भरतपुर १९ मा परेकाले यस अवधिमा कुनै पनि अपि्रय घटना हुन नदिने विश्वास उनले दिलाए ।२२ साउनमा नतिजा

भरतपुरको मेयरका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रको तर्फबाट रेणु दाहाल र एमालेबाट देवी ज्ञवाली मैदानमा छन् । वडा नं. १८ को गणना सकिदासम्म देवी ज्ञवाली कांग्रेस-माओवादी गठवन्धनकी उम्मेदवार रेणु दाहालभन्दा ७८४ मतले अगाडि छन् । भरतपुर १९ को निर्वाचन सम्पन्न भएपछि वडा नम्बर १९ र २० को एकैचोटी गणना हुनेछ ।

भरतपुरको २९ वटा वडा मध्य २७ वटाको परिणाम आइसकेको छ । २७ मध्ये १४ वटा वडा एमालेले, १० वटा कांग्रेसले र ३ वटा माओवादीले जितेका छन् । २७ वटा वडाको अन्तिम परिणामअनुसार, एमालेका मेयरमा उम्मेदवार देवी ज्ञवालीले ४० हजार ९८० मत ल्याएका छन् ।

माओवादी-कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालको ४० हजार १९४ मत छ । यसअघि वडा नं. १९ मा २ हजार ८ सय ६० मत खसेको थियो । वडा नं. १९ मा ३ हजार ७ सय ९७ मतदाता छन् । महानगरको वडा नम्वर २० को ३ हजार ३ सय २ मत गणना गर्न बाँकी नै छ ।

पहिलो चरणको निर्वाचनमा भरतपुरको १९ को मतगणना भइरहँदा माओवादीका २ जना कार्यकर्ता द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेले २४ सयको मतगणना भैरहदा मतपत्र च्यातेका थिए । सर्वोच्च अदालतले भरतपुर १९ मा पुनः मतदान गर्न आदेश दिएपछि नयाँ निर्वाचनको मिति तोकिएको हो ।